एनसेलको मोबाइल सेवा लिने ग्राहक ६० लाख नाघे
Published on: Sunday, September 25, 2011 //
विज्ञान प्रविधि
काठमाडौं , आश्विन ९,
एनसेलको मोबाइल सेवा लिने ग्राहकको संख्या ६० लाख नाघेको छ । गत वैशाखदेखि नेपाल टेलिकमलाई जिएसएम मोबाइल प्रयोगकर्ता संख्याको आधारमा उछिनेको एन सेलका ग्राहक प्रतिमहिना २ लाखका दरले बढिरहेको कम्पनीले जनाएको छ । वैशाखमा एनसेलको सेवा लिनेको संख्या ५० लाख थियो । 'छोटो समयमा थप १० लाख ग्राहक थप्न पाएकामा हामी धेरै खुसी छौं,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्तिनेनले भने । यो सँगै एनसेल र नेपाल टेलिकमका ग्राहक प्रयोगकर्ताको अन्तर पनि बढिरहेको छ । गत असार महिनासम्ममा एनसेलका ग्राहक संख्या ५६ लाख पुगेका थिए । त्यस बेला टेलिकमका जिएसएम मोबाइल ग्राहक संख्या ५१ लाख थिए ।
कम्पनीले २०६६ फागुनदेखि एनसेल नामकरण गरी रिब्रान्डिङ सुरु गरेपछि यसको ग्राहक संख्यामा उच्च वृद्धि भएको हो । मेरो मोबाइलबाट एनसेल बन्दा ग्राहक संख्या १८ लाख थिए । छोटो अवधिमा उल्लेख्य ग्राहक थपिनुको कारण आक्रामक बजार विस्तार, विभिन्न किसिमका नयाँ सेवा र गुणस्तरमा केही चनाखो भएको कम्पनीले जनाएको छ । 'हामी ग्राहकलाई अझ उत्कृष्ट नेटवर्कमा कुराकानी गराउनुका साथै रोचक सेवा प्रदान गर्न सधैं प्रयत्नशील छौं,' पासीले भने, 'विद्युत् आपूर्ति नभएको समयमा पनि सेवा निरन्तर कायम गर्न गि्रन साइटअन्तर्गत सोलार टावरको विस्तारलाई निरन्तरता दिइरहेका छौं ।'
कम्पनीकी कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले ७० भन्दा धेरै जिल्लामा कम्पनीले सेवा दिइरहेको बताइन् । यस्तै झन्डै ८० प्रतिशत जनताको पहुँचमा आफ्नो सेवा पुगिसकेको र छिट्टै दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गर्ने योजना उनले सार्वजनिक गरिन् । एनसेलले ६० लाखमध्येका अन्तिम ग्राहकलाई मोटरसाइकल उपहार दिएको छ । यसका भाग्यमानी विजेत सुमन श्रेष्ठ रहेको कम्पनीले जनाएको छ । - कान्तिपुर