कम्प्युटर प्रयोगमा बंगलादेशभन्दा नेपाल अगाडि
Published on: Wednesday, September 28, 2011 //
विज्ञान प्रविधि
काठमाडौं, इन्टरनेट र टेलिफोनको पहुँच एवं कम्प्युटर उपलब्धताको सूचकांकमा नेपालले दक्षिण एसियाली क्षेत्रको बंगलादेशलाई पछि पारेको छ। सन् २००० देखि २०१० को अवधिमा नेपालले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य विकास गरेको मानिएको छ। तर अन्तर्राष्ट्रिय सूचकांकमा भने नेपाल सार्कका अन्य ६ देशभन्दा अझै पछि छ। फिक्स टेलिफोन, मोबाइल र इन्टरनेटका उपभोक्ताको हिसाबमा बंगलादेश अघि भए पनि उपलब्धतामा भने नेपाल अघि छ। नेपालमा कम्प्युटर प्रयोगकर्ता बंगलादेशमा भन्दा बढी छन्। नेपालमा घरमा कम्प्युटर हुनेको संख्या चार प्रतिशत नाघेको छ। जबकी बंगलादेशमा यो संख्या ३ प्रतिशतमात्र छ।
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु) ले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल बंगलादेशभन्दा तीन स्थान माथि छ। नेपालमा १० वर्षमा मोबाइल फोनका ग्राहक १० हजार दुई सयबाट बढेर ९१ लाख ९५ हजार पुगेका छन्। इन्टरनेटका प्रयोगकर्ता प्रति एक सयमा दुईबाट सातजना पुगेका छन्। सार्क क्षेत्रका श्रीलंका, भारत, भूटानले आफ्नो देशमा सूचना प्रविधिको क्षेत्रमा सुधार गरेर दुई वर्ष अघिको भन्दा स्थान माथि पार्न सफल भएका छन्। तर माल्दिभ्स र पाकिस्तानको स्थान भने २००८ को तुलनामा अझै तल झरेको छ। बंगलादेशको स्थान दुई वर्षअघि १३५ औं रहेकोमा अहिले १३७ मा झरेको छ।
सार्क मुलुकमध्ये सूचना प्रविधिमा सबैभन्दा तीव्र विकास माल्दिभ्सले गरेको छ। माल्दिभ्स ७६ औं स्थानमा छ। यो देशमा प्रति एक सय जना बराबर १५६ मोबाइल र ५४ प्रतिशत घरमा कम्प्युटर छ। आइटियूले ब्रोडब्यान्ड, आधारभूत टेलिफोन र मोबाइल टेलिफोन (टुजी र थ्रीजी) लाई आधार लिएर गरेको अध्ययनअनुसार नेपाल १३४ औं स्थानमा छ। नेपाल दुई वर्षअघिको तुलनामा भने तीन स्थानमाथि उक्लेको छ। क्यानडा, आयरल्यान्ड, इस्टोनिया, लक्जमबर्ग, सिंगापुर जस्ता मुलुकहरुको सूचकंाक भने दुई वर्षमा घटेको छ। विकसित देशका सूचिमा रहेका ती मुलुकहरुमा टेलिफोन र इन्टरनेटको वृद्धिदर दुई वर्षमा स्थिर छन्। त्यसले गर्दा अरु देशहरुले उछिनेको रिपोर्टले जनाएको छ।
मोबाइल टेलिफोनको विस्तारले नेपालमा ल्यान्डलाइन फोनको वृद्धिदर विगत दुई वर्षमा स्थिर रहेको आइटियुले जनाएको छ। नेपालमा प्रति एक सय जनामा झन्डै तीन लाइन ल्यान्डलाइन फोन मात्र छन्। तर मोबाइल फोनका उपभोक्ता भने दुई वर्षमा दोब्बरले बढेका छन्। २००८ मा प्रति एकसयमा १५ जनासँग मोबाइल फोन थियो। २०१० मा आइपुग्दा एक सयमा ३१ जनासँग मोबाइल फोन छ। २०११ को जुनमा आइपुग्दा एकसय जनामा ४० जनासँग मोबाइल टेलिफोन पुगेको दूरसञ्चार प्राधिकरणले जनाएको छ। ताजा विवरणअनुसार नेपालमा जिएसएम र सिडिएमए मोबाइल १ करोड १६ लाख वितरण भएको छ।
रिपोर्ट अनुसार दुई वर्षअघिको भन्दा इन्टरनेटको ब्यान्डविथसमेत नेपालमा बढेको छ। दुई वर्ष अघि प्रति ग्राहकको भागमा ३३४ बिट प्रतिसेकेन्ड रहेकोमा अहिले १९६९ बिट प्रतिसेकेन्ड पुगेको छ। प्रति ग्राहक सबैभन्दा बढी व्याण्डविथ हंगकंगमा छ। हंगकंगमा एकजनाको भागमा ६८३ केबिपिएस पर्छ। सूचना प्रविधिको क्षेत्रमा संसारमा सबैभन्दा अग्रणी देशको स्थान यसपटक पनि दक्षिण कोरियाले आफैसँग राख्न सफल भएको छ। कोरियामा एकसय जना बराबर ६० ल्याण्डलाइन, १०५ मोबाइल, १२ हजार बिट प्रतिसेकेन्डको ब्यान्डविथ, ८२ प्रतिशत घरमा कम्प्युटर र ९७ प्रतिशत घरमा इन्टरनेटको सुविधा छ।
छिमेकी देश भारतमा एकसयमा ६१ जनासँग मोबाइल छ। एकसय जनामध्ये भूटानमा ५४, पाकिस्तानमा ५९, श्रीलंकामा ८३ जनासँग मोबाइल सेवाको पहुँच रहेको आइटियुले जनाएको छ। एक एमबिपिएसको इन्टरनेट ब्यान्डविथलाई नागरिकको कानुनी अधिकारको रुपमा लिएको फिनल्यान्डमा एकसय जनामा १५६ मोबाइल छ। यसको अर्थ हरेक तीनजनामा दुईजनासँग दुईवटा मोबाइल फिनल्यान्डमा छ। फिनल्याण्डका ८२ प्रतिशत घरमा कम्प्युटर छ भने ८० प्रतिशत घरमा इन्टरनेट जोडिएको छ।
फिनल्यान्डले देशभित्रका इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुले २०१२ भित्र हरेक उपभोक्तालाई २ एमबिपिएस र २०१५भित्र हरेक घरमा कम्तीमा एक सय एमबिपिएस ब्यान्डविथ सेवा दिनै पर्ने गरी कानुन बनाएको छ। आइटियुका अनुसार २०१० मा विश्वको ९० प्रतिशत जनसंख्यामा मोबाइलको पहुँच पुगिसकेको छ। २०१५ भित्र दुर्गम स्थानमा समेत मोबाइलको पहुँच पुर्याएर शतप्रतिशत जनसंख्यामा पुग्ने घोषणा आइटियुले गरेको छ। इन्टरनेटको प्रयोगकर्ता बितेको पाँच वर्षमा दोब्बरले बढेको समेत आइटियुको प्रतिवेदनमा उल्लेख छ। अहिले १६ प्रतिशत घरमा इन्टरनेट सुविधा छ। विकसित देशमा भने ६६ प्रतिशतमा यो सुविधा पुगेको छ।
प्रतिवेदनमा उल्लेख छ,-'बितेको १० वर्षमा ब्यान्डविथको खपत १० गुणाले बढेको छ, दुई वर्षमा मात्र २९ हजार जिबीबाट बढेर ५९ हजार जिबीमा पुगेको छ।' विकासशील मुलुकको दाँजोमा विकसित देशहरुमा ब्यान्डविथको वृद्धिदर भने कम छ। विकसित देशहरुमा २००५ को तुलनामा २०१० मा ब्यान्डविथको वृद्धिदर ११ देखि २० प्रतिशत मात्र छ।
सूचना प्रविधिमा रहेको विभेदलाई अन्त्य गर्न आइटियुले ताररहित ब्रोडब्यान्ड विस्तारमा आक्रामक रुपमा विस्तार गर्नुपर्ने सुझाव दिएको छ। मोबाइल ब्रोडब्यान्ड विस्तारको लागि ७०० देखि ८०० मेगाहर्ज फ्रिक्वेन्सी खाली गरेर ब्रोडब्यान्डलाई उपलब्ध गराउन विश्वभरिका सरकार र नियामकको ध्यानाकर्षण गरेको छ।
नेपालमा मोबाइलका ग्राहक
सन् २००० - १०२२६
सन् २००१ - १७२८६
सन् २००२ - २१८८१
सन् २००३ - ८१८६७
सन् २००४ - १,१६,७७८
सन् २००५ - २,२७,३१६
सन् २००६ - ११,५७,१०२
सन् २००७ - ३२,६८,८९५
सन् २००८ - ४२,००,०००
सन् २००९ - ५५,९७,८८०
सन् २०१० - ९१,९५,५६२
सार्क क्षेत्रको अवस्था
माल्दिभ्स १५.२/ १५६.५/ ५४.४/ २२.९
श्रीलंका १७.२/ ८३.२/ १२.३/ ५.९
भारत २.९/ ६१.४/ ६.१/ ४.२
भूटान ३.६/ ५४.३/ ३.१/ २.६
पाकिस्तान २.०/ ५९.२/ १३.०/ ८.०
नेपाल २.८/ ३०.७/ ४.२/ १.२
बंगलादेश ०.६/ ४६.२/ ३.१/ २.६
(प्रति एकसय जनामा)
(नागरिकन्यूज बाट)