खोई जर्सीमा एकरुपता ?
Published on: Thursday, June 30, 2011 //
खेलकुद
अजय फुयाल, काठमाडौं, असार १७- नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वविख्यात खेलसामग्री उत्पादक एडिडासको जर्सी लगाउन थालेको केही वर्ष भइसकेको छ। घरेलु खेलमा रातो र अवे खेलमा नीलो सुरुआतदेखि नै नेपाली राष्ट्रिय टोलीको रंग हो। पछिल्लो समय जर्सीको ब्रान्डमा नेपालले फड्को मारे पनि एकरुपता भने अझै ल्याउन सकेको छैन। एउटा प्रतियोगितामा लगाएको जर्सी अर्कोमा नहुन सक्छ। प्रत्येकमा फरक जर्सी हुनु राष्ट्रिय फुटबल टोलीको बाध्यता हो।
एडिडासले नेपाली टोलीकै लागि भनेर खास जर्सी, ट्रयाकसुट, मोजा, बुट, ब्याग तथा अन्य खेलसामग्री उत्पादन तथा आयात नगर्ने गरेका कारण नेपालका शो-रुममा उपलब्ध सामग्री नै नेपालको राष्ट्रिय शान बन्ने गरेको छ। एडिडासका सीमित शो-रुममा उपलब्ध संख्या पुग्ने रातो र नीलो रंगका टि-सर्ट नेपालको जर्सी बन्ने गरेका छन् भने अन्य सामग्री पनि त्यहीअनुसार छान्नु फुटबल संघ पदाधिकारीको बाध्यता बनेको छ।
'हामीले राष्ट्रिय टोलीका लागि जर्सी बनाएकै छैन, खाली रंगमात्र छानेका हौँ। हामीकहाँ स्थानीय उत्पादकले स्तरीय उत्पादन गर्न सक्दैनन् र हामीलाई एडिडासको स्तर सन्तोषजनक लागेकाले त्यही ब्रान्ड लगाउने गरेका हौं,' एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, 'एडिडासलाई हाम्रै लागि विशेष डिजाइन गर्न लगाउँदा थेग्नै नसक्ने महँगो हुने भएकाले पनि यहाँ उपलब्धमध्येबाटै छान्ने गरेका हौं। नेपालमा जुन पायो त्यही लिनुपर्ने बाध्यताका कारण फरक प्रतियोगितामा एउटै जर्सी नहुन सक्छ, त्यो हाम्रो बाध्यता हो।'
राष्ट्रिय जर्सीमा एकरुपता नहुनु मात्र नेपाली टोलीको समस्या होइन। ब्रान्डमा समेत टोलीलाई एकरुपको सामग्री दिइएको छैन। विश्वकप छनोटको प्रारम्भिक चरणमा बुधबार टिमोर लिस्टेविरुद्ध मैदान उत्रँदा नेपाली टोली फरक ब्रान्डका सामग्री लगाएर रंगशालाको मैदानमा प्रवेश गर्यो। टोलीको जर्सी र ट्रयाकसुट एडिडासको थियो भने मोजा नेपाली ब्रान्ड एट्सको। यसैगरी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक रिबोकको गुलाबी रंगको टि-सर्टमा थिए। बुट भने खेलाडीको आआफ्नै रोजाइका थिए। तुलाधर खोजेजस्तो सामग्री बजारमा नपाएका कारण फरक ब्रान्डका सामग्री दिनुपरेको बताउँछन्। 'यसमा आर्थिक र अन्य विविध प्राविधिक पक्ष छन्,' उनको भनाइ छ।
राष्ट्रिय टोलीले लगाउने गरेको एडिडासका लागि नेपालको आधिकारिक बिक्रेता रुट्स फेसनका मार्केटिङ डाइरेक्टर राजीव श्रेष्ठ पनि तुलाधरको भनाइमा सहमत छन्। नेपालको बजार सानो भएकाले एकरुपको जर्सी सधैं उपलब्ध गराउन सक्ने अवस्था नभएको उनी बताउँछन्। 'राष्ट्रिय जर्सीमा एकरुपता आउनु राम्रो हो,' श्रेष्ठले भने, 'भविष्यमा त्यस्तो दिन पनि आउला।' नेपाली टोलीले विश्वकप २०१० को छनोटअन्तर्गत २००७ मा ओमानविरुद्ध प्लेअफ खेल्दादेखि निरन्तर एडिडासको जर्सी प्रयोग गर्दै आएको छ।
खासमा जर्सी कुनै पनि खेल टोलीको पहिचान हो, त्यसले सम्बन्धित देश वा क्लबसमेत परिचय बोकेको हुन्छ। त्यसैले कुनै पनि टोलीको जर्सीमा एकरुपता पहिलो सर्त हो।
जर्सीमै खेलाडी र समर्थक तथा देशले समेत शान अनुभूत गर्ने गर्छ। कारण यही हो, कुनै पनि देश वा क्लबले आफ्नो जर्सी हम्मेसी फेर्दैनन्। फेर्नुपरे पनि औपचारिक रुपमा भव्य रुपमा प्रचार प्रसार गरेर मात्र नयाँ रंग, स्वरुप वा ब्रान्डलाई स्वीकार्ने गर्छन्। ब्राजिलको राष्ट्रिय जर्सी पहेँलो र नीलो, इङ्ल्यान्डको रातो र सेतो, अर्जेन्टिनाको आकाशे र सेतो डोरे अनि नीलो, इटालीको नीलो रंग भएको वर्षौ बितिसक्यो। विश्वभरका समर्थकलाई त्यसको राम्रो हेक्का छ।
क्रिकेटको उर्वरभूमि भारतले सबै खेलमा आकाशे नीलो रंगलाई राष्ट्रिय रंग बनाइसकेको छ। यसैगरी पाकिस्तानले हरियो, श्रीलंकाले नीलो रंग अपनाएका छन्। यहाँसम्म भुटानले समेत जर्सी र अन्य खेल सामग्री प्रयोगमा धेरै सचेतता अपनाउने गरेको छ। नेपालले भने जर्सीको महत्व र सम्पूर्ण नेपालीले यसप्रति राख्ने भावनामा खासै ध्यान दिने गरेको छैन। रंगमा सँधै रातो र नीलो अपनाउनुबाहेक फुटबलको बागडोर सम्हालेको एन्फाले राष्ट्रिय टोलीको खेलसामग्रीलाई खासै महत्व दिएको छैन।
एन्फा प्रमुख कार्यकारी तुलाधर झारो टार्न खोजेको नभई बाध्यताका कारण यस्तो भएको बताउँछन्। 'हामीले सकेसम्म राष्ट्रिय टोलीलाई स्तरीय र एकरुपको सामग्री दिने प्रयास गरिरहेका छौं। तर हामीसँग निश्चित आर्थिक बाध्यता छन्, जसका कारण हामी आफैले चाहेअनुसार गर्न नसकिएको हो।'
साभार : नागरिक न्युज