स्वदेशी लगानीमा थप ४ आयोजना
Published on: Wednesday, June 8, 2011 //
अर्थ
स्वदेशी स्रोतमा बन्दै गरेको माथिल्लो तामाकोसीको मोडलमा थप ४ आयोजना बन्ने भएका छन् । चिलिमे हाइड्रोपावर कम्पनीसँग रहेका यी आयोजनाको मुख्य ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषसँग मंगलबार समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । समझदारीअनुसार २ सय ६० मेगावाटका यी आयोजनामा कोषले १५ खर्ब ५० लाख रुपैयाँ ऋण लगानी गर्ने छ ।
यसरी बन्ने आयोजनाहरूमा १ सय मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्य भोटेकोसी, १४ दशमलव ६ मेगावाटको सान्जेन (माथिल्लो) र ४२ दशमलव ५ मेगावाट सान्ेजन छन् । '१० दिनमा कोषसँग समझादारी भएको हो,' ऊर्जामन्त्री गोकर्ण विष्टले कार्यक्रममा भने, 'अब छिट्टै अन्य लगानीकर्तासँग पनि सम्झौता हुन्छ ।' नेपाल टेलिकम, बिमा संस्थान र नागरिक लगानी कोषसँग पनि छलफल भइरहेको उनले बताए ।
यी चार आयोजनाको अनुमानित लागत ३२ अर्ब ११ करोड रुपैयाँ छ । जसमध्ये ५० प्रतिशत सेयर र ५० प्रतिशत ऋण लगानी हुने चिलिमेले जनाएको छ । सेयर पुँजीमध्ये ४९ प्रतिशत सर्वसाधारण र ५१ प्रवर्द्धकको लगानी रहने जनाइएको छ । समझदारीअनुसार कोषले १२ दशमलव ५ प्रतिशतमा ऋण दिने छ । उक्त कार्यक्रममा अर्थमन्त्री भरतमोहन अधिकारीले हालै गठन गर्ने निर्णय भएको जलविद्युत् विकास बैंकले निजी क्षेत्रमा समेत लगानी गर्ने हुँदा विद्युत् विकासमा सहयोग पुग्ने बताए । ऊर्जामन्त्री विष्टले १५ दिनभित्र उक्त बैंक दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए ।
साभार - इ. कान्तिपुर