अब टिभीबाटै इन्टरनेट
Published on: Monday, August 15, 2011 //
विज्ञान प्रविधि
काठमाडौं, साउन २९ - अब नेपालीले पनि टेलिभिजनमै कम्प्युटरमा जस्तै गरी इन्टरनेट चलाउन सक्ने भएका छन्। सोनी कम्पनीले बजारमा ल्याएका इन्टरनेट टिभी नेपाल भित्रिएकाले ग्राहकले यस्तो सुविधा पाउने भएका हुन्। सोनीको आधिकारिक बिक्रेता नेपाहिमा ट्रेडलिंकले नेपाली बजारमा १२ थरी थ्रीडी इन्टरनेट टेलिभिजन ल्याएको हो।
नयाँ पुस्ताका इन्टरनेट टेलिभिजनमा आधुनिक सुविधाहरु ग्राहकले सजिलै उपयोग गर्न सक्नेछन्। यी टेलिभिजनमा ग्राहकले युटुब, स्काइप, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालसमेत चलाउन सक्नेछन्। यस्ता सामाजिक सञ्जालमार्फत हेरिने भिडियोको गुणस्तर पनि उच्च हुने कम्पनीले जनाएको छ।
यी टिभीमा दर्शकले डायलअप वा एडिएसएलको तार जोडेर इन्टरनेट चलाउन सक्छन्। वाइफाई र ब्लुटुथको सुविधा भएकाले यी प्रविधिमार्फत पनि इन्टरनेट टिभीमा जोड्न सकिन्छ। ब्लुटुथयुक्त सोनी कम्पनीको ल्यापटप भएका ग्राहकले यसै मार्फत टिभीमा इन्टरनेट जोड्न सक्छन्।
सामाजिक सञ्चालनबाहेक इमले चेक गर्न र समाचार हेर्न, पढ्न र सुन्न पनि यो टिभी उपयुक्त हुनेछ। राजधानीमा शुक्रबार इन्टरनेट टेलिभिजनको बिक्री सुुरु गर्दै सोनी दक्षिण पूर्वी एसियाका उत्पादन प्रबन्धक मिक लिमले नेपालमा इन्टरनेट प्रयोगकर्ता बढिरहेकाले यस्ता टिभी बजारमा ल्याएको बताए।
'ग्राहकले नयाँ प्रविधिमा आधारित सुविधालाई उपभोग गरुन् भनेर हामीले इन्टरनेट टिभीको बिक्री सुरु गरेका हौं,' उनले भने। यो मोडलले सोनीको बजार बढाउन यसले सहयोग गर्ने उनले विश्वास गरेका छन्।
नयाँ थ्रीडी इन्टरनेट टिभीमा वाइफाई, इन्टरनेट भिडियो, स्काइप रेडी, मिडिया रिमोट, रिमोट किबोर्ड, लिड ब्याकलाइटजस्ता सुविधा छन्। ग्राहकले यो टिभीलाई रिमोट कन्ट्रोल र मोबाइल फोन दुवैबाट चलाउन सक्नेछन्। मोबाइल फोनबाट चलाउन भने ग्राहकले एन्ड्रोइड वा एप्पलको टिभी चलाउन मिल्ने सफ्टवेयर डाउनलोड गर्नुपर्ने हुन्छ।
कम्पनीले एचएक्सदेखि इएक्स र एनएक्सदेखि सिएक्स सिरिजका इन्टनरेट टिभी बजारमा ल्याएको छ। यी टिभीमा विभिन्न च्यानल हेर्दै ग्राहकले इन्टरनेट चलाउन पनि सक्नेछन्।
नेपाली बजारमा ३२ देखि ५५ इन्चसम्मका यस्ता टिभी उपलब्ध छन्। यी टिभीको न्यूनतम मूल्य ६५ हजारदेखि ८ लाखसम्म पर्छ। कम्पनीले ग्राहकको चाहनालाई ध्यानमा राखेर ६५ इन्चको यस्तो टिभी पनि उपलब्ध गराउन सक्ने जनाएको छ।
इन्टरनेट टिभीसँगै कम्पनीले एलसिडी, थ्रीडी एलइडी टिभी र थ्रीडी गेमिङ डिभाइस पनि बिक्री गरिरहेको छ। कम्पनीले अहिले २२ देखि ६५ इन्चसम्मका एलसिडी टिभीहरु ३६ हजार देखि ८ लाखसम्म मूल्यमा बिक्री गरिरहेको छ। थ्रीडी एलइडी टिभी भने ३२ देखि ४६ इन्चका बिक्री गरिरहेको छ। यी टिभीको मूल्य ६८ हजार रुपैयाँभन्दा माथी रहेको छ। शुक्रबार नेपाहिमाले नयाँ १२ वटा इन्टरनेट टिभी, १२ वटा एलसिडी टिभी र ८ वटा थ्रीडी टिभीको औपचारिक बिक्री सुरु गरेको हो। कम्पनीका बिक्री महाप्रबन्धक बिनिल आर बज्राचार्यले नयाँ मोडेल र सुविधाका टेलिभिजनले सोनीका ग्राहक बढाउने बताए। 'यसले नयाँ नयाँ प्रविधिको सुविधा उपयोग गर्न चाहने ग्राहकलाई फाइदा पुग्नेछ,' उनले भने। - नागरिक