Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

फेसबुकले के यस्तो गरायो....

Published on: Friday, November 25, 2011 //

काठमाडौ, मंसिर १०,

फेसबुकमा स्टाटस राख्दा कसैको भावनामाथि चोट पुग्ला कि भन्ने सोच्नुहुन्छ कि हुन्न ? यदि सोच्नुहुन्न भने तपाइँका फेसबुक 'साथी' तपाइँबाट रुष्ट भएका या तपाइँलाई 'फसाउने' योजना बुनिरहेका हुन सक्छन् । जस्तो 'मेरो लभ स्टोरी'का पटकथा लेखक कुमार भट्टराईको एउटा स्टाटसले हिरोइन बिनीता बरालसँगको सम्बन्ध धरापमा पर्‍यो ।

शुक्रबार अपराह्न कुमारले विनीता अभिनित फिल्म 'चपली हाइट' अर्ध अश्लील भएको फिल्मकै एक सदस्यले आफूलाई बताएको भन्दै स्टाटस राखे । 'तपाइँलाई लाज लाग्दैन ?' विनीताले तत्कालै त्यसमा 'कमेन्ट' गरिन् । 'ऊ मेरो एकदमै मिल्ने साथी थियो,' विनीताले कान्तिपुरसित भनिन्, 'तर अब रहेन ।' स्टाटसले आफ्नो 'मुड अफ' गराएको भन्दै उनले तत्कालै कुमारलाई एसएमएसमार्फत स्टाटस मेट्न चेतावनी दिइन् । 'र मैले मेटेँ पनि,' कुमारले सुनाए, 'तर मैले सुनेको कुरा लेख्न किन नपाउने ?'

यी दुईको विवाद चुलिएको छ । 'यो त उदाहरणमात्रै हो,' मनोविज्ञ डाक्टर नन्दिता शर्मा भन्छिन्, 'सही उपयोग गर्न नजानेर यस्तो धेरै भइरहेका छन् ।' आफ्ना भावना अभिव्यक्त गर्न मान्छेहरू 'प्लाटर्फम' खोजिरहेका हुन्छन् । यो व्यस्त समाजमा एक अर्काबारे कुरा बुझिदिने दिनदिनै घट्दै गइरहेका छन् । 'त्यसैले मान्छेहरू अब फेसबुक निर्भर हुन थाले,' शर्माको बुझाइ छ, 'आफूलाई केही हुनेबित्तिकै स्टाटसमा राखिहाल्ने बानीको विकास हुन थाल्यो ।' यसले समाजलाई नकारात्मक बनाउने उनको ठम्याइ छ । खाएको देखि सुतेकोसम्मका जानकारी यसमार्फत सार्वजनिक गर्दा कसैले तिनलाई संकलन गरिरहेका हुन सक्छन् । 'र त्यो कुनै पनि बेला सबैतिर फैलाइदिन सक्छन्,' उनी थप्छिन् ।

ठ्याक्कै अध्ययन त गरिएको छैन तर धेरै प्रयोगकर्तामा देखिने साझा कुरा के भने सामाजिक सञ्जाल साइटहरूमा तिनका निजी मामलाले बढी स्थान पाइरहेका हुन्छन् । 'तर तिनले व्यक्तित्वचाहिँ पुष्टि गर्दैन,' बैंकर अनिल शाह भन्छन्, 'फेरि यो कुरा उसको प्रोफेसनसँग पनि निर्भर गर्छ ।' भन्नाले कसैको स्टाटस उसको जीवनमा भइरहने घटनाक्रममा भर पर्न सक्छ । 'जस्तो एकछिन अघि मेरी साथीले गुन्द्रुक ल्याएर दिएकी कुरा मैले -फेसबुक स्टाटसमा) राखेकी थिएँ,' काठमाडांैको एक म्युजिक डिष्ट्रिब्युटर कम्पनीकी जागिरे सिर्जला श्रेष्ठले शुक्रबार साँझ सुनाइन्, 'तर एकछिनमा लाज लाग्यो अनि फेरि हटाएँ ।'

फेसबुक खोल्नेबित्तिकै आपmनो प्रोफाइलको भित्तोमा देखिने 'राइट समथिङ'ले लेख्न बाध्य बनाउने कतिपय प्रयोगकर्ताको ठम्याइ छ । कान्तिपुरको शुक्रबारे परिशिष्टांक 'हेलो शुक्रबार'ले फेसबुकमा अभिव्यक्त भावनालाई समेट्न हरेक साता 'फेसबुक' स्तम्भ राखेको छ । त्यसमा छपाउनकै लागि केहीले 'अब कसरी छपाउने हो ?' प्रश्न गरिरहेका पनि भेटिन्छन् । 'म पनि फेसबुक चलाउँछु भन्ने सबैलाई सुनाउन मन लाग्या,' एक प्रयोगकर्ताले लेखेका छन्, 'तर खै कहिल्यै छापिँदैन ।' नेपालमा केही मिडियाले जनमत बुझ्न फेसबुकको प्रयोगलाई व्यापकता दिएको पाइन्छ ।

यी त भए फेसबुक स्टाटसका कुरा, जहाँ पछिल्लो तथ्यांकअनुसार १२ लाख ९६ हजार ६ सय नेपाली प्रयोगकर्ता छन् । यो नेपाली जनसंख्याको ४ दशमलव ४८ प्रतिशत उपस्थिति हो । फेसबुक प्रयोग गर्ने विश्वका २ सय १३ मुलुकमध्ये नेपाल ६९ औं स्थानमा पर्छ । पहिलो स्थानमा रहेको अमेरिकामा १५ करोड ५९ लाख ८२ हजार र तेस्रो स्थानमा रहेको छिमेकी भारतमा ३ करोड ८० लाख ४५ हजार प्रयोगकर्ता छन् । सबैभन्दा कमचाहिँ भ्याटिकन सिटीमा छन्, त्यहाँ २० जनामात्रै जनता फेसबुक चलाउँछन् ।

अब कुरा गरौं टि्वटरको । खासगरी सेलिबि्रटी र पत्रकार यसमा भेटिन्छन् । त्यहीमाथि नेपालमा पत्रकारको संख्या तुलनात्मक रूपमा बढी देखिन्छ । तर विडम्बना यहाँ आवश्यक मापदण्ड छैन । अन्तर्राष्ट्रियस्तरका मिडिया हाउसले आफू मातहतकालाई 'सोसल मिडिया गाइडलाइन' बनाएको हुन्छ । त्यसमा समाचार ब्रेक गर्न नपाइने र कुनै विवादास्पद विषयमा आपmना निजी विचार व्यक्त गर्न नपाइने उल्लेख छ । समाचार संस्था रोयटर्सले 'ह्यान्डबुक अफ जर्नालीजम' शीर्षक दिएर आफ्नो वेबसाइटमा यसबारे लेखेको छ । कतिपय मिडिया हाउसले भने आपmना 'कोड अफ कन्डक्ट' रोयटर्सझै सार्वजनिक नगरे पनि तीनले पनि भित्री रुलिङ भने गरेका पाइन्छन् । केही अघिमात्रै एपीले आफू मातहतका पत्रकारलाई 'अनावश्यक टि्वट नगर्न' निर्देश गरेका समाचार आएका थिए । तर नेपालमा यसबारे सबै मिडिया हाउस मौन प्रायः देखिन्छन् ।

यसले स्वभावतः एउटा पत्रकार तथा सम्बन्धित मिडिया हाउसका कर्मचारीले पालना गर्नुपर्ने न्यूनतम मान्यतालाई गिज्याइरहेजस्तो देखिन्छ । 'यो हाम्रो चुनौती हो,' पत्रकार महासंघका अध्यक्ष शिव गाउँले पनि यो कुरा स्वीकार्छन् । 'अब हामी यसलाई अघि बढाउने प्रक्रियामा छौं,' उनी थप्छन्, 'नेपालकै कानुन र नियम संहिता स्पष्ट नभएर समस्या भएको हो ।' एक अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीमा आबद्ध पत्रकार दीपक अधिकारी भने नेपाली पत्रकारिता 'न्यु एज'मा प्रवेश गर्नै नसकेको ठान्छन् । 'अहिलेसम्म यहाँका मिडिया हाउसमा स्टायल बुक त छैन,' उनी भन्छन्, 'कताबाट सोसल मिडिया गाइडलाइन हुनु ?' - आशिष लुइँटेल

0 comments for "फेसबुकले के यस्तो गरायो...."

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!