नेपाल पहिलो खेलमै चुक्यो
Published on: Monday, September 12, 2011 //
खेलकुद
काठमाडौ, भाद्र २७ - एएफसी अन्डर सिक्स्टिन च्याम्पियनसिप-२०१२ को छनोटमा सोमबार नेपालको सुरुआत राम्रो रहेन । समूह 'डी' को पहिलो खेलमै उसले सिरियासँग २-० को हार बेहोर्यो । यो हारसँगै समूहको शीर्ष दुईमा रहँदै छनोट चरण पार गर्ने नेपालको सम्भावना कठिन बनेको छ । 'एकदमै महत्त्वपूर्ण खेल हार्यौं,' नेपाली युवा टिमका प्रशिक्षक सुनिल श्रेष्ठले भने, 'फाइनल चरणमा पुग्ने सम्भावना कायम राख्न अबको खेल (ओमानविरुद्ध) जित्नैपर्छ । ओमानसँग हारेमा अन्तिम खेल (साउदी अरेबियाविरुद्ध) को अर्थ रहन्न ।' नेपालले बुधबार ओमान र शुक्रबार साउदीसँग खेल्नेछ ।' दुवै प्रतिद्वन्द्वी १६ वर्षमुनिको महादेशीय प्रतियोगितामा दुई-दुईपल्टका च्याम्पियन हुन् ।
एएफसी अन्डर सिक्स्िटन छनोटमा नेपालको यो लगातार छैटौं हार हो । १९ अक्टोबर, २००७ मा जोर्डनलाई ३-१ ले पराजित गरेयता नेपालले जित हात पार्न सकेको छैन । छनोटका पछिल्ला पाँच खेलमा नेपालले गोल गर्न पनि सकेको छैन । दुई वर्षअघि काठमाडौंमै भएको छनोटका तीनै खेलमा नेपाल गोल गर्न चुकेकोथियो । त्यो नै उमेर समूहमा नेपालको इतिहासकै सबैभन्दा खराब प्रदर्शन हो ।
सोह्र वर्षमुनिको पश्चिम एसियाली वरीयतामा ११ स्थानमाथि तेस्रोको सिरियाले नेपाली टिम सम्हालिन नपाउँदै अग्रता लिएको थियो । दशरथ रंगशालामा अहमद अस्करले गोल गरेपछि दोस्रो मिनेटमै पाहुना टोली १-० ले अघि बढ्यो । कर्नरमा नेपाली डिफेन्डर आदित्य चौधरीले क्लियर गर्न नसकेको बललाई अस्करले पोस्टको दिशा दिएका थिए ।
'टिम सेट नहुँदै खाएको गोलले हामीलाई गाह्रो बनायो,' प्रशिक्षकका रूपमा १४ वर्षको अनुभव संगालेका श्रेष्ठले भने, 'त्यसको दबाबमा राम्रो खेल्न सकेनौं । निरन्तर आक्रमण गर्न सकेनौं । सिर्जना गरेका गोलका थुप्रै अवसर पनि उपयोग गर्न सकेनौं ।' नेपालले दोस्रो गोल खेल सकिन सात मिनेटअघि खायो । मोहम्मद रवि श्रौरले पास दिएको बललाई सब्स्िटच्युट अब्दुलरजक अल महमुदले पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गर्दै सिरियाको जित पक्का गरे । साउदी अरेबिया ३-० ओमान चीन, जापान र दक्षिण कोरियासँगै कीर्तिमान २-२ पल्टका विजेताको भेटमा साउदी अरेबियाले ओमानलाई ३-० ले हरायो । कान्तिपुर