यू-१९ विश्वकप छनोट, नेपाल छैटौंपल्ट युवा विश्वकपमा
Published on: Sunday, August 7, 2011 //
खेलकुद
काठमाडौं, श्रावण २३ - नेपाली युवा क्रिकेटरले सन् २०१२ मा हुने आईसीसी यू-१९ विश्वकप सहभागिता आइतबार पक्का गरेका छन् ।
आयरल्यान्डमा जारी छनोट प्रतियोगितामा पपुवा न्युगिनीमाथि २८ रनको जित हात पारेपछि नेपाल छैटौंपल्ट युवा विश्वकपमा खेल्ने पक्का भएको हो । दस टिम सम्मिलित राउन्ड रोबिन लिगमा आठ खेल खेलिसकेको नेपालको यो छैटौं जित हो । स्कटल्यान्ड र क्यानडासँग हार बेहोरेको नेपालले पपुवा न्युगिनीसहित अफगानिस्तान, केन्या, नामिबिया, भानुआतु र आयरल्यान्डमाथि जित दर्ता गर्यो । अब अन्तिम खेलमा नेपालले मंगलबार अमेरिकाको सामना गर्नेछ ।
नेपाल १२ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ भने स्कटल्यान्ड १४ अंकसहित पहिलोमा छ । त्यस्तै आयरल्यान्ड तेस्रो, अफगानिस्तान चौथो, अमेरिका पाँचौं र पपुवा न्युगिनी छैटौं स्थानमा छन् । लिगका उत्कृष्ट छ टिमले विश्वकमा स्थान पाउनेछन् । सन् २००० देखि लगातार पाँचपल्ट युवा विश्वकपमा सहभागी नेपालले अघिल्लो संस्करण भने गुमाएको थियो । यसअघिका विश्वकपमा नेपाल एसीसी यू-१९ विजेताका रूपमा प्रवेश गरेको थियो । सन् २०१२ को विश्वकप सहभागिताका लागि भने नेपाली टिमले छनोट चरणमा सहभागिता जनाएको हो । थाइल्यान्डमा सम्पन्न एसीसी यू-१९ एलिट कप उपविजेताका रूपमा नेपालले छनोट चरणमा स्थान पक्का गरेको थियो ।
पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको बलिङ र ब्याटिङ दुवै उत्कृष्ट रहे । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सात विकेट क्षतिमा २ सय ७७ रन बनायो । प्रतियोगितामा नेपालले खडा गरेको यो सर्वाधिक स्कोर हो । यसअघि नेपालले भानुआतुविरुद्ध २ सय ४९ रन बनाएको थियो । प्रत्युत्तरमा पपुवा न्युगिनी ४९ ओभर ४ बलमा २ सय ४९ रनमा समेटियो । नेपालका तीन ब्याट्सम्यानले अर्धशतक पूरा गरे । खेलमा सर्वाधिक ९१ रन राजेश पुलामी मगरले बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक पूरा गरेका उनी अन्तिम बलमा रनआउट भएका थिए । उनले सय बलमा आठ चौका तथा एक छक्का प्रहार गरेका थिए । त्यस्तै प्रारम्भिक ब्याट्सम्यान सागर पुनले ६७ तथा प्रदीप ऐरीले ५९ रन जोडे ।
लगातार दोस्रो अर्धशतक जोड्ने क्रममा सागरले ८१ बलमा ८ चौका र एक छक्का हाने । यो उनको प्रतियोगितामा तेस्रो अर्धशतक हो । प्रदीपले ५७ बलमा ६ चौका प्रहार गरेका थिए । राजेश र प्रदीपले पाँचौं विकेटका लागि १ सय १२ रनको महत्त्वपूर्ण साझेदारी गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले दुई रनमात्र जोडे । नरेश बुढाऐर ९, कप्तान पृथु बाँस्कोटा ९ तथा कृष्ण कार्कीले १९ रन योगदान गरे । राहुल विश्वकर्मा ४ रनमा नटआउट रहे ।
जवाफमा पहिलो विकेट सस्तैमा गुमाएको पपुवा न्युगिनीले क्रिस्टोफर केन्टको ८० रन मदतले सम्मानजनक स्कोर खडा गर्यो । केन्ट ४८ औं ओभरमा आउट भएपछि खेल नेपालको पकडमा आएको थियो । केन्ट टिमले २ सय ३७ रन जोड्दा छैटौं विकेटका रूपमा आउट भएका थिए । त्यसपछि अन्य ब्याट्सम्यान सस्तैमा समेटिए । उसका प्रारम्भिक ब्याट्सम्यान भागी ओलाले पनि ६४ रन जोडे । नेपालका अविनाशले ६ ओभर ४ बलमा ३७ रन खर्चेर ५ विकेट लिए ।
त्यस्तै सागरले दुई र पृथुले एक विकेट हात पारे । अविनाशले पछिल्ला ब्याट्सम्यानलाई सस्तैमा पेभेलियन फर्काए । यस उमेर समूहमा दुवै टिम यसअघि दुईपल्ट भिडेका छन् । त्यसमा नेपालले सफलता हात पारेको थियो । सन् २००२ को विश्वकपमा ६५ रनले हराएको नेपालले त्यसको दुई वर्षपछिको अर्को विश्वकपमा ७ विकेटको जित दर्ता गरेको थियो । - कान्तिपुर