जर्ज डब्लु बुसलाई पक्रन एम्नेस्टीको आग्रह I
Published on: Saturday, December 3, 2011 //
बिश्वमा
एम्नेस्टी इन्टरनेशनलले अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसलाई पक्राउ गर्न आग्रह गरेको छ । एम्नेस्टीले बिहीबार विज्ञप्ती निकालेर बुसलाई पक्रन इथियोपिया, तान्जानिया र जाम्बिया सरकारसँग आग्रह गरेको हो । बुसले अमेरिकाको राष्ट्रपति हुँदा मानवअधिकार हनन गरेको भन्दै डिसेम्बर महिनामा गर्ने भनिएको अफ्रिका भ्रमणका बेला उहाँलाई पक्राउ गरेर अन्तराष्ट्रिय कानुन बमोजिम कारबाही गर्न एम्नेस्टीले आग्रह गरेको हो ।
‘जर्ज डब्लु बुसलाई कानुनी कठघरामा उभ्याउनु उहाँले भ्रमण गर्ने जुनसुकै देशको पनि कर्तव्य हो’, एम्नेस्टी इन्टरनेशनलका वरिष्ठ कानुनी सल्लाहकार म्याट पोलार्डद्वारा बिहीबार जारी विज्ञप्तीमा भनिएको छ, ‘मानवता बिरोधी काम गर्नेलाई त्यस्तो सुरक्षित स्वर्ग छैन, त्यसैले उहाँ समातिनुपर्छ ।’
एम्नेस्टीले सम्बन्धित देशका कानुन मन्त्रीहरुलाई बुसलाई पक्रन र आवश्यक कागजपत्र सहित कानुनी पक्रियाका लागि तयार रहन पत्राचार समेत गरिसकेको जनाएको छ । सन् २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति हुँदा जर्ज डब्लु बुसले पानीको फोहोरा तथा अन्य तरिका अपनाएर बन्दी माथि अनुसन्धान गर्न अनुमति दिएर बन्दीहरुलाई पीडा दिएको भन्दै एम्नेस्टीले कानुनी कारबाही हुनुपर्ने बताएको हो । अनुसन्धानको यस्तो तरिका बाराक ओबामा राष्ट्रपति भएपछि रोकिएको थियो ।
गत फेब्रुवरीमा बुसले कानुनी कारबाही हुन सक्ने डरले आफ्नो स्वीटजरल्यान्ड भ्रमण रद्द गरेको अधिकारकर्मीहरुले बताएको अलअरेबियाको अनलाईन संस्करणले जनाएको छ । एम्नेस्टीको कदमलाई बुसका अधिकारीले ‘बुसलाई निरुत्साहित गरेको’ भनि टिप्पँणी गरेको फक्स न्यूजले लेखेको छ । - एजेन्सी