Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

टेलिकम २ अर्बको सेयर किन्ने तयारीमा

Published on: Monday, June 20, 2011 //


काठमाडौं, असार ६ - नेपाल टेलिकमले राम्रो वित्तीय अवस्था भएका वाणिज्य बैंकहरुको २ अर्ब रुपैयाँ बराबर संस्थापक सेयर किन्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले लगानीयोग्य पुँजी भएका सरकारी संस्थालाई सेयरमा लगानी गर्न निर्देशन दिएपछि टेलिकमले यो तयारी गरेको हो।

'अर्थको निर्देशनअनुसार सेयरमा लगानी गर्ने प्रस्ताव सञ्चालक समितिमा लैजान आवश्यक सबै तयारी पूरा भएको छ,' टेलिकमका एक उच्च अधिकारीले भने,'समितिले निर्णय गरेलगत्तै सेयर खरिदका लागि पहल गरिनेछ।' सरकारले निर्देशन दिएकाले समितिले पनि सेयर किन्ने निर्णय गर्ने ती अधिकारीले बताए। यसका लागि कम्पनीले आफ्नो प्रबन्धपत्रमा संशोधन गर्नुपर्छ। राम्रो वित्तीय अवस्था रहेका वाणिज्य बैंकको १५ देखि २० प्रतिशत सेयर किन्ने योजना बनाइएको ती अधिकारीले जानकारी दिए।
'हाम्रो संस्थाको प्रवन्धपत्रमा बैंकको सेयर किन्ने व्यवस्था अहिलेसम्म छैन,' टेलिकमका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले भने। प्रबन्धपत्रमै संशोधन गरेर जलविद्युत विकास बैंक र अन्य सम्भाव्य बैंकको सेयर किन्न सकिने उनले बताए।

अहिले मलेसियामा रहेका प्रबन्ध निर्देशक गोयलले काठमाडौं फर्किसकेपछि यो विषयमा अझै विस्तृत छलफल र सम्बन्धित निकायबाट सुझाव लिएर कुनमा कसरी लगानी गर्ने भन्ने विषय अगाडि बढाउने बताए। सरकारले स्थापना गर्ने तयारी गरेको जलविद्युत विकास बैंकमा टेलिकमलाई ४ अर्ब रुपैयाँको सेयर राख्न लगाइने प्रस्ताव गरिएको छ।
स्रोतका अनुसार १२ प्रतिशत ब्याज पाउने गरी मुद्धति खातामा रकम राख्नुभन्दा भविष्यका लागि राम्रो प्रतिफल दिने बैंकको सेयर किन्नु उपयुक्त हुने भएपछि टेलिकम अगाडि बढेको हो।

अर्थ मन्त्रालयले केही दिन अघि नेपाल टेलिकम, बीमा संस्थान, नागरिक लगानी कोष, कर्मचारी सञ्चाय कोष जस्ता लगानीयोग्य पुँजी भएका संस्थाहरुलाई सेयरमा लगानी गर्न निर्देशन दिएको थियो। बजार घटेर यसको परिसूचक ३ सय अंकभन्दा तल झरेपछि अर्थ मन्त्रालयले संस्थागत लगानीकर्ताहरुलाई सेयर बजारमा लगानी गर्न निर्देशन दिएको हो।

टेलिकमसँग लगानीयोग्य पुँजी ३० अर्ब रुपैयाँ छ। योमध्ये आधा रकम जलविद्युत र सेयरमा लगानी गर्ने योजनामा टेलिकम छ। 'बोर्डले स्वीकृति दिए तत्काल सेयरमा लगानी गर्दैछौं,' उच्च स्रोतले भन्यो। संस्थापक सेयर कुन बैंकको किन्ने भन्ने विषयमा बोर्डले स्वीकृति दिएपछि प्रक्रिया अघि बढ्ने छ।

टेलिकमले माथिल्लो तामाकोसीमा ६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ। यो कम्पनीमा ६० करोड रुपैयाँको सेयरसमेत टेलिकमले लिने निर्णय गरेको छ।

अर्थको निर्देशन साधारण सेयरमा लगानी गर्ने भन्ने भए पनि टेलिकमले यो विषय झनै जटिल भएको जनाएको छ। 'स्टक एक्सचेन्जमार्फत साधारण सेयरमा लगानी गर्ने प्रयास मात्र गर्ने हो भने पनि भोलिपल्टैदेखि सेयरको भाउ बढेर थामिनसक्नु हुन्छ, यो सम्भव हुने विषयनै होइन,' टेलिकम सञ्चालक समितिका पूर्व सदस्य सुनिलकुमार पोखरेलले भने।

उनले साधारण सेयरभन्दा टेन्डर गरेर संस्थापक सेयर लिनु टेलिकमको लागि उपयुक्त हुने बताए। अहिले कतिपय बैंकका संस्थापक सेयरधनीहरुले बैंकले जारी गरेको हकप्रद सेयरसमेत लिन नसकेको अवस्था छ। यसो हुँदा कतिपय बैंकका लगानीकर्ताहरुले आफ्नो सेयरसमेत बेच्न खोजिरहेका छन्।

'टेलिफोनको आयबाट मात्र अब कम्पनीको दिगो आम्दानी नहुने भएकाले उपयुक्त लगानीको क्षेत्रमा हात हाल्दै जानुपर्ने अवस्था छ,' पोखरेलले भने। टेलिकम विद्युतको सबैभन्दा ठूलो ग्राहक भएकाले माथिल्लो तामाकोसीलगायत त्रिशुली तेस्रो 'बी' मा समेत लगानी गर्ने तयारीमा छ। टेलिकमको आफ्नै रकमबाट समेत एउटा वाणिज्य बैंक चल्नसक्ने अवस्था छ। गत वर्षमात्र यसले १० अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो।
साभार : नागरिक न्युज

0 comments for "टेलिकम २ अर्बको सेयर किन्ने तयारीमा"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!