जापानका फुटबलर नाओकीको मृत्यु
Published on: Thursday, August 4, 2011 //
खेलकुद
टोक्यो, साउन २० (एजेन्सी)- अभ्यास मैदानमा बेहोस भएको दुई दिनपछि जापानका फुटबलर नाओकी मात्सुदाको मृत्यु भएको छ। उनलाई हृदयघात भएको आशंका गरिएको छ। २००२ को विश्वकपमा जापानको प्रतिनिधित्व गरेका ३४ वर्षे मात्सुदा मंगलबार अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएका थिए।
मात्सुदाले जापानको राष्ट्रिय टोलीबाट ४० खेल खेलेका थिए। मात्सुमोतो यामागाको अभ्यास दौरान उनी मैदानमा ढलेका थिए। त्यसपछि उनी होसमा आउन सकेनन्। उनको स्वास्थ लाभको कामना गर्दै प्रशंसक, साथीहरु र पूर्व खेलाडीहरु अस्पतालमा जम्मा भएका थिए। जापानका पूर्व प्रशिक्षक फिलिप ट्राउजिरले रक्षक मात्सुदा प्रति श्रद्धान्जली प्रकट गर्दै ९ वर्षअघिको विश्वकप टोलीमा उनी जापानको महत्वपूर्ण खेलाडी भएको बताए। 'यस्तो युवा अवस्थामा ज्यान गएको समाचार निकै दुःखद हो,' उनले रोयटर्सलाई बताए।
१५ वर्ष योकोहामा एफ मारिनोजबाट खेल्नेक्रममा मात्सुदाले टोलीलाई २ पटक जे लिगको उपाधि दिलाएका थिए। यसै वर्ष उनी तल्लो डिभिजनको टोलीमा मात्सुमोतोमा आएका थिए।