लुक्लामा अलपत्र पर्यटक आक्रोशित : सिम्रिक एयरद्वारा अलपत्रलाई ओसारियो
लुक्ला (सोलुखुम्बु), मंसिर ४,
भारतका चन्दन सिम्रिक एयरको हेलिकोप्टर लुक्लामा अवतरण हुन नपाउँदै झोला बोकेर हतारिँदै हेलिकोप्टरमा छिरे । त्यसपछि लामो श्वास फेरेर भगवान्लाई धन्यवाद दिए । काभ्रेको भकुन्डेबेसीमा एयर अवतरण नहुन्जेल उनी केही बोलेनन् । बाहिर निस्केपछि आकाशतिर फेर्केर खुसी हुँदै चर्को स्वरमा कराए 'आजाद भएँ ।' त्यसपछि उनको थाकेर निन्याउरो भएको अनुहारमा एकाएक चमक देखियो ।
'आजाद भएको महसुस गरिरहेको छु,' उनले कान्तिपुरसँग भने, 'लुक्लामा लामो समयसम्म हवाई उडान ठप्प भएपछि त्यहीं मरिने डरले सताइरहेको थियो ।' लुक्लाको जस्तो घटना आफूले अहिलेसम्म नभोगेको उनले सुनाए । राम्रोसँग खान नपाएको, खर्च गर्ने पैसा सकिएको लगायत अनेकौं समस्याबाट आफूहरू पीडित भएको उनको कथन थियो । उनले सरकारप्रति आक्रोश पोखे । 'यो देशमा सरकार पनि छ र ?' उनले भने, 'सरकार भएको भए यत्रो दिन किन अलपत्र परेर बस्नुपथ्र्यो र ?' उनको समूहमा ७ जना थिए ।
मौसम छिनछिनमै बिगि्रने गर्दा उद्धारका लागि खटेका अधिकांश हेलिकोप्टर कम्पनीहरूले लुक्लाबाट उद्धार गदै सुर्के र रुम्जाटार ल्याई त्यसपछि त्यहाँबाट अरू हेलिकोप्टरले काठमाडौंमा पर्यटकलाई अवतरण गराएका थिए । सिमि्रक एयरले भने उद्धार गरी ल्याएका सबैलाई काभ्रेको भकुन्डेबेसीसम्म ल्याइदिएको थियो । अलपत्र परेका पर्यटकको सख्या अत्यधिक हुँदा निजी हेलिकोप्टरहरूलाई उद्धार गर्न भ्याईनभ्याई छ । यसले गर्दा विमानचालकहरूलाई खाना खानेसम्म फुर्सद छैन । 'उद्धार गरेर भ्याइएको छैन,' क्याप्टेन सिद्धार्थजंग गुरुङले भने । उनी उद्धारको चटारोले हेलिकोप्टरमै बसेर हतारहतारमा खाना खाँदै थिए ।
मौसम खुल्ने छाँटकाँट नदेखेपछि अलपत्र परेका सयौं पर्यटकहरू हिँडेरै दोलखाको जिरीतर्फ गएको स्थानीय सोमजोङ शेर्पाले जानकारी दिए । 'अलपत्र परेका पर्यटकहरू यहाँबाट हिँडेरै गएका छन्,' उनले भने, 'अधिकांशको स्वदेश फर्किने उडान छुटेको, बिदा सकिएको, प्याकेजमा आएको भ्रमण रद्द हुन पुगेको, खर्च गर्ने पैसा सकिएको अवस्था छ ।' लुक्लामा विमानस्थल बन्नुअगाडि पर्यटकहरू दोलखासम्म गाडीमा आई त्यहाँबाट हिँडेर आउने गरेको उनले बताए । उनका अनुसार लुक्लाबाट हिँडेका पर्यटक लामजुरा हुँदै चार दिनपछि दोलखाको जिरी पुग्छन् ।
लुक्लामा वायुसेवा निगमबाहेक निजी एयरहरूमा तारा, सीता र अग्निले उडान सञ्चालन गरिरहेका छन् । अलपत्र परेका पर्यटकहरूमा अमेरिका, बेलायत, प|mान्स, इटाली, जर्मन, चीन, स्पेन, भारतका अत्यधिक रहेका छन् । पर्यटन व्यवसायीका अनुसार डेढ हप्तादेखि दुई हप्ताको टेकिङ प्याकेजमा आएका पर्यटकहरूले दैनिक प्रतिव्यक्ति न्यूनतम एक हजार डलर खर्च गर्ने गरेका छन् । अहिले अलपत्र परेकाहरूको खर्च त्यसको तेब्बरभन्दा बढी रहेको छ । हाल अलपत्र परेका पर्यटकहरूको सिमि्रक, फिसटेल, अग्नि लगायतका निजी एयर कम्पनीहरूले उद्धार कार्य जारी राखेका छन् ।
कान्तिपुर दैनिक







