कार्जाईका भाइको हत्या
Published on: Tuesday, July 12, 2011 //
बिश्वमा
काबुल -(एजेन्सी), अषाढ २९ - अफगानी राष्ट्रपति हमिद कार्जाईका सौतेनी भाइ अहमद वालीको उनकै अंग रक्षकले गोली हानी हत्या गरेका छन् । अफगानिस्तानको दक्षिणी क्षेत्रका प्रभावशाली नेता वालीलाई आफ्नै सुरक्षा प्रमुख सरदार मोहम्मदले गोली प्रहार गरेका हुन् । ५० वर्षीय वाली कान्दाहार प्रान्तीय परिषद् प्रमुख
थिए । सुरक्षा अधिकारीका अनुसार कागजात देखाउन भन्दै मोहम्मद कडा सुरक्षा व्यवस्था भएको वालीको घर मंगलबार बिहान पुगेका थिए । बाथरुमबाट निस्किनेबित्तिकै वालीको टाउको र छातीमा उनी गोली हानेका प्रहरीले जनाएको छ । मोहम्मद पनि वालीका अंगरक्षकबाट मारिएको सुरक्षा स्रोतले बताएको छ ।
अफगानी राष्ट्रपति कार्जाईले यो घटनाले आफगानी जनताको पीडा प्रतिविम्बित गरेको बताए । उनी भाइको अन्त्येष्टिमा सहभागी हुन कान्दाहार जाँदै छन् । उनले भने, 'सबै अफगानी घरले घटनाबाट पीडा महसुस गरेका छन् ।' वालीमाथि भ्रष्टाचार र लागूपदार्थ कारोबारको आरोप लाग्दै आए पनि राष्ट्रपति कार्जाईले बचाउ गर्दै आएका थिए । वाली आफैंले पनि आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । 'कान्दाहार नियन्त्रण गर्नेले पूरै अफगानिस्तान नियन्त्रण गर्न सक्छ,' भन्ने पुरानो अफगानी भनाइ छ । त्यसैले उनको यो क्षेत्रमा ठूलो प्रभाव थियो । समर्थकले पस्तुन अधिकार रक्षकको रूपमा मानेका थिए ।
वालीको शव नजिकैको अस्पताल लगिएको छ । उनी अमेरिका र नेटो गठबन्धन फौजका सच्चा सहयोगी थिए । त्यसैले विदेशी गठबन्धन फौज अधिकारीले उनीमाथिको आरोपको बेवास्ता गर्दै आएका थिए । 'अहमद वालीका आफ्नै खराब पक्ष थिए, तर कान्दाहारमा हामीले सँगै काम गर्न सक्ने व्यक्ति उनी थिए,' एक अमेरिकी अधिकारीले भने । नेटो फौजका अमेरिकी जनरल डेभिड पेट्राइसले उनको हत्याको भत्र्सना गरेका छन् । 'सुदृढ, थप सुरक्षित अफगानिस्तानका लागि राष्ट्रपति कार्जाई सक्रिय छन्, उनको आफ्नै परिवारको यो दुःखद् घटना निकै कठिन हो,' उनले भने ।
मोहम्मदले आक्रमण गनर्ुको कारण नखुले र तालिवानले यो आक्रमणको दाबी गर्दै १० वर्षे लडाइँमा यो ठूलो उपलब्धि भएको बताएको छ । कान्दाहारका राजनीतिकर्मी खालिद पस्तुनले भने तालिवान दाबीको शंका गरेका छन् । तालिवानविरुद्ध लडाइँ जितेको दाबी वालीले गर्दै आएका थिए । दाजुको सोचविपरीत उनी विदेश फौज आफैं चाहन्थे ।
यसअघि पनि वालीको पटकपटक हत्या प्रयास भएको थियो । पछिल्लो पटक २००९ मा उनी चढेको गाडीमा आक्रमण भएको थियो । त्यसको अघिल्लो वर्ष उनी रहेको सरकारी भवनमा बमसहित इन्धन टयांकर पड्काइएको थियो । तर उनी जोगिएका थिए ।