नेपालद्वारा आयरल्यान्ड पराजित, पाँचौ जीत
Published on: Saturday, August 6, 2011 //
खेलकुद
काठमाडौ, श्रावण २२ - नेपाली युवा टिमले आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेटमा शनिबार पाँचौं जित हात पारेको छ । नेपालले आयरल्यान्डलाई १० रनले हरायो । खेल वर्षा प्रभावित भएपछि आयरल्यान्डले डकवर्थ लेबिस प्रणालीअनुसार १ सय ८६ रनको नयाँ लक्ष्य पाएको थियो । तर घरेलु टिम आयरल्यान्ड निर्धारित ४६ ओभरमा १ सय ७५ रनमै समेटियो । पाँच खेलमा नेपालले १० अंक बटुल्दै विश्वकप खेल्ने सम्भावना प्रबल बनाएको छ । नेपालले युवा विश्वकपमा छनोट हुन बाँकी दुई खेलमध्ये एकमा जित हासिल गरे पुग्छ ।
आयरल्यान्ड ५४ रन जोड्दा ४ विकेट गुमाएर दबाबमा आएको थियो । उसका लागि जर्ज डर्करेल र एडम कौलेनले पाँचौं विकेटका लागि १ सय ७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए । तर कौलेन ४८ रन बनाएर ४३ औं ओभरमा रनआउट भएपछि खेल नेपालको पक्षमा फर्केको हो । डर्करेल भने ५५ रन जोड्दै आउट भए । उनी अविनाश कर्णको बलमा प्रदीप ऐरीको हातबाट समातिए । त्यसपछि नेपाल जितनजिक पुगेको हो ।
बलिङमा नेपालका राहुलकुमार विकले सर्वाधिक चार विकेट लिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बने । भुवन कार्की र अविनाश कर्णको नाममा २-२ विकेट रह्यो । थप एक विकेट कप्तान पृथु बाँस्कोटाले लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४६ ओभरमा ७ विकेट क्षतिमा १ सय ८७ रनको सामान्य योगफल बनाएको थियो । सागर पुनबाहेक माथिल्ला क्रमका अन्य ब्याट्सम्यान चल्न सकेनन् । सम्हालिएर ब्याटिङ गरेका सागरले अर्धशतक प्रहार गरे । उनले एक सय बलमा ३ चौका र एक छक्का प्रहार गर्दै प्रतियोगितामा दोस्रो अर्धशतक बनाए । उनले यसअघि भानुआतुविरुद्ध ५१ रन जोडेका थिए ।
आठौं र नवौं नम्बरमा ब्याटिङका लागि आएका राहुल कुमार विक र कृष्ण कार्कीले सुधारिएको ब्याटिङ गर्दै नेपालको सान जोगाए । प्रतियोगितामा पहिलोपल्ट ब्याटिङमा चलेका राहुलले आक्रामक ब्याटिङ गर्दै ३८ रन बनाए । उनले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । जसले गर्दा नेपालले अन्तिम ओभरमा २७ रन बटुलेको थियो । कप्तान पृथु खेलको १० औं ओभरमा बलले हातमा लागेका कारण रिटायर्ड भएका थिए ।
कृष्णले ३५ रन बटुले । पृथुले १८ रन जोडे । नेपालको सुरुआत फेरि एकपल्ट राम्रो हुन सकेन । चोटबाट फर्किएका विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल टिमको योगफल ५ रहँदा आउट भए । उनले ५ रन जोडे । कुनै रन जोड्न नपाउँदै नेपालले अर्को विकेट गुमायो । नरेश बुढाऐरले खाता खोल्न सकेनन् । उनी २ बलको सामना गर्दै पेभेलियन फर्किए । मध्यक्रमका ब्याट्सम्यान राजेश पुलामीले ८ र प्रदीप ऐरीले ९ रन जोडे । नेपालले आइतबार पपुवा न्युगिनीको सामना गर्नेछ । - कान्तिपुर