पाकिस्तान यू-१६ च्याम्पियन
Published on: Wednesday, August 10, 2011 //
खेलकुद
- पाकिस्तान २-१ भारत
- नेपाल २-१ बंगलादेश
जगदीश्वर पाण्डे - काठमाडौ, श्रावण २६ - पाकिस्तानी किशोर फुटबल टिमको दुई साताको नेपाल यात्रा सुखद रह्यो र बुधबार पहिलो साफ यू-१६ च्याम्पियनसिपको उपाधि उचाल्यो । पाकिस्तानले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई २-१ ले निराश पार्यो । पाकिस्तानले प्रतियोगितामा भारतलाई दोस्रोपल्ट आफ्नो सिकार बनायो ।
प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तानले भारतलाई समूह चरणमा पनि १-० ले पराजित गरेको थियो । प्रतियोगितामा खेलेका चारै खेल पाकिस्तानले जित्यो । पाकिस्तानी प्रशिक्षक साजाद मेहमुदले नेपाल यात्रा सुखदायी रहेको बताए । 'उपाधि जित्ने लक्ष्य लिएर आएका थियौं र सफल भयौं,' उनले भने । मेहमुदले फाइनल खेल रोमाञ्चक भएको बताए, 'हाम्रा खेलाडीले राम्रो खेले । खुसी छौं, हामीले भारतलाई दोस्रोपल्ट हरायौं ।' उनले भारतलाई हराउँदा छुट्टै मज्जा आउने बताए, 'हाम्रो देशका जनता र फुटबल संघ भारतलाई हरायो भने टिम राम्रो छ भन्छन् । हार्यो भने कमजोर छ भन्ने गर्छन् ।'
भारतका प्रशिक्षक थोमस जोसेपले फाइनलमा दुवै टिमले राम्रो नखेलेको बताए । 'आज हाम्रा लागि खराब दिन रह्यो,' उनले भने । पहिलो हाफमा दुवै टिमको प्रदर्शन सामान्य रह्यो । भारतका ड्यानियल लाललिम्पुयाले छैटौं मिनेटमा गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । त्यसको पाँच मिनेटपछि पाकिस्तानका शेर अलीले दायाँ भागबाट हानेको कर्नर प्रहारलाई गोललाइनबाट विपक्षी गोलकिपरले पन्च गररे बचाएका थिए । पाकिस्तानले २५ औं मिनेटमा अग्रता लियो ।
मोहम्मद जिसानले २० यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार सुन्दर गोलमा परिणत भयो । पहिलो हाफको इन्ज्युरी टाइमको दोस्रो मिनेटमा भारतका ड्यानियलले पाकिस्तानी डिफेन्डरहरू अलमलिएको फाइदा उठाउँदै पेनाल्टी एरियाबाट गोल गरे ।
दोस्रो हाफमा पाकिस्तान बलियो देखियो । मन्सुर खानले ५१ औं मिनेटमा गोल गर्दै पाकिस्तानलाई फेरि अग्रता दिलाए । उनले रिबाउन्ड बलमा गोल गरेका थिए । जिसानले गरेको प्रहारलाई भारतका डिफेन्डर मल्लिक अहमदले रोके पनि मन्सुरको खुट्टामा पुगेको थियो । त्यसपछि भारतले खेल बराबरीमा ल्याउने मौका ५८ औं मिनेटमा गुमायो । उसका ड्यानियलले गरेको कडा प्रहारलाई पाकिस्तानका डिफेन्डर साहबाज मासिहले गोललाइनबाट क्लियर गरेका थिए ।
नेपालले बंगलादेशलाई हरायो
नेपालले १० खेलाडीमा सीमित बंगलादेशलाई २-१ ले हरायो र तेस्रो स्थान हासिल गर्यो । यी दुई टिमले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए । नेपाली प्रशिक्षक सुनिल श्रेष्ठले जितका बाबजुत टिमले राम्रो खेल्न नसकेको बताए । '१० खेलाडीबाट पनि दोस्रो हाफमा दबाब खेप्नु पर्यो,' उनले भने ।
सुनिलले प्रतियोगिता एएफसी छनोट चरण फुटबलका लागि अभ्यास भएको पनि बताए । बंगलादेशी प्रशिक्षक टोटम सेक सुकुलले खेलको सुरुआतदेखि नै एक खेलाडी कम भएपछि खेल्न गाह्रो भएको बताए । कम खेलाडीका बाबजुत आफ्नो टिमले राम्रो खेलेको उनले बताए ।
नेपालले खेलमा बंगलादेशविरुद्ध आठभन्दा बढी गोल गर्ने मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । बंगलादेशले भने दोस्रो हाफमा एकमात्र मौका पाएको थियो र गोलमा परिणत गर्यो । नेपालले पहिलो गोल पेनाल्टीमार्फत् नवौं मिनेटमा गर्दै अग्रता लियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान हेमन गुरुङले पेनाल्टीको सदुपयोग गर्दै गोल गरे र सेमिफाइनलमा भारतविरुद्ध गरेको गल्तीलाई सुधारे । हेमनले नै प्रहार गरेको शटले विपक्षी गोलकिपरलाई बिट गरे पनि डिफेन्डर मोहम्मद अबिसुरले गोल लाइनबाट दुवै हातले रोकेका थिए । जसले गर्दा रेप|mीले नेपाललाई पेनाल्टी दिए भने अबिसुरलाई रातो कार्ड देखाए । नेपालले ३९ औं मिनेटमा अग्रता दोब्बर बनाउने राम्रो मौका गुमायो । विश्वास श्रेष्ठलाई बंगलादेशका गोलकिपरले पेनाल्टी एरियामा फल गरेपछि रेप|mीले नेपाललाई अर्को पेनाल्टी दिएका थिए । भारतविरुद्ध सेमिफाइनलमा पेनाल्टी सुदपयोग गर्न नसकेका उमेश थापा फेरि एकपल्ट चुके ।
बंगलादेशका अली रब्बीले खेलमा टिमले पाएको एक मात्र मौकाको सदुपयोग गर्दै ६८ औं मिनेटमा गोल गरे र खेल बराबरीमा ल्याए । उनले पेनाल्टी एरिया बाहिर पाएको बललाई अघि बढाउँदै दुई डिफेन्डरलाई छक्याएर गोल गरे । इन्ज्युरी टाइममा पेनाल्टी एरिया नजिकै पाएको पि|mकिकलाई हेमनले चलाखीपूर्ण तरिकाले प्रहार गरेका थिए । त्यसलाई वान टचमा आदित्य चौधरीले पोस्टको दिशा दिए र जित निश्चित पारे । - कान्तिपुर बाट