चार खेलाडी शीर्ष स्थानमा
Published on: Tuesday, August 30, 2011 //
खेलकुद
काठमाडौ, भाद्र १४ - दाजुभाइ राजेन्द्रप्रसाद र सुजेन्द्रप्रसाद श्रेष्ठसहित चार खेलाडी शत प्रतिशत नतिजा निकाल्दै मंगलबार इन्द्रचोक क्लब खुला फिडेरेटिङ चेसको शीर्ष स्थानमा रहेका छन् । प्रतियोगिताको तीन राउन्ड समाप्तिसँगै उनीहरूसहित राजन पुरी र रिजेन्द्र राजभण्डारीको समान तीन अंक रहेको छ । अब चौथो चरणको शीर्ष बोर्डमा सुजेन्द्र र रिजेन्द्र तथा राजन र रिजेन्द्र भिड्ने छन् । इन्द्रचोक क्लबद्वारा आयोजित प्रतियोगिताको तेस्रो चरणमा सुजेन्द्रले लवकुमार श्रेष्ठ तथा दोस्रोमा प्रकाशचन्द्र लामालाई हराएका थिए । राजेन्द्रले तेस्रोमा दीर्घराज जोशी तथा दोस्रोमा लक्ष्मणकुमार रेग्मीलाई पन्छाए ।
शीर्षस्थानमा रहेका राजनले भने तेस्रोमा कृष्ण थापालाई हराए । उनले यसअघि मोहनसिंह प्रधानलाई पराजित गरेका थिए । रिजेन्द्रले भने तेस्रोमा मनोज विक तथा दोस्रोमा सुदीप बज्राचार्यलाई हराए । पहिलो दिन मनोजले गणेशमान दुवाल तथा सुदीपले नीरज निरौलामाथि अप्रत्याशित जित हात पारेका थिए । दोस्रो चरणमा उमेश सैंजूबाट वाकओभर पाउँदै अंक हासिल गरेका नेपाल च्याम्पियन बद्रीलाल नेपाली तेस्रोमा प्रेमकृष्ण महर्जनसँग बराबरीमा रोकिँदै २.५ अंकसहित दोस्रो स्थानमा रहे । दोस्रो स्थानमा उनीसहित संयुक्त रूपमा रहनेमा विकास कुलुजू, मनीष हमाल, मदनकृष्ण कायस्थ, नवीन तण्डुकार, पुरुषोत्तम चौलागाई, श्यामसुन्दर श्रेष्ठ र प्रेमकृष्ण महर्जन रहेका छन् ।
तेस्रोमा बद्रीसँग बराबरी खेलेका प्रेमले दोस्रोमा कृष्ण महर्जनलाई हराएका थिए । मदनकृष्णले तेस्रोमा श्यामसुन्दर श्रेष्ठसँग बराबरी गरे पनि दोस्रोमा विजय डंगोललाई पन्छाएका थिए । श्यामसुन्दरले दोस्रोमा बलराम सन्जेलमाथि जित दर्ता गरे । विकास र नवीनले तेस्रोमा बराबरी खेले भने दोस्रो चरणमा विकासले जगतबहादुर थापा तथा नवीनले ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई पन्छाएका थिए । मनीष र पुरुषोत्तमले तेस्रोचरणमा एक आपसमा अंक बाँडे । यसअघि मनीषले सुरज पण्डित तथा पुरुषोत्तमले लेखबहादुरलाई हराए ।
पहिलो दिनको खेलमा उपस्थित हुन नसकेका सुरवीर लामाले दुवै चरणमा सफलता हात पारे । नीरजले भने मिश्रति नतिजा निकाले । कान्तिपुर