Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

फेसबुकमा च्याट गर्दागर्दै मायाप्रिती गाँसेका : फेसबुक–धोका

Published on: Friday, November 11, 2011 //

काठमाडौं, कार्तिक २६,

नुवाकोटकी गीता शर्मा (नाम परिवर्तन)ले जीवनमा त्यस्तो आँधीहुरी आउने कल्पना गरेकी थिइनन् । सशस्त्र प्रहरीको सिपाही प्रेमी, जोसँग उनी दुई महिनाअघिसम्म बिहे गरेर जिन्दगी बिताउने कल्पनामा थिइन्, उनैले सामाजिक नेटवर्किङ सञ्जाल फेसबुकमा अश्लील चित्रहरू राखेर बदनाम गरिदिए । तिनै ‘बेइमान’ प्रेमीविरुद्ध गीताले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएर पक्रन लगाइन् । उनको फेसबुक खोलेर बदनाम गराउने काभ्रे, दाप्चाका अविराज श्रेष्ठलाई प्रहरीले पक्रेको छ ।

चार वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी २३ वर्षीय गीताले फेसबुकमा साथी बनाएका श्रेष्ठसँग जिन्दगी बिताउने सपना सात महिनादेखि सजाउन थालेकी थिइन् । फेसबुकमा च्याट गर्दागर्दै मायाप्रिती गाँसेका उनीहरूले पहिलोपल्ट काठमाडौंमै भेटघाट गरे । त्यसपछि त्यो बाक्लो भयो । अविराजले गीताबिना जिन्दगी बिताउन नसक्ने भन्दै उनलाई बिहेको सपना देखाएर भुलाएका थिए । बाबुआमालाई भावी दुलही देखाउने भन्दै मायाप्रिती बसेको दुई महिनामा घर लिएर पनि गएका थिए । तीन दिन त्यहाँ राखेपछि उनले गीतालाई काठमाडौं ल्याए ।

चाँडै बिहे गर्ने भन्दै अविराजले उनलाई आफ्नै कोठामा राख्न थालेका थिए । त्यही बीचमा उनीहरूले फेसबुकको पासवर्ड साटासाट गरेका थिए । ‘जहिले भए पनि बिहे भइहाल्छ, पासवर्ड साटौं भन्दै लगेको रहेछ,’ काठमाडौं परिसरका डिएसपी आभूषण तिम्सिनाले भने, ‘केटी टाढिन थालेपछि उसले उसको पासवर्ड परिवर्तन गरेर अश्लील फोटो पोस्ट गरिदिएको रहेछ ।’

डिएसपी तिम्सिनाले फेसबुकबाट हुने अपराध पछिल्ला दिनमा बढेको बताए । ‘सम्बन्ध सुमधुर भइन्जेल केही हुँदैन, पछि बदनाम गरिदिने गरेका घटना धेरै छन् ।’ महानगरीय प्रहरी अपराध महाशाखामा समेत यस्ता घटनाका उजुरी दिनहुँ पर्ने गरेका छन् । अपराध महाशाखाका एक अधिकृतका अनुसार दैनिक दुइटा उजुरी फेसबुकसम्बन्धी हुने गरेका छन् । पीडित प्रायः सबै महिला छन् ।

माथि उल्लेख गरिएकी गीताको घरमा बिहेको कुरा अगाडि बढ्न थालेपछि उनले पनि अविराजलाई त्यस निम्ति दबाब दिएकी थिइन् । तर, श्रेष्ठले सधै भोलि–पर्सि भन्दै टार्न थालेपछि सम्बन्ध तोडिन् । अविराजले चाहिं उनलाई छाड्न चाहेका थिएनन् । तर, गीता सम्बन्ध तोडेर अन्तै गएपछि उनी ‘आक्रोशित’ भए । फोन गरेर मानसिक दबाब पनि दिन थाले । तर, गीताले वास्ता गरिरहेकी थिइनन् । ‘अलि समय बेवास्ता गरेपछि छाड्ला भन्या त झन् बदनाम गर्‍यो,’ उनले सुनाइन्, ‘अब त फेसबुक नै खोल्दिनँ ।’

सशस्त्र प्रहरी मुख्यालयमा कार्यरत उनलाई एक साथीले फोन गरेर फेसबुकमा के–के राखेको भन्दै सोधेपछि पो झसंग भइन् । आफ्नो फेसबुक खोल्न खोज्दा पासर्वड मिलेन भनेपछि अरू चकित भइन् । हेर्दा त इन्टरनेटबाट डाउनलोड गरेर अनावश्यक तस्बिरहरू पोस्ट गरेको उनले भेटिन् । केही समय अत्तालिएकी उनले हत्तपत्त ती तस्बिर हटाउन खोजिन् तर सकिनन् । अनि प्रहरीमा उजुरी दिइन् । त्यसपछि प्रहरीको फन्दामा परे ती सशस्त्र प्रहरी । उनले गीताले आफूसँग बिहे गर्न नमानेपछि उनको बदनाम गरेको प्रारम्भिक बयान दिएका छन् ।प्रतिमा बाँस्कोटा-कान्तिपुर

0 comments for "फेसबुकमा च्याट गर्दागर्दै मायाप्रिती गाँसेका : फेसबुक–धोका"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!