शान्तिका लागि नोबेल पुरस्कार तीन महिलाबीच बाँडिने
Published on: Saturday, October 8, 2011 //
बिश्वमा
ओस्लो, आश्विन २१,
लाइबोरियाली राष्ट्रपति एलेन जोनसन सरलिफ, लाइबेरियाली ‘‘शान्ति योद्धा’’ लिमाह ग्बोवी तथा यमनमा अरब क्रान्तिका कार्यकर्ता तावाकुल कारमानलाई शुक्रबार शान्तिका लागि नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको, नोबेल छनौट समितिले बताएको छ । यी तीनै विजेताले सन् २०११ को शान्तिका लागि नोबेल पुरस्कार साझेदारी गर्नुहुनेछ । उहाँहरूले शान्ति स्थापनाको कार्यमा महिला सहभागिताको अधिकार तथा महिलाको सुरक्षाका लागि अहिंश्रक सङ्घर्षका लागि यो पुरस्कार प्राप्त गनुभएको जानकारी नर्वेको नोबेल समितिका अध्यक्ष थोर्बजोर्न जगल्यान्डले दिए ।
‘‘समाजका सबै तहको विकासमा महिलाले पुरुषले जस्तै प्रभाव प्राप्त नगरेसम्म हामीले विश्वमा प्रजातन्त्र तथा दिगो शान्ति प्राप्त गर्न सक्दैनौँ’’, उनले भने । बहत्तर वर्षीया सरलिफले अफ्रिकी मुलुकको पहिलो महिला राष्ट्रपति बन्नु भई इतिहास रच्नुभयो । उहाँले १४ वर्षसम्म हिंश्रक गृहयुद्धपछि स्तब्ध बनेको मुलुकको शासन आफ्नो हातमा लिनुभयो । यो युद्धमा दुई लाख ५० हजार व्यक्तिको मृत्यु भएको थियो, अर्थतन्त्र पूर्णरूपमा बिग्रिएको थियो, विद्युत् तथा पानी थिएनन् र आधारभूत संरचनाहरू ध्वस्त भएका थिए ।‘‘उहाँले सन् २००६ मा राष्ट्रपति पदमा बहाली गरेपछि लिबियामा शान्ति सुनिश्चित गर्न, आर्थिक प्रवद्र्धन गर्न, सामाजिक विकास गर्न तथा महिलाको अवस्था बलियो बनाउन योगदान गर्नुभयो’’, नोबेल समितिले भनेको छ ।
उनाचालिस वर्षीय ग्बोवीको सहयोग नभएको भए सरलिफलाई सत्ता प्राप्त गर्न सम्भव हुँदैन थियो होला । ग्बोवीले लाइबेरियाली महिलालाई युद्धका नेताहरूसँग नडराउन सहयोग गरेकी थिइन । उनले इसाइ तथा इस्लाम महिलाहरूको एक ठूलो समूहलाई अफ्रिकाको रक्तपातपूर्ण युद्धमा यौन हड्ताल गर्न अभिप्रेरणा दिँदै पुरुषलाई शान्तितर्फ आकर्षण गरेकी थिइन । ग्बोवीले ‘‘जातीय तथा धार्मिक विभाजनकारी रेखामा रहेका महिलालाई सङ्गठित पारी लाइबेरियामा चलिरहेको लामो युद्ध अन्त्य गर्न र महिलाको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न’’ गरेको प्रयासलाई नोबेल समितिले प्रशंसा गरेको छ ।
बत्तिस वर्षीया यमनी कार्यकर्ता तथा पत्रकार तावाकुल कारमानले महिलाको अधिकार, प्रेस स्वतन्त्रता तथा यमनमा राजनीतिक पत्रकारको उन्मुक्तिका लागि काराबासका समयमा अनेकौँ पीडालाई बहादुरीपूर्वक सहेका थिए । उनी शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम अरब महिला हुन् । अरब क्रान्तिताका तथा त्यसअघि महिलाको अधिकार, प्रजातन्त्र तथा यमनमा शान्तिका लागि उहाँले नेतृत्वपूर्ण भूमिका खेलेर निकै कठिन परिस्थिति भोगेर सफलता प्राप्त गरेको भनी नोबेल निर्णायक समितिले प्रशंसा गरेको छ । एएफपी÷रासस