बेलायती सेनामा नेपाली युवाको उच्च आकर्षण
Published on: Monday, June 27, 2011 //
अर्थ
उच्च आम्दानीमार्फत आर्थिक सुरक्षा
“म मेरा प्यारा सैनिकहरूलाई संसारका कुनै सेनासँग लडाउन डर मान्दिन तर गोर्खा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ,” जर्मन सम्राट कैसर विलियमले प्रथम विश्व युद्धको समयमा माथिका उद्गार भनेपछि नेपालका गोर्खालीहरूको गौरवगाथा विश्वभर फैलियो । यद्यपि गोर्खालीहरू प्रथम विश्वयुद्ध अघिका ससाना लडाइँहरूमा आफ्नो बहादुरी देखाए पनि प्रथम विश्व युद्धपछि गोर्खालीहरू बहादुर हुन्छन् भन्ने पुष्टि भयो । अहिलेसम्म गोर्खालीहरूको त्यो साख निरन्तर रूपमा छ ।
नेपालीहरू वैदेशिक रोजगारमा कहिले गए र कुन देश पुगे भन्नेमा अझै पनि एकिन छैन, यस विषयमा विज्ञहरूले आफ्नै तर्क र तथ्यांक प्रस्तुत गरे पनि मतभिन्नता पाइन्छ । तर, पनि ब्रिटिसमा गोर्खाको प्रवेशसँगै वैदेशिक रोजगारमा नेपालीहरूको पहुँच पुगेको मानिन्छ । सन् १८१४ मा ब्रिटिस इस्ट–इन्डिया कम्पनीविरुद्ध गोर्खाहरूको युद्धपछि ब्रिटिसले गोर्खालाई मनपराउन थालेको हो । प्रथम विश्वयुद्ध सन् १९१४–१९१८ को अवधिमा २ लाख गोर्खाली ब्रिटिस सेनामा भर्ती भएर विश्व युद्धमा लडेका थिए भने दोस्रो विश्वयुद्ध १९३९–१९४५ मा झन्डै २ लाख ५० हजार गोर्खाली लडेका थिए । त्यस समयदेखि अहिलेसम्म ब्रिटिस सेनामा भर्ती हुन नेपाली युवाहरू सपना बुन्ने गर्छन् । बहादुर, पौरख र इमान्दारको पर्याय बनेका गोर्खालीहरूले गर्दा पनि नेपालको शिर उँचो हुँदै आएको छ । प्रथम र दोस्रो विश्व युद्धपछि १३ जना गोर्खालीले प्राप्त गरेको बेलायतको वीरतासम्बन्धी सर्वाेच्च पदक भिक्टोरिया क्रस र गत जेठमा ब्रिटिस सेनामा कार्यरत म्याग्दीका दिपप्रसाद पुनले प्राप्त गरेको दोस्रो उच्च पदक कन्स्पिस्युअस ग्यालन्ट्री क्रसले पनि ब्रिटिस सेनामा भर्ती हुन नेपालीहरूलाई थप आकर्षण हुने गरेको छ । गोर्खालीहरू अहिले बेलायतमा पहिलो र दोस्रो रोयल गोर्खा राइफल्स पल्टनको नाममा झन्डै ३५ सय कार्यरत छन् भने सिंगापुर पुलिस फोर्समा झन्डै १ हजार त्यसैगरी भारतीय सेनामा ६० हजारभन्दा बढी गोर्खालीहरू सेवारत छन् ।
आकर्षक तलब र पारिवारिक सुरक्षाका कारण ब्रिटिस सेनामा भर्ती हुन नेपाली युवाहरू लालयित हुन्छन् । भविष्यप्रति दीर्घकालीन सोच बनाउने र सम्पन्नता हुने आकांक्षाले एसएलसी पासदेखि उच्च शिक्षा पढ्दै गरेका १७ वर्षदेखि २१ वर्षसम्मका युवाहरू अहिले ब्रिटिस सेनामा भर्ती हुन रातदिन कडा परिश्रम गर्छन् । देशमा विभिन्न ठाउँमा खुलेका ३० भन्दा बढी संस्थाहरूले अहिले ब्रिटिस सेनामा भर्ती हुन चाहने युवाहरूका लागि तालिम प्रदान गरिरहेका छन् । ब्रिटिस सेनामा भर्ती हुने युवाहरूका लागि तालिम प्रदान गर्ने नेपालकै पहिलो तालिम केन्द्रको रूपमा सन् २००३ मा स्थापना भएको गोर्खा एएक्सएनले हालसम्म तालिमबाट २ सय जना युवा ब्रिटिस सेनामा, ७५ जना युवालाई सिंगापुर पुलिस र ७५ जना युवा फ्रान्स आर्मीमा छनोट गराउन सफल भइसकेको छ । गोर्खाली समुदायबाट प्रबद्र्धित गोर्खा एएक्सएन प्रालिका अध्यक्ष प्रकाश बि. थापा भन्छन्, “आफ्नो भविष्यप्रति चिन्तित युवाहरू भविष्य र आर्थिक दुवै सुरक्षाका लागि र व्यक्तिगत इच्छाले गर्दा नै ब्रिटिस सेनामा भर्ती हुन खोज्छन् ।”
केही वर्ष पहिला गल्लाहरूद्वारा गाउँघरमा नै पुगी युवाहरूको छाती नापेर बेलायतीलगायत अन्य सेनामा भर्ती लिने गरिन्थ्यो तर अहिले राजधानीमा मात्र ब्रिटिसबाट आएकै अधिकारीहरूले भर्ती हुन चाहनेको परीक्षा लिने गर्दछन् । युवाहरूमा तीव्र आकर्षण भएपछि तालिम प्रदान गर्ने संस्थाहरू पनि खुल्दै गएका छन् । राजधानीमा र बाहिर गरेर ३० भन्दा बढी तालिम प्रदान गर्ने संस्थाहरू खुलेका छन् । गोर्खा एएक्सएनसँगै बुल्स, स्लोट गोर्खा, गोर्खा भिजन, लिंकन, ब्राइट गोर्खालगायतले अहिले धमाधम युवाहरूलाई तालिम प्रदान गरिरहेका छन् । युवाहरू ३ महिनादेखि ६ महिनासम्म तालिम लिइरहेका छन् । जुन १ गतेदेखि ब्रिटिस सेनामा भर्ती हुनका लागि आवेदन खुल्ला भएपछि युवाहरू आफ्नो शारीरिक र शैक्षिक परीक्षाका लागि तयारीमा जुटिरहेका छन् ।
“ब्रिटिस सेनामा भर्ती हुन शारीरिक र बौद्धिक क्षमता दुवै हुनुपर्छ,” थापा भन्छन् । हामीले पहिला नै परीक्षण गरेर योग्य उम्मेदवार मात्र तालिममा समावेश गर्ने गरेका छौं । ब्रिटिस सेनामा भर्ती हुन उचाइ ५ फिट ३ इन्च र तौल ५० किलो हुनुपर्छ । प्रत्येक वर्ष नेपालका लागि ब्रिटिस सेनामा १ सय ७६ जना र सिंगापुर प्रहरीमा ४० जनाको माग हुने गरेकामा १६ हजारभन्दा बढी युवाहरूले आवेदन दिने गरेका छन् । यो संख्याले पनि युवाहरू ब्रिटिस सेनामा भर्ती हुन उच्च आकांक्षा राखेको पुष्टि हुन्छ । देशभरि युवाहरूको आकर्षण बढेपछि गोर्खा एएक्सएनले पोखरा, सुर्खेत, धरानमा पनि शाखा खोलेको छ । मानभवनमा प्रमुख कार्यालय रहेको एएक्सएनको उपत्यकाभित्र धुम्बाराही र देशबाहिर लन्डनमा पनि शाखा विस्तार गरेको छ ।
बेलायतीहरू गोर्खाली भनेपछि हुरुक्कै हुन्छन् । ब्रिटिस राजकुमार ह्यारी पनि गोर्खालीका प्रशंसक र शुभचिन्तक हुन उनी बेला–बेला गोर्खासँग सँगै तालिम र युद्धमा पनि जाने गर्छन् । गोर्खालीप्रति ब्रिटिसको धेरै सकारात्मक सोचाइ छ, ब्रिटिस सेनाका पूर्वसैनिक क्याप्टेन मानबहादुर बूढा भन्छन् । गोर्खालीको विश्वसनीयता, इमान्दारिता, बहादुरीकै कारण ब्रिटिसले गोर्खालीलाई सेनामा भर्ती लिने गर्छ । ठूलो देश (सम्पन्न) सँग आबद्ध भएर काम गर्दा राम्रो हुन्छ । काम गर्दा इज्जत पनि हुन्छ बूढाले आफ्नो अनुभव बताए । सेवा सुविधा बढी हुने र आर्थिक सम्पन्नतातर्फ उन्मुख हुनका लागि पनि युवाहरू अहिले यसमा लगाव बढाएका छन् । ब्रिटिस सेनामा भर्ती हुने बित्तिकै १ लाख ५० हजार र त्यसपछि ३ लाखसम्म तलब हुन्छ । “पद बढ्दै गएपछि र बहादुरीपूर्वक काम ग¥यो भने त्यसभन्दा माथि पनि हुन्छ,” बूढा भन्छन् ।
भर्ती भएर ब्रिटिस सेनामा कार्यरत नेपाली युवाहरूको जीवनस्तरमा राम्रो परिवर्तन पनि आएको छ । २००७ मा भर्ती भएका काठमाडौं बौद्धका सनम तामाङको आर्थिकस्तर राम्रो छ । न्यून आय भएका तामाङले कारोबारसँगको कुराकानीमा बेलायती सेनामा भर्ती भएपछि आर्थिकस्तरमा सुधार आएको बताए । गोर्खा एएक्सएनमार्फत तालिम लिएर भर्ती भएका तामाङ एकदमै प्रशन्न छन् ।
गोर्खा एएक्सएनमा अहिले तालिम लिइरहेका युवाहरूमध्ये विजन गुरुङ र रोशन तामाङको पनि ब्रिटिस सेनामा भर्ती हुने सपना छ । चाबहिल बस्ने १९ वर्षीय विजन गुरुङ भन्छन्, “आर्थिक रूपमा पारिवारिक सुरक्षा हुने हुँदा आफू भर्ती हुन खोजेको हो । गोर्खा एएक्सएनमा सीमित सिटमा मात्र भर्ना लिने र प्रशिक्षक पनि अनुभवी भएकाले आफू यसमा तालिम लिएको उनले बताए । त्यस्तै सामाखुसी कपुरधारा बस्ने तामाङले सानैदेखि बेलायती सेनामा भर्ती हुने इच्छाले अहिले आफूले तालिम लिइरहेको बताए ।
देशमा रोजगारीको सिर्जना नहुनु, दक्ष जनशक्तिले पनि काम नपाउनुले युवाहरू बिदेसिने क्रम बढ्दै गइरहेको समयमा शैक्षिक बेरोजगारहरू पनि बेलायती सेनामा भर्ती हुन लालयित हुन्छन् ।
साभार : कारोबार