Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नेपाल लाइ साढे ५ अर्ब सहयोग चिनियाँ ले थपियो I

Published on: Saturday, January 14, 2012 // ,

काठमाडौ, माघ १,

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणका क्रममा नेपालले थप साढे ५ अर्ब रुपैयाँ सहयोग पाउने भएको छ । नयाँ सहयोग स्वरूप चीनले १ अर्ब ६८ करोड रुपैयाँ शान्ति प्रक्रियालाई सघाउन दिएको छ भने आगामी तीन वर्षका लागि थप ३ अर्ब ९० करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएको छ ।

थपिएको यो रकमसँगै आगामी तीन वर्षमा नियमित सहायताअन्तर्गत ७५ करोड युआन (करिब ९ अर्ब ७५ करोड रुपैयाँ) दिने चिनियाँ प्रधानमन्त्री वेनले प्रतिबद्धता जनाए पनि यसबारे सम्झौतामा हस्ताक्षर भएको छैन । 'तीन वर्षका लागि करिब ९ अर्ब ७५ करोड रुपैयाँ र शान्ति प्रक्रियाका लागि २ करोड डलर दिइनेछ भनेर चिनियाँ प्रधानमन्त्रीले भन्नुभयो,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'तर यसबारे औपचारिक हस्ताक्षर भएको छैन ।'

प्रधानमन्त्री वेनले तीन वर्षका लागि ९ अर्ब ७५ करोड रुपैयाँ दिने आश्वासन दिए पनि शनिबार यो वर्षको २ अर्ब ६१ करोड रुपैयाँको सहायतामा मात्रै हस्ताक्षर भयो । 'यो रकम अहिले हस्ताक्षर भएको सहित हो वा आगामी ३ वर्षका लागि हो भन्ने प्रस्ट छैन,' स्रोतले भन्यो । प्रधानमन्त्री वेनको ४ घन्टे भ्रमणमा भएका ८ बुँदे सम्झौताहरूमध्ये चारवटामा अर्थमन्त्री र सचिवले हस्ताक्षर गरेका छन् । अर्थमन्त्री वर्षमान पुन र चिनियाँ वाणिज्यमन्त्री सेन देमिगङले नियमित सहायता सम्झौतासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नयाँ थपिएको १ अर्ब ६८ करोड रुपैयाँको सहयोग लडाकु पुनःस्थापनामा खर्च गर्ने योजना सरकारको छ । स्वैच्छिक अवकाशमा जान खोजेका लडाकुका लागि सरकारले करिब साढे ५ अर्ब रुपैयाँ खर्चिनुपर्ने देखिएको छ । यसलाई दुई किस्तामा दिने सहमति भएकाले यस वर्षका लागि चिनियाँ सहयोगले रकमको जोहो गरिदिएको छ । 'प्रधानमन्त्री वेन चीन पुग्नेबित्तिकै चेक पठाइदिने अनौपचारिक सहमति भएको छ,' अर्थस्रोतले भन्यो ।

चीनले बर्सेनि दिने प्रतिबद्धता गरेको रकमको खर्च नेपालले प्राथमिकताअनुसार गर्न पाउनेछ । 'चिनियाँ सहयोग पहिले नै कहाँ खर्च गर्ने भनेर हुँदैन,' अर्थ मन्त्रालयका एक अर्का अधिकारीले भने । सरकारले उक्त सहयोगलाई राजधानीको चक्रपथ विस्तारमा खर्च गर्ने योजना बनाएको छ । सशस्त्र प्रहरी प्रतिष्ठान बनाउन करिब ५ करोड र नेपाल प्रहरीलाई १३ करोडको सहयोग दिएको छ । अर्थसचिव कृष्णहरि बाँस्कोटाले नेपालले चीनको आयात-निर्यात -एक्जिम) बैंकबाट पाउने सहुलियत ऋण सहजीकरण विषयमा हस्ताक्षर गरे ।

चारवटा नाका हुँदै नजिकको राजमार्गसम्म बाटो बनाइदिने अपेक्षा नेपालले उत्तरी छिमेकीसँग गरेको थियो । यसका लागि किमाथांका, रसुवागढी, हिल्सा र थोराङ छानिएका थिए । तर यसमा कुनै सहमति हुन सकेन । झन्डै डेढ खर्ब रुपैयाँ लागतको पश्चिम सेती आयोजनामा पनि चिनियाँ सहुलियत ऋणको अपेक्षा नेपालको थियो । अस्ट्रेलियन कम्पनी स्मेकले १६ वर्षसम्म लाइसेन्स राखेर अन्त्यमा बनाउन नसकेपछि यतिखेर सरकारले रकम खोजिरहेको छ । राजधानी नजिकको

अर्को जलाशययुक्त आयोजना बूढीगण्डकीमा पनि सहुलियत ऋण माग्ने योजना पनि थाँती रहेको छ । पोखरामा क्षेत्रीय विमानस्थल बनाउने विषयमा चिनियाँ चासो देखिँदै आए पनि यसमा सहयोग थप्नेबारे पनि कुनै सहमति भएन । यसका लागि ८ अर्ब रुपैयाँको सहुलियत ऋण नेपालले पहिले नै पाइसकेको छ । बाँकी २ अर्ब रुपैयाँबारे यस पटक सहमति हुने अपेक्षा थियो ।

यसैगरी चिनियाँ निजी क्षेत्रलाई आकषिर्त गर्न हस्ताक्षर गर्ने तयारी भएको लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता -बिप्पा) पनि यस पटक थाँती रह्यो । भारतसँगको सम्झौताभन्दा कडा प्रावधान भएकाले अन्तिम समयमा हस्ताक्षर नभएको हो । चीनले पठाएको मस्यौदामा 'सामाजिक हुलदंगा' को विषय पनि थियो । भारतसँगको सम्झौतामा भने यो विषयलाई हटाइएको थियो । यसले जुनसुकै खालको बन्द/हडतालमा पनि क्षतिपूर्ती दिनुपर्ने अवस्था आउने भएकाले भारतसँग हटाइएको थियो ।

'यसबारे वार्ता जारी रहनेछ,' भ्रमणबारे जारी संयुक्त वक्तव्यमा उल्लेख छ । यसैगरी नेपाल सीमासम्म चिनियाँ रेल ल्याउने विषयमा पनि सहमति/सम्झौता भएन । यसअघि खासासम्म रेल ल्याउन कठिन भएकाले सिगात्से हुँदै नेपालको सीमा केरुङसम्म रेल आउने चर्चा भएको थियो । यससँगै बुद्ध जन्मभूमि लुम्बिनीमा पनि चीनले लगानी गर्ने विषय चर्चामा आए पनि यस विषयलाई एजेन्डामै राखिएन ।स्रोत कान्तिपुर

0 comments for "नेपाल लाइ साढे ५ अर्ब सहयोग चिनियाँ ले थपियो I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!