प्रधानमन्त्री भट्टराई महत्वाकांक्षी योजना पेश गर्दै I
Published on: Wednesday, January 25, 2012 //
समाचार
काठमाडौं, माघ १२,
जनतालाई प्रत्यक्ष राहत दिने भन्दै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले महत्वकांक्षी योजना सार्वजनिक गर्दै हुनुहुन्छ। सुशासन र बिकाससम्बन्धी बेग्लाबेग्लै महत्वकांक्षी योजना प्रधानमन्त्री भट्टराईले आज सार्वजनिक गर्नुहुने भएको हो।
प्रधानमन्त्री आफैले लामो गृहकार्य र छलफल गरि तयार पारिएका यी दुई योजनाले जनतामा आशा जगाउने र शासन संचालनमा रहेको भद्रगोल स्थितिलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतसँग गएराति साढे २ बजेसम्म बालुवाटारमै छलफल गरि प्रधानमन्त्रीले कार्ययोजनालाई अन्तिम रुप दिनुभएको बताइएको छ।
सुशासन कार्ययोजनामा जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी बिभागलाई सक्रिय बनाइने, काम कारवाहीलाई प्रभावकारी बनाउने लगायतका योजना समेटिएको छ। यसअघि प्रधानमन्त्री भए लगतै घोषणा गरिएको राहत कार्यक्रम प्रभावकारी कार्यन्वयन हुन नसकेपछि त्यसको असफलताबाट पाठ सिक्दै नयाँ कार्यक्रमहरु ल्याउन लागिएको वताइएको छ। यस्तै ५ लाख रोजगारी सिर्जना गर्ने, लोडसेडिङ अन्त्य गर्न जलविद्युत आयोजनालाई प्राथमिकता दिंदै करिव ९ सय मेगावाटका आयोजना निर्माणलाई प्राथमिकता दिने, प्राथमिकतामा परेका आयोजनालाई तत्काल कार्यन्वयन गर्ने लगायतका कार्यक्रम समावेश गरि बिकाश कार्ययोजना ल्याउन लागिएको छ।
जनतामा सकरात्मक सन्देश प्रवाह गर्न आम जनता र कर्मचारीहरुबाट एक दिनको तलव वा श्रमदान लागि आह्वान गर्ने, सेना, प्रहरी लगायतका जनशक्तिलाई बिकाश निर्माणमा खटाउने लगायतका कार्यक्रम पनि बिकाश कार्ययोजनामा समावेश गरिएको छ। केही दिनअघि दुई दिनसम्म धुलिखेल बसेर प्रधानमन्त्रीले यी दुई कार्ययोजना तयार पार्नुभएको थियो। आर्थिक बर्षको मध्यतिर आएर नयाँ कार्यक्रम सुरु गर्नुपर्ने अबस्था आएपनि यसले जनतामा सकारात्मक सन्देश प्रवाह गर्नेमा प्रधानमन्त्री आशावादी रहेको बताइएको छ।हाम्रा कुरा