विदेशी लगानी १० प्रतिशत बढ्यो
Published on: Thursday, September 15, 2011 //
अर्थ
काठमाडौ, भाद्र ३० - गत आर्थिक वर्ष मुलुकमा १० अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा १० दशमलव ४३ प्रतिशत बढी हो । अघिल्लो वर्ष ९ अर्ब १० करोड रुपैयाँ भित्रिएको थियो । राजनीतिक अस्थिरता, श्रम समस्या र लोडसेडिङका कारण छिमिकी देशहरूमा उत्साहप्रद लगानी आइरहे पनि वृद्धि दर भने सामान्य देखिएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा ३६ देशका २ सय ९ कम्पनीले लगानी गर्ने अनुमति पाएका थिए । तथ्यांकअनुसार सबैभन्दा बढी विदेशी लगानी उत्पादन क्षेत्रमा आएको छ ।
यो क्षेत्रले ६ अर्ब १३ करोड रुपैयाँ वैदेशिक लगानी आकषिर्त गरेको छ । दोस्रो र तेस्रोमा ऊर्जा र पर्यटन क्षेत्र छन् । अघिल्लो आर्थिक वर्षमा भने ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी आएको थियो । संख्याको आधारमा हेर्ने हो भने सेवा क्षेत्रमा सबैभन्दा बढी लगानी आएको छ । ऊर्जा उत्पादनमा सुरक्षा चासो बढेपछि लगानी घटेको छ । अघिल्लोको तुलनामा ४ अर्ब ७४ करोड रहेको ऊर्जा क्षेत्रमा भित्रिएको लगानी १ अर्ब २२ करोड रुपैयाँमा झरेको छ ।सरकारले घोषणा गरेको पर्यटन वर्षका कारण केही लगानी बढेको देखिन्छ । गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा १ अर्ब १८ करोड रुपैयाँ लगानी भएको छ ।
विभागका अनुसार भारत, अमेरिका, कोरिया र सिंगापुर लगायत मुलुकबाट उत्पादन क्षेत्रमा लगानी भएको छ । क्लिंकरबाट उत्पादन हुने सिमेन्ट उद्योगमा यी मुलुकबाट धेरै लगानी भएको छ । प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुकमा भारत कायम छ । गत आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ बराबरको लगानीमा ३८ भारतीय कम्पनीले लगानीको प्रतिबद्धता जनाएका छन् ।
कुल लगानीमा यो ७० प्रतिशत बराबर रहन्छ । यसका साथै चीन पनि वैदेशिक लगानीमा अघि आएको छ । चीनबाट हुने लगानीले पनि गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँ नाघेको छ । भाषा, कम्प्युटर तालिम, पर्यटनलगायत क्षेत्रमा चिनिया लगानी भित्रिएको छ । नेपाल-चीन चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार व्यवसायी सबै आकारका आयोजनामा लगानी गर्न इच्छुक छन् । 'पछिल्लो समय जलविद्युत्, पर्यटन, खानी ठूलो आकर्षणका रूपमा छन्,' उनले भने । - कान्तिपुर