दीपाको दिलको बदला I
Published on: Thursday, January 5, 2012 //
मनोरञ्जन
काठमाडौं, पौष २१,
पप संगीतबाट गायनमा प्रवेश गरेकी गायिका दीपा पन्तले आफ्नो दोस्रो एल्वमा आधुनिक र गजललाई समावेश गरेकी छन् । गायिका दीपा आफ्नो दोस्रो एल्वम ‘दिलको बदला’ लिएर स्रोतामाझ आएकी छन् । जसमा गजललाई प्राथमिकता दिएकी छन् । दुई वर्षअघि ‘रियालिटी’ नामक एल्वम निकालेर गायनमा प्रवेश गरेकी दीपाको ‘दिलको बदला’ यसै साता बजारमा आएको हो ।
एम सिरिज इन्टरटेन्टमेन्टको बजार व्यवस्थापनमा स्रोतासम्म आएको ‘दिलको बदला’ मा जम्मा ६ वटा गीत समावेश छन् । आधुनिक तथा गजल समाविष्ट उक्त एल्वममा दिलको बदला, दुखाउँदिन मुटु, जानी जानी, सजाऔं नि, पाउजुको छमछम र जहिले तिमीलाई बोलका गीतहरु रहेका छन् । प्रमोद खरेल, प्रिन्स र दीपाकै शब्द संयोजन रहेको ‘दिलको बदला’ मा प्रिन्सको एकल संगीत रहेको छ ।
पप तथा लोकआधुनिक संगीतबाट गजल गायनमा फड्को मारेकी दीपा भन्छिन्, ‘मेरो इच्छा आधुनिक र गजल गायन नै हो । त्यसैले दोस्रो एल्वम गजल र आधुनिक गीत मिश्रित गरेर ल्याएकी हुँ ।’ उनी यो एल्वमबाट गायनमा नयाँ पहिचान बनाउँने सोचमा छिन् । ‘दिलको बदला’ का गीतहरु सोचेभन्दा राम्रो भएको दीपाको दावी छ । ‘एल्वम बजारमा नआई नै शिर्ष गीत स्रोताले रुचाए’ दीपा भन्छिन्, ‘अहिले रेस्पोन्स पनि राम्रो आइरहेको छ ।’