Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

एउटै जग्गा राखेर नौवटा बैंकमा ठगी

Published on: Tuesday, June 28, 2011 //

मनोज अधिकारी, पोखरा, असार १५- एउटै जग्गा धितो राखेर पोखराका झन्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाबाट कम्तीमा ७ करोड रुपैयाँ ठगी भएको छ।
हेटौंडा नगरपालिका-११ घर भई पोखरा उपमहानगरपालिका-९ बस्ने सन्तोष पौडेलले नक्कली कागजातका आधारमा एउटै जमिन पटकपटक विभिन्न बैंक तथा वित्तीय संस्थामा धितो राखेर ठगी गरेका हुन्।

'पौडेलले एउटा बैंकमा धितो राखेको जग्गा नक्कली कागज पेस गरी मालपोतबाट फुकुवा गर्ने र त्यही जग्गा फेरि अर्कोमा धितो राखेर ऋण लिएको फेला परेको छ,' कास्कीका एसपी यादवराज खनालले भने।

उनले पोखराका ९ बैंक तथा वित्तीय संस्थाबाट कम्तीमा ७ करोड रुपैयाँ झिकिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। सबै घटना पुस ७ यता भएका हुन्। पौडेललाई प्रहरीले सोमबार पोखराबाट भाग्दै गर्दा लेखनाथको भण्डारढिकमा गाडी घेरा हालेर पक्राउ गरेको छ।

पौडेलले पोखरा उपमहानगरपालिका- २, ४, ६ र ९, लेखनाथ नगरपालिका-५ र रुपाकोट गाविसको १ नम्बर वडाका जग्गा धितो राख्दै नक्कली कागजातका आधारमा फुकुवा गराएको मालपोतले जनाएको छ।

स्रोतका अनुसार एभरेस्ट बैंकबाट ३५ लाख, मुक्तिनाथ विकास बैंकबाट ९३ लाख, बुटवल फाइनान्सबाट ८६ लाख, फेवा फाइनान्सबाट १ करोड ६९ लाख, गरिमा विकास बैंकबाट १० लाख रुपैयाँ झिकिएको छ।

'एउटै फाइनान्सबाट १ करोड ६९ लाख रुपैयाँसम्म रकम लिएको देखिएको छ,' अनुसन्धानमा संलग्न स्रोतले भन्यो, 'सबैभन्दा कम एउटा विकास बैंकबाट ८-१० लाख रुपैयाँ लिएको छ।'

पौडेलले मालपोत कार्यालयमा सधैंझैं सोमबार पनि बैंकको नक्कली कागजात देखाएर जग्गा अर्कै बैंकमा धितो राख्न खोज्दा शंका लागेपछि ठगीकाण्ड खुलेको हो।

'सोमबार तमसुक लेख्ने क्रममा कर्मचारीले शंका लागेर कागजात नक्कली हो कि क्या हो भनेर सोधेपछि उनी अर्कै कागज लिएर आउँछु भन्दै हिँडेका थिए,' मालपोत स्रोतले भन्यो, 'त्यसपछि निकै बेर आएनन्।'

मालपोत कर्मचारीले यसअघि ती व्यक्तिबाट भएका कारोबार केलाएर हेर्दा सबैमा किर्ते कागज प्रयोग भएको पाइएको थियो। त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेका थिए। पौडेललाई ठगी, आर्थिक अपचलन र किर्ते मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

जग्गा धितो राखेको थाहा हुँदाहुँदै सस्तोमा किनेर ठगीमा सहयोग पुर्‍याउने पोखराकै कमलमान गुभाजुलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनले लेखनाथको करिब २० रोपनी जग्गा बैंकको धितोमा रहेको थाहा पाएर पनि ३० लाख रुपैयाँमा किनेका थिए। उनी मोहरिया टोलका पुराना सुनचाँदी व्यवसायी हुन्।

मुक्तिनाथ विकास बैंकमा धितो रहेको लेखनाथको जग्गा गुभाजुले किनेर मालपोतबाट उनको नाममा पास भएपछि फेरि अर्काे बैंकमा राखेर रकम लिएको फेला परेको प्रहरीले जनाएको छ।

एउटै जग्गा पटकपटक धितोमा जाने र फेरि तुरुन्तै फुकुवा हुने घटनामा मालपोतका कर्मचारीको समेत मिलेमतो हुनसक्ने प्रहरीको शंका छ।

ठगिएका बैंकरले पनि मालपोतको मिलेमतोमा यस्तो काण्ड भएको आरोप लगाएका छन्। मालपोतले भने दुरुस्त देखिएका कागजात नक्कली भनेर छुट्याउन नसक्दा झुक्किएको दाबी गरेको छ।

मालपोत कर्मचारीका अनुसार पौडेल सधैं कार्यालय समय सकिनै लाग्दा ५ बजेतिर हतारहतार आउने गर्थे। सोमबार भने करिब १२ बजेतिर पुगेका थिए। उनीमार्फत् भएका सम्पूर्ण कारोबारको अभिलेख उतार्न बाँकी रहेकाले ठगीको पूर्ण विवरण आउने क्रममा छ।
पौडेलले केही वर्षअघि पोखरा आएर रातारात सम्पत्ति जोडेका थिए। उनले पोखरामै नेवार परिवारकी छोरीसँग विवाह गरेका छन्। उनका बाबुआमा र ससुराली पक्षले पौडेलबाट भएको बिगो तिर्न आफू तयार रहेको भन्दै घटना मिलाउन प्रयास थालेका छन्।

साभार : नागरिक न्युज

0 comments for "एउटै जग्गा राखेर नौवटा बैंकमा ठगी"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!