यू-१६ साफ च्याम्पियनसिप आजदेखि
Published on: Sunday, July 31, 2011 //
खेलकुद
'हामीले अर्को वर्ष हुने एएफसी यू-१६ प्रतियोगिताको तयारीका रूपमा यसलाई लिएका छौं’
काठमाडौ, श्रावण १६ - साफ यू-१६ च्याम्पियनसिप फुटबल सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । दक्षिण एसियाली फुटबल संघको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता साउन १६ देखि २५ सम्म दशरथ रंगशालामा सञ्चालन हुनेछ ।
आयोजक एन्फाले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । उमेर समूहको यो प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउनेछन् ।
दक्षिण एसियाली क्षेत्रका दुई देश भुटान र अफगानिस्तानले भने सहभागिता जनाउने छैनन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी छ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको अघिल्लो दिन आइतबारमात्र टाइसिट 'ड्र' गरिएको थियो । समूह 'ए' मा भारत, माल्दिभ्स र पाकिस्तान छन् । घरेलु टिम नेपाल, श्रीलंका र बंगलादेश 'बी' मा छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले पहिलो खेलमा बिहीबार बंगलादेशको सामना गर्नेछ ।
'हामीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सञ्चालन गरिसकेका छौं, यो प्रतियोगिता पनि सफल हुने विश्वास छ,' एन्फा अध्यक्ष गणेश थापाले भने, 'यसलाई हामीले प्रतियोगिताभन्दा पनि महोत्सवका रूपमा लिएका छौं ।'
प्रत्येक दुई/दुई वर्षमा हुने प्रतियोगिताका सहभागी प्रत्येक देशले खाने र बस्ने खर्चका लागि आयोजक नेपाललाई छ/छ हजार डलर बुझाउनुपर्ने छ ।
'हामीले अर्को वर्ष हुने एएफसी यू-१६ प्रतियोगिताको तयारीका रूपमा यसलाई लिएका छौं,' अध्यक्ष थापाले भने । उनले अधिकांश खेलाडी एन्फा एकेडेमीका उत्पादन भएका र उनीहरूले विभिन्न उमेर समूहको प्रतियोगितामा सहभागिता जनाइसकेकाले राम्रो गर्ने विश्वास व्यक्त गरे ।
उनले प्रतियोगिताअघि हरेक देशबाट दुई/दुई रेफ्री नेपाल आएको र नेपालका १२ जना रेफ्रीलाई एसियाली फुटबल महासंघ (एएफसी) का रेफ्री इन्स्ट्रक्टरहरूले प्रशिक्षण दिएको जानकारी दिए ।
उनले रेफ्री प्रशिक्षणमा उत्कृष्ट रेफ्री र सहायक रेफ्रीलाई प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिइने जानकारी दिए । 'यसले गर्दा नेपाली युवा रेफ्रीलाई थप मौका मिल्नेछ,' थापाले भने ।
नेपाली टिम घोषणा यू-१६ साफ च्याम्पियनसिपका लागि हेमन गुरुङको नेतृत्वमा २३ सदस्य रहेको नेपाली टिम आइतबार घोषणा गरिएको छ । टोलीका अन्य सदस्यमा वीरेन्द्र चन्द, बृजेश सिंह, अलन न्यौपाने -गोलरक्षक) सञ्जय राजवाहक, आदित्य चौधरी, विश्वास श्रेष्ठ, विवेक बस्नेत, अञ्जन लाखजु, नवीन गुरुङ (डिफेन्डर), रुङ्ग्रीहाङ राई, सागर लामा, फिरोन मगराती, शिखरमणि काफ्ले, उमेश थापा, प्रथम थापामगर, युगल पाण्डे (मिडफिल्ड) र ऋषि थापामगर, अनिल गुरुङ, कृष्णराज लामा, सुरज हमाल, सुमन लामा र सुरजकुमार राई (फरवार्ड) छन् । प्रशिक्षकमा मृगेन्द्र मिश्र र सुनिल श्रेष्ठ छन् ।