Published on: Monday, October 3, 2011 //
खेलकुद
काठमाडौ, आश्विन १७,
फिलिपिनी फुटबल टोलीलाई 'अज्कल्स' पनि भनिन्छ, त्यसको अर्थ हुन्छ, 'सडक कुकुर' । कुनै समय दक्षिण-पूर्वी एसियाको शक्ति रहेको फिलिपिन्सको फुटबल अहिले फेरि जुर्मुराउने दाउमा छ र यसको पहिलो परीक्षा हुँदैछ, नेपाली राष्ट्रिय टिमसँगको मैत्रीपूर्ण खेलबाट । मनिलामा असोज २४ गते मंगलबार रिजल मेमोरियल स्टेडियममा हुने खेलमा नेपालविरुद्ध उत्रँदै छ, फिलिपिन्सको अन्डर ट्वान्टी-थ्री टिम । फिलिपिनी टिमका जर्मन प्रशिक्षक माइकल वेस आफ्नो नेतृत्वमा पहिलोपल्ट टिमले औपचारिक खेल खेल्नेमा उत्साहित छन् ।
उनले फिलिपिनी पत्रकारहरूसँगै आइतबार कुराकानी गर्दै भनेका छन्, 'मैले टिम सम्हालेयता पहिलोपल्ट युवा राष्ट्रिय टिमले खेल्दै छ, त्यसैले म खुसी छु । टिमका सबै खेलाडी पहिलो रोजाइका छन् र सबै पहिलोपल्ट एकत्रित हुँदै खेल्दैछन् ।'जर्मन फुटबल संघले ४४ वषर्ीय वेसलाई फिलिपिन्सको फुटबल सम्हाल्न जनवरीमा मनिला पठाएको थियो । उनले रियल म्याडि्रड र आर्सनल जस्ता क्लबमा प्रशिक्षणको 'इन्टर्न' गरेका थिए । यसअघि उनी चिनिया अन्डर-ट्वान्टी र रुवान्डा अन्डर-सेभेन्टिनका प्रशिक्षक थिए ।
फिलिपिनी टिममा डेनमार्क र युरोपका अन्य व्यावसायिक लिगमा खेल्ने खेलाडीको बाहुल्यता छ । केही खेलाडीसँग उमेर समूहमा डेनमार्क र फिलिपिन्स दुवैमा खेलेको अनुभव छ । नेपाली टिमको सामना गर्न डेनिस क्लबमा खेल्ने जेरी लुसेना, डेनिस कागरा र पउल
मुल्डर्स मनिला पुगिसकेका छन् ।
लुसेना डेनमार्क मूलका हुन् र उनी त्यहाँको सुपरलिगा क्लब एएफसी आरहसबाट खेल्नेछन् । उनले यसअघि डेनमार्क अन्डर-ट्वान्टी वानबाट पनि खेलिसकेका छन् । अन्य खेलाडीमा स्टेफेन सक्र बुंडेसलिगाको दोस्रो डिभिजन खेल्छन् । नेल एथेरडेज इङलिस पि्रमियर लिग क्लब फुलहमको रिजर्भ टिमका गोलरक्षक हुन् । उनी चेल्सी एकेडेमीका उत्पादन हुन् । 'अहिलेको फिलिपिनो युवा टिम राम्रो छ र यसले आफूलाई नेपालविरुद्ध सिद्ध गर्नुपर्नेछ,' वेसको दाबी छ । अहिले तत्काल फिलिपिनो टिम चिनियाँ ताइपेईमा भइरहेको चार देशको प्रतियोगितामा व्यस्त छ । स्रोत : कान्तिपुर