सेरेनाको दोस्रो जन्म
Published on: Friday, June 24, 2011 //
खेलकुद
फेरि उनले लगातार दोस्रो पल्ट विम्बल्डन उपाधि जितेकी थिइन् र यो अल इङ्ल्यान्ड क्लबमा जितेको चौथो उपाधि थियो। समग्रमा सेरेनाले जितेको ग्रान्डस्लाम उपाधिको संख्या पनि १३ पुगिसकेको थियो। यसपल्ट विलियम दिदीबहिनीमध्ये कान्छी सेरेनासँग महिला एकल उपाधिमा ह्याटि्रक गर्ने अवसर छ, विम्बल्डनमा।
तर उनी फेरि एकपल्ट विम्बल्डन खेल्न पाएको अथवा त्यो भन्दा पनि ठूलो, टेनिस कोर्टमै उत्रन पाएकोमा पनि खुसी छिन्। आखिर उनी दोस्रो जन्म लिएर फर्किएकी छिन्, मृत्युको मुखबाट सकुसल फर्किएकी सेरेना। 'यसपल्ट पनि उपाधि जित्न सके, गजब हुनेछ तर उपाधि मेरो लक्ष्य होइन, म सबैभन्दा पहिले सामान्य जीवन जिउन चाहन्छुं', २९ वर्षीया सेरेनाको भनाइ छ।
सेरेनाका लागि पछिल्ला १२ महिना सुखद रहेनन्, विम्बल्डन जितेयता। जुलाई ७, सेरेनाका लागि त्यो कालो रात थियो, जति बेला उनले एक अस्वाभाविक र दुर्लभ दुर्घटनाको सामना गरिन्। रेस्टुराँमा खान बसेकी सेरेनाले त्यहाँ फुटेको गिलासमाथि टेकेकी थिइन्। घाउ यति गम्भीर थियो कि उनलाई १८ टाका लगाउनुपरेको थियो।
तर त्यसलाई लिएर सेरेना गम्भीर भइनन् र लगतै अर्को दिन किम क्लाइस्टर्ससँग एक मैत्रीपूर्ण खेल पनि खेलिन, कीर्तिमान ३५ हजारभन्दा बढी दर्शकका अगाडि। आखिरमा त्यो घाउ सेरेनाले सोचे जस्तो सामान्य रहेन, त्यसका लागि ठूलै शल्यक्रियाको आवश्यकता पर्यो। त्यसयता उनले एक वर्षजति खेल्न सकिनन्।
सेरेनाले विश्व नम्बर १ खेलाडीको मुकुट पनि गुमाइन् र पूरा खेल जीवनकै सर्वाधिक खराव समय बिताइन्। 'मैले बाच्ने आशा पनि छाडिसकेकी थिएँ, टेनिस खेल्छु भन्ने त सोच पनि थिएन। मलाई हेमाटोनामा भएको थियो, त्यसलाई हटाउन शल्यक्रिया गर्नुपर्ने भयो', सेरेना सम्झिन्छिन्। उनको खुट्टामा लागेको चोट बल्झेर फोक्सोसम्म पुगेको थियो।
सेरेनाको शरीरको ठाउँ-ठाउँ रगत जमेर गाँठो बन्न थालेको थियो। 'शारीरिक रूपमा म त्यति कमजोर थिइंन , तर मानसिक रूपमा त म जीवनकै तल्लो बिन्दुमा पुगिसेकी थिएँ', सेरेना भन्छिन्। सेरेना अब पहिलेको जस्तो खेलाडी हुने छैनन्, तर उनकै शब्दमा, 'मेरा लागि बाँच्नु पनि ठूलो थियो, यो मेरो दोस्रो जन्मजस्तै हो।'
साभार :- कांतिपुर साप्ताहिक