नेपाल छनोटनजिक
Published on: Monday, August 1, 2011 //
खेलकुद
- यू-१९ विश्वकप क्रिकेट छनोट
- नेपाल शीर्ष स्थानमा
काठमाडौ, श्रावण १७ - नेपाली युवा क्रिकेटरले आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेटमा सोमबार जित हात पारेका छन् । नेपालले भानुआतुलाई १ सय ५९ रनले हरायो । चार खेलमा तीन जित हात पार्दै नेपाल सन् २०१२ मा हुने आईसीसी यू-१९ क्रिकेटमा छनोटनजिक पुगेको छ । नेपाल चार खेलबाट ६ अंक लिगको शीर्षस्थानमा छ । भानुआतु सबै चार खेलमा पराजय भोग्दै अंक तालिकाको पुछारमा छ ।
आयरल्यान्डको डब्लिनस्थित वाईएमसीए क्रिकेट क्लबमा नेपाल आफ्नो परम्परागत समस्याका रूपमा रहेको कमजोर ब्याटिङबाट पनि बाहिर आयो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ५० रनको लक्ष्य तयार पार्यो । प्रत्युत्तरमा भानुआतु नेपाली बलरसामु टिक्न सकेनन् । राहुल विश्वकर्माले सर्वाधिक ४ विकेट लिएपछि भानुआतु ३० ओभर ५ बलमा ९१ रनमा समेटियो । सुवास खकुरेलको स्थानमा इनिङ सुरुआत गर्न आएका सागर पुनले नेपालका लागि सर्वाधिक ५१ रनको योगदान दिए ।
पहिलो तीन खेलमा राम्रो प्रदर्शन गर्न नसकेका सागरले फजरुल रहमानसँग पहिलो विकेटका लागि २७ रनको साझेदारी गरे । फजरुलले ५ रनमात्र जोडे । त्यसपछि सागर र नरेश बुढाऐरले दोस्रो विकेटका लागि ७३ रनको महत्त्वपूर्ण योगदान दिए । सागरले ६६ बलमा ८ चौका प्रहार गरे । त्यसपछि नरेशले आफ्नो अर्धशतकीय इनिङमा नेपाललाई उकासे । कप्तान पृथु बाँस्कोटासँग ३० रनको साझेदारी गरेका नरेशले ५० रन जोड्दा एक छक्का र चार चौका प्रहार गरे ।
विजयी टिमका लागि पृथुले १८ तथा प्रदीप ऐरीले ११ रनको योगदान दिए । राजेश पुलामी मगरले सम्हालिएर ब्याटिङ गर्दै ३२ बलमा २३ रन बनाए । सुवास खकुरेलको स्थानमा टिममा परेका सुवेन्दु पाण्डेले १४ रन जोेडे । अविनाश कर्ण १४ रनमा आउट भए भने भुवन कार्की २० रनमा नटआउट रहे । भानुआतुका सिम सालाले सर्वाधिक ३ विकेट लिए । प्रत्युत्तरमा नेपाली बलरको प्रदर्शन उत्कृट रह्यो । नेपाली स्पिनरसामु भानुआतुका ब्याट्सम्यान निरीह देखिए । भुवन कार्कीले दुई तथा पृथुले एक विकेट लिए । त्यस्तै, कृष्ण कार्कीले तीन ब्याट्सम्यानलाई पेभेलियन फर्काए । किफायती बलिङ गरेका भुवनले ६ ओभरमा ३ मेडन राख्दै ९ रन खर्चे । उनी 'म्यान अफ द म्याच' घोषित भए ।
भानुआतुका नाहिल निपिको र स्टेफेनले अन्तिम विकेटका लागि २८ रनको साझेदारी गर्दै पराजय केही पर सारेका थिए । पाँचौं क्रममा ब्याटिङ गर्न आएका निपिको ३६ रनमा नटआउट रहे । उसका पाँच ब्याट्सम्यानले खाता खोल्न सकेनन् । अब बुधबार नेपालले क्यानडाको सामना गर्नेछ । - कान्तिपुर