टेलिकमले कम्प्युटरबाट सिआरविटी राख्ने व्यवस्था हटायो I
Published on: Monday, January 9, 2012 //
विज्ञान प्रविधि
काठमाण्डौं, पुष २५,
नेपाल टेलिकमले कम्प्यूटरबाट मोबाईलमा सीआरबीटी राख्ने व्यवस्था आजदेखि हटाएको छ । बिभिन्न म्यूजिक कम्पनीले सर्वसाधारणको मोवाइल दूरुपयोग गरी सिआरविटी डाउनलोड गरेको खवर उज्यालोले प्रमाणसहित सार्वजनिक गरेपछि टेलिकमले वेभसाइट मार्फत सीआरबीटी राख्न मिल्ने व्यवस्था हटाएको हो ।(कुन गीत कतिपटक कसको मोबाइलबाट डाउनलोड भए भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।)
नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले वेभसाइटको दुरुपयोग गरी सर्वसाधारणको मोवाइलबाट पैसा चोरी गरी सीआरबिटी राखेको पाइएकोले सेवा बन्द गरिएको जानकारी दिनुभयो । केन्द्रीय कार्यालय भद्रकालीमा टेलिकमका उच्च पदस्थ कर्मचारी र प्राविधिकको लामो छलफल पछि टेलिकम यो निर्णयमा पुगेको हो । साथै सिआरविटी चोरी गर्ने म्यूजिक कम्पनीमाथि छानवीन गरिसकेको र प्रक्रिया पु¥याएर सार्वजनिक गरिने प्रवक्ता थिकेले बताउनुभयो ।
म्यूजिक कम्पनीले इन्टरनेट चलाउँदा प्रयोग गरिएको आइपी नम्बर कस्को हो भन्ने पत्ता लागिसकेको टेलिकम स्रोतले जनाएको छ । टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेका अनुसार प्राविधिक समस्या सुल्झाएर कारवाही शुरु गरिनेछ ।
यसैबीच नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रमुख देवेन्द्र सुवेदीले टेलिकमले पत्रचार गर्नासाथ कारवाही प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको छ । टेलिकमसित सिआरविटीका लागि मध्यस्तकर्ता बनेकाले नै यसको छिटो छिनोफानो गर्नुपर्ने सुवेदीको भनाई छ ।
टेलिकम र प्रहरी कारवाही प्रक्रियामा लागीरहेका बेला सीआरविटी चोरी गर्ने कतिपय कम्पनीका संचालक भनें आफूलाई कारवाही गरेर देखाउन सार्वजनिक रुपमै चुनौती दिंदै हिडेका छन् । सिआरविटी चोरी प्रकरणमा दोषी ठहरीएकालाई बिद्युतीय कारोवार ऐन २०६३ को दफा ९ अनुसार कारवाही हुने प्रावधान छ । प्रावधान अनुसार यस्तो कसुरमा संलग्नलाई दुई लाख रुपैयाँ जरिवाना र तीन बर्ष कैद सजाय हुनसक्छ ।
तस्विर : कम्प्युटरबाट सिआरविटी राख्ने व्यवस्था हटाई सकेपछिको टेलिकमको वेभसाईट । रातो चिन्ह लगाईएको ठाउँमा यसअघि डाउनलोड र गिफ्ट अप्सन थियो । उज्यालो नेटवर्क