रुसमा प्रधानमन्त्री पुटिन बिरुद्ध विशाल प्रदर्शन I एजेन्सी,
Published on: Tuesday, December 6, 2011 //
बिश्वमा
एजेन्सी, मंसिर २१,
सत्तारुढ दल रुसमा सम्पन्न संसदीय चुनावमा सरकारले धाँधली गरेको विरोधमा विशाल प्रदर्शन भएको छ । राजधानी मस्कोको सडकमा प्रधानमन्त्री भ्लादमिर पुटिन विरुद्ध हजारौँ मानिस प्रदर्शनमा उत्रिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्तराष्ट्रिय पर्यवेक्षकहरुले संसदीय चुनावमा सत्तारुढ दलले व्यापक धाँधली गरेको बताए लगत्तै विपक्षी दलका कार्यकर्ता तथा सर्वसाधारण सरकार विरोधी प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्री पुटिनको राजिनामाको माग गरेका छन् ।
रुसमा कैयौँ वर्षयता भएको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । राजधानी मस्कोमा सोमबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनको राजिनामाको माग गर्दै निष्पक्ष चुनावको माग गरेको बीबीसीले जनाएको छ ।प्रहरीले ३ सय जना प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । सरकारले भने चुनाव निष्पक्ष भएको दाबी गरेको छ । आइतबार रुसमा भएको संसदीय चुनावमा सत्तारुढ युनाइटेड रसिया पार्टीले बहुमत प्राप्त गरेको थियो ।
मुख्य विपक्षी दल कम्युनिष्ट पार्टीले सरकारी धाँधली विरुद्ध कडा संघर्ष गर्ने बताएको छ ।