Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नानोको नेपालमा बिक्री सुरु

Published on: Monday, June 27, 2011 //


काठमाडौ, अषाढ १३ - दुई वर्षभन्दा बढी प्रतीक्षा गरेका नेपालीले अब संसारकै सस्तो नानो कार किन्न पाउने भएका छन् । नेपालका लागि यसको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबारदेखि कारको बुकिङ खुला गरेको छ ।

राजधानीमा एक कार्यक्रम आयोजना गरी नेपालमा आधिकारिक रूपमा भित्रिएको नानोको आगामी १० दिनसम्म बुकिङ खुला रहने ट्रेडिङका अध्यक्ष सिद्धार्थशमशेर राणाले बताए । 'अबको १० दिनसम्म देशभरका १४ वटा सोरुममा बुक गर्न सकिन्छ,' उनले भने ।

नेपाल आइपुग्दा भन्सारमा लाग्ने विभिन्न शुल्कका कारण भारतीयभन्दा यहाँका ग्राहकले धेरै रकम खर्चिनुपर्ने भएको छ । नानाको सबैभन्दा कम सुविधा भएको स्ट्यान्डर्ड नानो कारको मूल्य नेपाली बजारमा ७ लाख ९८ हजार रुपैयाँ तोकिएको छ । यसैगरी सेमी अप्सन नानो सिएक्सको ९ लाख ९८ हजार र फुल अप्सन नानो एलएक्सको मूल्य ११ लाख ७८ हजार रुपैयाँ तोकिएको छ । 'विभिन्न शुल्कका कारण यहाँ बढी मूल्य परेको हो,' टाटा मोटर्सका वैदेशिक व्यापार प्रमुख जोनी ओम्मनले भने, 'तर पनि नानोले यहाँका ग्राहकलाई सन्तुष्टि दिने छ ।'

सन् २००८ देखि भारतीय बजारमा आएको नानोका ९० प्रतिशत ग्राहक सन्तुष्ट रहेको दाबी ओम्मनको छ । नानो स्ट्यान्डर्ड बुकिङ गर्न १० हजार, नानो सिएक्सका लागि २० हजार र एलएक्सका लागि ३० हजार बुझाउनुपर्ने सिप्रदीले जनाएको छ । 'अहिले बुकिङ भएका गाडी जुलाई अन्त्यसम्म ग्राहकले पाइसक्ने छन्,' ओम्मनले भने । कार किन्न फाइनान्सको सुविधा लागि विभिन्न १० बैंकसँग सहकार्यको भइरहेको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले जानकारी दिए । नानो स्ट्यान्डर्डका लागि मासिक किस्ता ११ हजार १ सय ११ पर्ने दाहालले बताए । सुरुमा भुक्तान गर्ने रकम र भुक्तानी अवधिले यो रकम तलमाथि हुन सक्ने पनि कम्पनीले जनाएको छ ।

नेपालमा औपचारिक प्रवेश गराउनुपूर्व टाटाले नानो यात्रा नाम दिएर दुई कारलाई देशका विभिन्न भागमा घुमाएको थियो । कम्पनीका अनुसार हालसम्म ६ हजार किलोमिटर नेपालको यात्रा गरिसकेको छ । अध्यक्ष राणाका अनुसार नानोले नेपालको ४० हजार किलोमिटर यात्रा गर्नेछ ।

नेपालमा र संसारका अन्य कठिन भूभागमा पनि गुडिसकेकाले कार सुरक्ष्ाित र बढी माइलेज दिने दाबी ओम्मनको छ । 'संसारकै कठिन सडकमा पनि गुडिसकेकाले ढुक्क हुन सकिन्छ,' उनले भने, 'हामीले ४ वर्ष अथवा ९० हजार किलोमिटरसम्मको वारेन्टी पनि दिएका छौं, यति धेरै वारेन्ट हामी कारप्रति विश्वस्त भएर नै दिएका हौं ।' ६ सय २४ सिसीको नानो कारले प्रतिलिटर २३ किलोमिटर माइलेज दिने पनि ओम्मनले जानकारी

दिए । बाहिरबाट अन्य कारभन्दा सानो देखिए पनि भित्र २१ प्रतिशत बढी ठाउँ भएको उनले बताए । जमिनबाट १ दशमलव ८३ मिमिमाथि भएकाले कच्ची सडकका लागि पनि उपयुक्त हुने दाबी ओम्मनको छ । '४ मिटर वृत्तमा घुम्न सक्ने यस कारको अत्यधिक गति १ सय ५ किलोमिटर छ,' उनले भने । यसका नेपालमा ९ वटा सर्भिस सेन्टर रहेको जनाइएको छ । सिप्रदीले ४० वर्षदेखि नेपालमा टाटा गाडी बेच्दै आएको छ ।
साभार - इ. कान्तिपुर

0 comments for "नानोको नेपालमा बिक्री सुरु"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!