मनीता शाही र यानकुमारी चौलागाईंलाई स्वर्ण
Published on: Friday, September 23, 2011 //
खेलकुद
काठमाडौ, आश्विन ६,
मनीता शाही र यानकुमारी चौलागाईंले प्रथम माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन बिहीबार नेपाललाई स्वर्णपदक दिलाएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्यूमै रोहित तामाङ र दीपेन्द्र थापाले पनि रजत हात पारे । दोहा एसियाडमा कांस्य, दक्षिण एसियाली खेलकुद (साग) मा १-१ स्वर्ण र रजत जितेकी मनीताले एकतर्फी खेलमा मलेसियाली मज्नाह विनीतलाई १९-५ ले हराएर ५७-६२ केजी तौल समूहमा स्वर्ण चुमेकी थिइन् । ठीक एक वर्षअघि इन्डिया ओपन जितेया अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले पहिलो सफलता हात पारेकी हुन् । 'राम्रो खेलें,' पुलिसकी २८ वषर्ीया मनीताले भनिन्, 'खास गाह्रो थिएन । मेरो मुख्य लक्ष्य लन्डन ओलम्पिकको एसियाली छनोट हो । त्यसैले निकै मिहिनेत गरिरहेकी छु । यो प्रतियोगिताले ओलम्पिकको तयारी राम्रो बनायो ।' उनले ३-३ प्वाइन्टका लागि चार स्ल्याप र एक ह्यामर किक प्रहार गरेकी थिइन् । उनले फाइनलमा स्ल्याप किक प्रहार गर्दै अंकको खाता खोलेकी थिइन् ।
पहिलो राउन्डमा ४-२ ले अघि बढेकी मनीताले दोस्रो राउन्डमा उत्कृष्ट प्रदर्शन गर्दै १८-३ को अग्रता लिइन् । तेस्रो राउन्डमा उनले एक अंक थपिन् । अमेरिकी खेलाडी अनुपस्थित भएपछि सीधै फाइनलमा मौका पाएकी विनीतले दुई अंक जोडिन् । मनीताले चारपल्ट चेतावनी पाएकाले विनीतलाई दुई अंक थपिएको थियो । मनीताले ११ औं सागमा सेमिफाइनलको नतिजा दोहोर्याउँदै अन्तिम चारमा बंगलादेशी शाहनाज खातुनलाई १४-६ ले हराएकी थिइन् । 'खेल गाह्रो थिएन । तर टाइमिङ र स्टेप मिलेन । त्यसैले बढी अंक जोड्न सकिनँ,' उनले बताइन् । पहिलो अंक भने शाहनाजले जोडेकी थिइन् । यानकुमारीले भारतकी सविना सुन्दासलाई ६-१ ले हराएर प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण दिलाइन् । ११ औं सागमा कांस्य जितेकी उनले ४६ केजीको फाइनलका ३ राउन्डमा २-२ अंक जोडेकी थिइन् ।
उनले दुईपल्ट चेतावनी पाएपछि सविना अंकविहीन हुनबाट बचिन् । यानकुमारीले तीनै भेटमा सविनाविरुद्ध जित हात पारेकी छन् । चार खेलाडी मात्र सहभागी स्पर्धाको सेमिफाइनलमा यानकुमारीले मलेसियाकी नुरुल असफहलिनाको चुनौती १४-६ ले समाप्त पारिन् । '१० वर्षे अन्तर्राष्ट्रिय यात्रामा पहिलो स्वर्ण जितकाले निकै खुसी छु,' उनले भनिन्, 'यसको श्रेय गुरुहरू संगीना वैद्य, क्वान वान र मीन थापालाई दिन चाहन्छु ।' १२ औं सागमा स्वर्ण जित्ने उनले नयाँ लक्ष्य राखेकी छन् । पुरुष ५४-५८ केजीको फाइनलमा रोहित मलेसियाका रायन चोङसँग ४-० ले हारे । रोहित बैंककमा हुने ओलम्पिक छनोट खेल्दैछन् । पहिलो चरणमा बाई पाएका उनले सेमिफाइनलमा अमेरिकी डेरमिंग्ने क्रिस्टोफरलाई ११-६ ले पराजित गरे ।
दीपेन्द्र ७४-८० केजीको फाइनलमा अमेरिकी फिलिप युनसँग पहिलो राउन्डमै नकआउट भए । अंक २-२ भएको स्थितिमा युनले टाउकोमा स्ल्याप किक हानेपछि दीपेन्द्रले खेल त्यागेका थिए । सेमिफाइनलमा पाकिस्तानी खेलाडीबाट वाकओभर पाएका दीपेन्द्रले पहिलो खेलमा भारतका मनपि्रत सिंहलाई दोस्रो राउन्डमा नकआउट गरेका थिए ।
आयशा आज भिड्ने
दोहा एसियाडमा कांस्य, सागमा १-१ स्वर्ण र रजत जितेकी आयशा शाक्य ५९-५३ केजीमा शुक्रबार भिड्दैछिन् । प्रतियोगिताको दोस्रो दिन आशिष महर्जन, राम गिरी, प्रतीज्ञा भण्डारी र ताराकुमार रायमाझी पनि खेल्दैछन् । प्रतीज्ञा र ताराकुमारको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । स्रोत : कान्तिपुर