नेपाली डिफेन्डर चन्दमाथि यूरोपेली क्लबको आँखा
नेपालका उत्कृष्ठ डिफेन्डर रोहित चन्दमाथि युरोपेली क्लबको अर्को नजर परेको छ । दुई बेलायती क्लबले लिने इच्छा देखाएको चर्चा सेलाउन नपाउँदै राष्ट्रिय फुटबल टोलीका रक्षक रोहित चन्दलाई फ्रान्सेली लिग च्याम्पियन लिलेले इच्छा देखाएको समाचार आएको छ।
रोहितलाई लिलेले भित्र्याउन चाहेको बेलायती वेबसाइट टकस्पोर्टसले जनाएको छ। वेबसाइटले गैरयुरोपेली खेलाडीलाई भित्र्याउन बेलायतभन्दा फ्रान्समा सजिलो भएकाले पनि लिलेले रोहित लिने सम्भावना बढी रहेको उल्लेख गरेको छ।
यसै महिनाको सुरुआतमा सोही वेबसाइटले प्रिमियर क्लब आर्सेनल र टोटेनह्यामले रोहितको खेल हेर्न आफ्नो स्काउट जोर्डन पठाउँदै छ भन्ने समाचार प्रकाशित गरेको थियो। साउन ७ मा नेपालले जोर्डनविरुद्ध विश्वकप छनोटको दोस्रो चरणको पहिलो लेग खेलेको थियो। पहिलो लेग नेपालले ९-० ले गुमाएपछि राष्ट्रिय टोलीका बेलायती प्रशिक्षक ग्राहम रोबर्टसले तत्काल प्रिमियरसिप क्लबले रोहितलाई लिन नचाहेको प्रतिक्रिया दिएका थिए।
टक स्पोर्टसले बुधबार प्रिमियरसिपका दुई र लिलेले आफ्नो स्काउटमार्फत् आइ लिगदौरान रोहितको प्रदर्शन नियालेको जनाएको छ। रोहितले गत सिजन हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) बाट आइ लिग खेलेका थिए। उनले युरोपेली क्लबले चासो देखाएको विषयलाई अर्थपूर्ण रूपमा हेरेका छन्। 'युरोपमा खेल्ने हरेक खेलाडीको सपना हुन्छ। मेरो पनि छ। सबैको सपना पूरा हुन्छ भन्ने छैन,' उनले भने, 'मेरो बारेमा ठू-ठूला क्लबले चासो देखाएको सुन्दा आनन्द लाग्छ। तर हेरां हल्ला कतिको साँचो हो म आफै यो विषयमा केही भन्न सक्दिनँ।'
उनी आफै भने अगस्टको अन्त्यतिर भारत फर्कने योजनामा छन्। 'अहिले आइ लिगमा ब्रेक छ, अगस्टको अन्त्यतिर जान्छु होला,' हाल स्वदेशमै रहेका रोहितले भने। पुरानै क्लब एचएएलले सम्झौताका लागि प्रस्ताव राखिसकेको जनाउँदै उनले आफू अन्य क्लबमा समेत जान सक्ने संकेत गरे। - Solidarity