भाटभटेनीमा पनि अनलाइन सपिङ
Published on: Friday, June 24, 2011 //
अर्थ
काठमाडौं, असार १० (नागरिक) - घरै बसीबसी वा विदेशबाट समेत भाटभटेनी डिपार्टमेन्ट स्टोरमा किनमेल गर्न सकिने भएको छ। देशभित्र र विदेशबाट समेत भाटभटेनीमा रहेका सामान किनमेल गर्न सकिने गरी अनलाइन पोर्टल सुरु गरिएको छ।
भाटभटेनी अनलाइन (http://www.bhatbhatenionline.com) पोर्टलमा गएर त्यहाँ रहेका सामानहरु घरै बसेर किनमेल गर्न सकिने छ। 'यसको लागि पे-पेल र ई-सेवामार्फत क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिनेछ,' पोर्टलका प्रमुख कार्यकारी अधिकृत मनीष श्रेष्ठले भने।
उनका अनुसार नगदमा कारोबार हुने गरी ग्राहकले सामान भने किन्न सक्ने छैनन्। यो पोर्टलमा गएर नयाँ ग्राहकले एकपटक दर्ता भएर आफ्नो विवरण भर्नुपर्छ। सामान छनोट गरेर अर्डर गरेपछि कार्डमार्फत भुक्तानी हुने व्यवस्था गरिएको छ।
'विदेशमा रहेका नेपालीहरुले काठमाडौंमा रहेका आफ्ना परिवार र आफन्तलाई यो पोर्टलबाट अर्डर गरेर सामान किनिदिन सक्छन्,' श्रेष्ठले भने। पोर्टलबाट अर्डर गरेको सामान २४ घन्टाभित्र सम्बन्धित व्यक्तिको घरमा पुगिसक्नेछ।
यो सेवा लिँदा भाटभटेनी स्टोरले जुन मूल्यमा उपलब्ध गराउँछ त्यसमा थप सेवा शुल्क नलिई ग्राहकलाई दिइने जनाइएको छ। भाटभटेनीको मूल्य ट्याग जति छ त्यही मूल्यमा ग्राहकको घरसम्म सामान पुर्याइदिने नीति लिएको छ।
पाँच हजार रुपैयाँभन्दा बढी मूल्यको किनमेल गर्दा थप शुल्क नलिई सम्बन्धित व्यक्तिलाई सेवा दिइनेछ। पाँच हजारभन्दा कम मूल्यको किन्दा भने डेलिभरी चार्ज एक सय ५० रुपैयाँ लिइने उनले बताए।
पाँच हजार रुपैयाँभन्दा बढी मूल्यको किनमेल गर्दा थप शुल्क नलिई सम्बन्धित व्यक्तिलाई सेवा दिइनेछ। पाँच हजारभन्दा कम मूल्यको किन्दा भने डेलिभरी चार्ज एक सय ५० रुपैयाँ लिइने उनले बताए।
चार महिनादेखि परीक्षण सञ्चालन भइरहेको यो पोर्टललाई अब पूर्ण रुपमा व्यावसायिक गरिएको छ। यसले व्यस्त व्यक्तिहरुलाई सपिङको लागि जानुपर्ने समय वचत गर्नेछ।
अहिले नेपालमा सञ्चालित सपिङ अनलाइन पोर्टलहरुले डिपार्टमेन्ट स्टोरको मूल्यमा निश्चित सेवा शुल्कसमेत जोडेर डेलिभरी दिन्छन्।
अहिले नेपालमा सञ्चालित सपिङ अनलाइन पोर्टलहरुले डिपार्टमेन्ट स्टोरको मूल्यमा निश्चित सेवा शुल्कसमेत जोडेर डेलिभरी दिन्छन्।
साभार : नागरिक न्युज