हिमालयन र बौद्ध बराबर
Published on: Sunday, June 19, 2011 //
खेलकुद
काठमाडौ, अषाढ ६ - यती हिमालयन शेर्पा सहिद स्मारक 'ए' डिभिजन लिगमा आइतबार बौद्ध क्लबसँग २-२ को बराबरीमा रोकिएको छ । सहभागिताको पहिलो वर्ष नै लिगविजेता बन्ने सपना संगालेको हिमालयनले अब सुपर-८ मा रहँदै राष्ट्रिय लिगको तयारी गर्नेछ ।
हल्चोक मैदानमा भएको खेलमा बौद्धले दुईपल्ट अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । खेलको ३० औं मिनेटमा खुम गुरुङले गोल गर्दै बौद्धलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा बौद्धले १-० को अग्रता लिए पनि दोस्रो हाफमा हिमालयनले सुधारिएको प्रदर्शन
गर्यो । खेलको ५२ औं मिनेटमा 'सब्स्िटच्युट' किगोजी इस्माइलले हिमालयनका लागि बराबरी गोल गरे ।
दुवै टिम बराबरीमा रहेको अवस्थामा बौद्धका ग्रेले ६२ औं मिनेटमा प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएपछि बौद्धले फेरि अग्रता लिएको थियो । तर कप्तान सागर थापाले २५ यार्डबाट फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । सागरको उक्त गोल चालू लिगको ३ सयौं गोल बन्न पुग्यो ।
अर्को खेलमा फ्रेन्ड्सले मच्छिन्द्रमाथि २-१ को नतिजा निकाल्यो । जितपछि फ्रेन्ड्स १७ अंकसहित १० औं स्थानमा छ भने मच्छिन्द्र ७ अंकसहित १५ औंमा छ । विजयी टिमका लागि ३९ र ६९ औं मिनेटमा थोमस स्कटले गोल गरे । यसअघि मच्छिन्द्रका इजी कोलिन्सले १४ औं मिनेटमा ३५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
हिमालयन २-२ बौद्ध
फ्रेन्ड्स २-१ मच्छिन्द्र
आजको खेल
थ्री-स्टारविरुद्ध सरस्वती
एनआरटीविरुद्ध स्वयम्भू
हल्चोक मैदान
साभार - इ. कान्तिपुर