Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नेपालको राजनीति सफा गर्न सकिन्छ

Published on: Friday, June 24, 2011 //

अश्विनी कोइराला
उनी जम्मा २५ वर्षका भए। पेसाले उनी अर्थशास्त्रमा स्नातक तहका विद्यार्थी हुन्। तीन वर्षअघि व्यवस्थापन विषय अध्ययन गर्न नेपालबाट अमेरिका छिरेका प्रज्वलसिंह शाह आफू अध्ययनरत प्लात्स्वर्ग कलेजको विद्यार्थी युनियनका अध्यक्ष भएका छन्। पाँच महिनाअघि ६ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने उक्त कलेजका विद्यार्थीले सिंहलाई अत्यधिक बहुमतले विद्यार्थी युनियनको अध्यक्षमा जिताएका हुन्। कलेजको ५० वर्षे इतिहासमा अध्यक्ष चुनिने उनी पहिलो गैरअमेरिकी हुन्। नेपालबाट अमेरिका अध्ययन गर्न गएका हजारौं नेपालीमध्ये विद्यार्थी युनियनको अध्यक्ष हुने पनि उनी पहिलो विद्यार्थी भएको बताइन्छ। स्टेट युनिभर्सिटी अफ न्युयोर्कको चेनमा रहेका विश्वविद्यालयबाट अध्यक्ष चुनिएका कतिपय व्यक्ति अमेरिकी सिनेटर एवं न्युयोर्कको मेयरसम्म भएका छन्। नेपाल टेलिभिजन प्लसका निर्देशक जयसिंह शाहका जेठा छोरा प्रज्वलसँग उनको चमत्कारिक प्रगतिका विषयमा साप्ताहिकले अनलाइन एवं टेलिफोनमार्फत लामो कुराकानी गरेको थियो।

नेपालमा हरेक क्षेत्र राजनीतिबाट प्रभावित छ, तपाईंले पनि अमेरिकी कलेजमा अध्यक्ष भएर राजनीति सुरु गर्नुभएको हो ?
नेपालमा जस्तो यहाँ सबै क्षेत्र राजनीतिबाट प्रभावित छैन। अमेरिकीहरू राजनीतिक गतिविधिबाट कतिसम्म बेखबर हुन्छन् भने राष्ट्रपतिको निर्वाचन हुँदैछ भन्ने कुरा पनि कतिलाई थाहा हुँदैन। नेपालका सबै कलेजमा राजनीतिक दलका भ्रातृ संगठनहरूले उम्मेदवार उठाउँछन्। यहाँ भने कलेजमा राजनीतिक दलको छाया पनि पर्न दिइँदैन।

केही अमेरिकी सिनेटरहरू तपाईंजस्तै विद्यार्थी युनियनमा अध्यक्ष भएर राजनीतिमा छिरेको इतिहास छ, तपाईंको उद्देश्य त्यो होइन ?
होइन, पटक्कै होइन। अमेरिकी सिनेटरहरूको जुन इतिहास छ, त्यो स्टेट युनिभर्सिटी अफ न्युयोर्कका ५० भन्दा बढी विश्वविद्यालयमा हुने के न्द्रीय स्तरको निर्वाचनबाट सुरु हुन्छ। ६ हजार विद्यार्थीको लिडर भएर काम गर्दा जुन अनुभव प्राप्त हुन्छ, त्यसले राजनीतिमा ठूलो मद्दत गर्छ, तर म राजनीतिमा जाने उद्देश्यले अध्यक्ष भएको होइन। पहिलो कुरा म विद्यार्थी भिसामा आएको हुँ। राजनीति गर्नलाई अहिले मसँग ग्रीनकार्ड छैन। अर्को कुरा यहाँ राजनीति गर्ने वातावरण पनि हुँदैन। यहाँ राजनीतिशास्त्र लिएर सम्बन्धित पार्टीको क्लबमा काम गरेको व्यक्ति मात्र राजनीतिक दलको प्रतिनिधि हुन्छ, तर उसले कलेजभित्र राजनीतिक गतिविधि गर्न पाउँदैन। विद्यार्थी युनियनमा त केवल विद्यार्थीको हितसँग सम्बन्धित कुरामा मात्र जोड दिइन्छ। म ६ हजार अमेरिकी विद्यार्थीको नेता हुँ, यो नै ठूलो कुरा हो।

अमेरिकी कलेजमा विद्यार्थी युनियनको अध्यक्ष भएका नाताले नेपालमा राजनीति गर्न सजिलो हुन्छ होला नि, होइन ?
अमेरिकामा सधैं फेयर राजनीति गरिन्छ। यहाँ दाउ-पेच, गुन्डागर्दी वा बन्द-हड्तालजस्ता कुरा त कल्पनाभन्दा बाहिरको कुरा हो। जबकि ने पालमा ती सबै कला सिकिएन भने राजनीति गर्न सकिँदैन। तर 'तैंले अमेरिकी कलेजमा यति राम्रो काम गरिस्, नेपालमा पनि गर्' भनेर सबैले सपोर्ट गर्छन् भने यहाँ सिकेका कुरा नेपालमा लागू गर्न सक्छु भन्ने विश्वास छ। यहाँको काम गर्ने शैली पच्छ्याउने हो भने नेपालको राजनीतिलाई सफा गर्न सकिन्छ।

तपाईंले त्यस्तो के गर्नुभयो, जसले तपाईंलाई यति ठूलो कलेजको विद्यार्थी युनियनको अध्यक्ष बनायो ?
अमेरिकीहरू कुन मानिस कुन देशबाट आयो भन्ने कुरालाई महत्त्व दिँदैनन्, बरु उसले कति मेहनत गर्छ, उसका योजना कस्ता छन् भन्ने कुरालाई महत्त्व दिन्छन्। तीन वर्षअघि कलेज छिर्नेबित्तिकै म खेलकुदसँग सम्बन्धित क्लबहरूको सदस्य बनें। यहाँ विभिन्न विषयका ८० वटा क्लब रहेछन्। ती क्लबले आफ्नो उद्देश्यसँग सम्बन्धित गतिविधिका लागि कलेज युनियनबाट पैसा पाउँदा रहेछन्। यसले कलेजमा शिक्षा मात्र होइन, अन्य गतिविधिको पनि विकास हुँदो रहेछ। यद्यपि ती कलेजहरूबीच समन्वय रहेनछ। मैले सबै क्लबलाई प्रतिनिधित्व गर्ने एउटा सोलो बडी बनाउनुपर्छ भनेर विद्यार्थी युनियनसँग प्रस्ताव राख्दै त्यसको संस्थापक अध्यक्ष बनें। यसले एउटै उद्देश्य भएका दुई वा दुईभन्दा बढी क्लबलाई मर्ज गर्ने, एउटै उद्देश्य भएका व्यक्तिहरूलाई भिन्दै फोरम उपलब्ध गराउनेजस्ता काम गर्न थाल्यो। यसले ८० वटा क्लबका अध्यक्षसँग मेरो सोझै सम्पर्क गर्ने वातावरण बन्यो।

यति हुनेबित्तिकै अध्यक्षको दावेदारी गर्न सकिने अवस्था भयो र ? किनभने अमेरिकी विद्यार्थीहरूले तपाईंलाई सजिलै पद दिनु त गाह्रो थियो नि, होइन र ?
मैले गठन गरेको युनाइटेड क्लबले अन्य सबै क्लबको गतिविधिलाई ठूलो सहयोग गर्‍यो। रातदिन मेहनत गर्ने, सबैको कुरा सुन्ने र समस्या सामाधान गर्ने मेरो बानीका कारण उनीहरूले अर्को वर्षको कलेज निर्वाचनमा उपाध्यक्ष बन्नाउने प्रस्ताव गरे। पहिले त मलाई विश्वास नै लागेन, तर सबैको करले म निर्विरोध उपाध्यक्ष बनें। उपाध्यक्ष भएपछि विद्यार्थी युनियनको हातमा १० लाख अमेरिकी डलरको बजेट आएको थियो। त्यसलाई मैले ती ८० वटा क्लबलाई आवश्यकताअनुसार वितरण गर्ने नियम बनाएँ। अमेरिकामा आर्थिक संकट भएकाले विद्यार्थीका कतिपय सुविधामा कटौती भएका थिए, बचेको पैसा मैले ती संकटग्रस्त क्षेत्रमा लगानी गरें। यो नीतिका कारण कलेजका प्राध्यापकहरू पनि मेरो पक्षमा आए। त्यसपछि अध्यक्ष बन्ने वातावरण तयार हुँदै गयो।

अध्यक्षको प्रतिस्पर्धा कस्तो थियो ?
मेरो क्षमता देखेर अमेरिकीहरूले मलाई कलेजको साझा उम्मेदवार बनाए। पुराना अध्यक्ष नै मेरो उम्मेद्वारीको प्रस्तावक बने। राम्रो काम गर्दा जात, धर्म एवं देश हेर्नुहुँदैन भन्ने यो राम्रो उदाहरण थियो। किनभने ६ हजारमध्ये ४ सय मात्र विदेशी विद्यार्थी भएको उक्त कलेजमा विदेशी छात्रलाई सपोर्ट गर्नुले नै मेरो विजय सुनिश्चित भैसकेको थियो। यद्यपि एक जना भारतीय विद्यार्थीसँग मेरो प्रतिस्पर्धा भयो। उनलाई मैले १ हजार १८ मतले पराजित गरें।

विद्यार्थी युनियनको अध्यक्ष भएपछि अरूभन्दा नौलो काम के गर्नुभयो ?
गरिब विद्यार्थीका लागि २० लाख अमेरिकी डलरको छात्रवृत्ति कोष बनाउनुपर्छ भनेर मैले चन्दा संकलन प्रारम्भ गरें। क्याम्पस प्रशासनले तिमीले १० लाख चन्दा संकलन गर्‍यौ भने हामी १० लाख थपिदिन्छौं भनेर वचन दियो। यो हामीजस्ता गरिब मुलुकबाट उक्त कलेजमा पढ्न जानेहरूका लागि राम्रो अवसर हो। अध्यक्ष हुनेबित्तिकै मैले हाम्रो युनियनमा आउने १० लाख अमेरिकी डलरको बजेट बढाउन लबिङ गरे। नभन्दै त्यो बढेर आउँदैछ। अब यो बढेको बजेट अमेरिकी सरकारले आर्थिक मन्दीका कारण कटौती गरेका स्थानमा लगेर निराश विद्यार्थीहरू लाई सपार्ट गर्ने योजना छ। स्कुल छुट्टीका बेला विद्यार्थीहरूलाई सहरसम्म छाड्ने गाडी खरिद गरेका छौं। विद्यार्थी युनियनले विभिन्न कार्यक्रम गरेर ८० वटा क्लबलाई थप नजिक ल्याउने योजनाअनुसार काम भैरहेको छ। म विद्यार्थी युनियनका लागि साताको ३० घण्टा समय दिन्छु। अमेरिकाजस्तो व्यावसायिक देशमा निःशुल्क रूपमा यति धेरै समय दिएको देखेर क्याम्पस प्रशासन पनि छक्क पर्न थालेको छ।

अहिले तपाईंको हातमा लाखौं अमेरिकी डलर खर्च गर्ने अधिकार छ, केही रकम भ्रष्टाचार गरौं भन्ने लाग्दैन। किनभने हामी नेपाली त यसमा चतुर छौं नि ?
(लामो हाँसो) नेपालमा भएका भ्रष्टाचारका खबरले नेपालीले अमेरिकामा पनि भ्रष्टाचार गर्न सक्छ भन्ने पर्न सक्छ, तर यहाँ न त भ्रष्टाचार गर्ने कल्पना गरिन्छ, न त त्यो रकम पच्न नै सक्छ। यहाँ चेक एन्ड ब्यालेन्स यसरी मिलाइएको हुन्छ कि एक डलर पनि यताउता पार्न सक्नुहुन्न। कलेजका वरिष्ठ प्राध्यापक एवं फाइनान्सका कर्मचारी तथा निर्वाचित अन्य साथीहरूले एक-एक हिसाब गर्नुहुन्छ। नेपालमा जस्तो सबै मिलेर खाने वातावरण पनि हुँदैन। भनिहालें नि, भ्रष्टाचार त कल्पनाबाहिरको कुरा हो।

नेपालबाट पढ्न गएको विद्यार्थी यसरी राजनीति गरेर बस्दा आर्थिक वा अध्ययनको समस्या पर्दैन ?
मेरो मेहनत देखेर क्याम्पसले मलाई लगातार स्कुल फिमा ठूलो कटौती गरिदिएको छ। त्यसले मेरा लागि थोरै काम गर्दा पनि खर्च पुग्ने अवस्था सिर्जना गरेको छ। मलाई होस्टलको पनि लिडर बनाइएको छ। होस्टलको लिडर भएपछि मैले सित्तैंमा होस्टलमा बस्न र खान पाएको छु। खानलाई थोरै मात्र खर्च हुन्छ। बाँकी रहेको थोरै समयमा क्याम्पसभित्रकै विभिन्न प्रशासनिक काम गर्छु। मेरो अर्थशास्त्र, वित्त मुख्य विषय हुन् भने व्यवस्थापन सहायक विषय हो। यी तीनवटै विषयमा मेरो नम्बर सबैभन्दा बढी छ। यसले पनि कलेजले मलाई विशेष प्रोत्साहित गरिरहेको छ। मेरो काम मेहनत गर्ने मात्र हो, मेरो मेहनतकै कारण म सबैतिर अब्बल भएको छु।

तपाईंजस्तो विशेष योग्यता भएको व्यक्तिलाई अमेरिकी सरकारले ग्रीनकार्ड पक्कै देला। यस अर्थमा तपाईं नेपाल र्फकने सम्भावनाचाहिँ छैन, हो ?

हो, मलाई जसरी कलेजले हेल्प गरिरहेको छ, यसबाट अमेरिकामा म राम्रै गर्न सक्छु भन्ने लाग्छ। यद्यपि किन-किन मलाई अमेरिका बस्ने इच्छा छैन। मेरो नेपाल यति धेरै सम्भावना बोकेको छ, उसको पो सेवा गर्नुपर्छ। जस्तोसुकै अपरच्युनिटी आए पनि दुई-चार वर्षपछि मैले ने पाल र्फकने योजना बनाएको छु।

यो सब त भन्ने कुरा न हुन्, किनभने अमेरिकामा सिकेको सिस्टम नेपालमा लागू गर्न नसकेपछि कतिपय व्यक्ति फेरि अमेरिका नै फर्किएका धेरै उदाहरण छन्, तपाईं फर्किनुहुन्न भन्ने के ग्यारेन्टी छ र ?

होइन, हामीजस्ता युवाले नै हो नेपाल बनाउने। हामी नै निराश भयौं भने त हाम्रो देश बर्बाद हुन्छ। म अर्थशास्त्र, फाइनान्स र म्यानेजमेन्टको विद्यार्थी भएकाले नेपालमा धेरै कुरा गर्न सक्छु। विशेषगरी सेयर मार्केटमा लाग्ने योजना छ। म गरिब बालबालिकाका लागि विशेष खालको निःशुल्क विद्यालय खोल्न चाहन्छु। त्यसका लागि पनि पैसा कमाउनु आवश्यक छ।
साभार :- कांतिपुर साप्ताहिक

0 comments for "नेपालको राजनीति सफा गर्न सकिन्छ"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!