Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

विद्यार्थीको प्रदर्शनले सास्ती, तीन घण्टा राजधानी ठप्प I

Published on: Sunday, January 22, 2012 //

काठमाडौं, माघ ९,

विद्यार्थीको महँगीविरोधी चक्काजामका कारण ट्राफिक प्रहरीले गएका तीन दिन राजधानीमा 'अकल्पनीय' तनाव भोगे। 'हाम्रो त कुरै छाडौं, लाखौं जनताले कति सास्ती भोगे होलान्,' उपत्यका ट्राफिक प्रमुख गणेश राईले नागरिकसँग भने। विद्यार्थीको चक्काजाम र प्रदर्शनको मूल्य पेट्रोलियम महँगीभन्दा कम देखिएको छैन। तीनै दिन बिहानको 'प्राइम टाइम'मा तीन घन्टासम्म राजधानी ठप्प भएको छ।

'अहिले चक्काजाम मनलागी समय र तरिकाले भएको छ,' राईले भने, 'कुनै पनि बेला क्याम्पस क्षेत्रमा मान्छे जम्मा हुन्छन् र सवारी बन्द गर्छन्, हामीले त्यतिखेर केही गर्ने मेलो पाउँदैनौं।'

सरकारले भारी पेट्रोलियम मूल्यबृद्धि गरेयता विद्यार्थी संगठनले बिहान ९ देखि १२ बजेसम्म राजधानीका मुख्य स्थानमा प्रदर्शन गरी चक्काजाम गर्दै आएका छन्। रत्नपार्क, प्रदर्शनीमार्ग, लैनचौर, चाबहिलजस्ता 'लाइफ लाइन'मा सवारी अवरोध हुँदा सहर 'कम्प्लिट हल्ट'को स्थितिमा पुग्ने राईले बताए। बिहान मात्र नभएर दिउँसो र बेलुकीसमेत पटकपटक विद्यार्र्थीले क्याम्पस क्षेत्रबाट सवारी रोकेको पाइएको छ।

राई सवारीमा बाधा पुर्‍याउनु कुनै हिसाबले युक्तिसंगत नहुने भए पनि कसैैले समय र स्थान खुलाएर घोषित रुपमा चक्काजाम गर्दा केही न केही व्यवस्थापन गर्न सकिने उल्लेख गर्छन्। 'तर जथाभावी गरेर मानिसलाई सडकमा अलपत्र पार्ने काम भइरहेको छ,' उनले भने, 'पहिल्यै थाहा पाएको अवस्थामा जनताले कम्तीमा आफ्नो व्यवस्था गर्छन्, हामी मिलेसम्म डाइभर्सन गराउँछौं, यो त अल्कपनीय अवस्था हो, जतिखेर पनि चक्काजाम हुने।'

अपर्याप्त र साँघुरा सडक, क्षमताभन्दा अत्यधिक संख्यामा सवारी भएको राजधानीमा रत्नपार्कको त्रिचन्द्र कलेजअगाडि मात्रै विद्यार्थीले सवारी रोके पुरै सहर पक्षघातको स्थितिमा पुग्ने राईको अनुभव छ। आइतबार राजधानीका क्याम्पस क्षेत्रमा प्रर्दशनसहित चक्काजाम हुँदा लगभग तीन घन्टा सवारी सडकमा अड्केका थिए। (नागरिक)

0 comments for "विद्यार्थीको प्रदर्शनले सास्ती, तीन घण्टा राजधानी ठप्प I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!