च्यालेन्ज कप आयोजनाका चुनौती
काठमाडौ, श्रावण २१ - माले र मध्यपूर्वी एसियाली प्यालेस्टाइन आर्टिफिसियल टर्फले सुसज्जित छन् । दशरथ रंगशाला, नेपालको एकमात्र । जुन सधैं मर्मत सम्भारको प्रतीक्षामा हुन्छ । त्यसैले फुटबलका लागि भौतिक संरचनाबारे प्यालेस्टाइन र माल्दिभ्ससँग नेपालको तुलना पटक्कै सुहाउँदैन । त्यसैले एएफसी च्यालेन्ज कप-२०१२ को आयोजक बन्ने होडमा भौतिक संरचनाबारे नेपालको खुबै आलोचना भएको थियो । यही नै नेपालको मुख्य चुनौती थियो । सरकारले सुरक्षाको ग्यारेन्टी गरेपछि जेरुसलम केन्दि्रत हिंसात्मक राजनीतिले पनि प्यालेस्टाइनको दाबेदारी कमजोर भएन ।
मालेको चर्को महँगीमा होटल खर्च सरकारले बेहोर्ने भएपछि करिब ३ लाख जनसंख्या भएको माल्दिभ्सको सम्भावना झनै बलियो भएको थियो । यस्तोमा एन्फा च्यालेन्ज कपको चौथो संस्करण नेपाल भित्र्याउन सफल रह्यो । त्यसको एउटै कारण थियो, विगतका दाबेदारी । सन् २००६ र २००८ मा आयोजना गर्ने प्रयास एन्फाले गरेको थियो । 'त्यसैले च्यालेन्ज कप आयोजनाको मौका मिल्यो,' एन्फा अध्यक्ष गणेश थापाले भने । माल्दिभ्स र प्यालेस्टाइनको भने पहिलो प्रयास थियो । एसियाली फुटबल महासंघ (एएफसी) का उपाध्यक्षसमेत रहेका थापा एसियन कपपछिको प्रतिष्ठित महादेशीय प्रतियोगिता च्यालेन्ज कप र प्रेसिडेन्ट्स कप आयोजक कमिटीका प्रमुख पनि हुन् ।
उनले नेपाली फुटबल इतिहासकै सबैभन्दा प्रतिष्ठित् प्रतियोगिता भित्र्याउन निकै मिहिनेत गर्नुपर्यो । 'भौतिक संरचना तयार गर्ने प्रतिबद्धता व्यक्त गरंे,' उनले बताए । मार्च ३-१८ मा हुने प्रतियोगिताको आयोजक टुंगो लगाउन १० सदस्यीय आयोजक कमिटीमा मतदान नै भयो । दाबेदारलाई मत दिन मनाही थियो । यस्तोमा नेपालले ४, माल्दिभ्सले ३ र प्यालेस्टाइनले शून्य अंक पाएका थिए । आयोजक कमिटीको निर्णय छलफलपछि बल्ल एएफसीको प्रतियोगिता कमिटी र कार्यसमितिले शुक्रबार अनुमोदन गरेपछि नेपालको भाग्य खुलेको थियो ।
च्यालेन्ज कप आयोजनामा नेपालको मुख्य चुनौती हुनेछन्, भौतिक संरचनाको तयारी र चुस्त व्यवस्थापन । 'अहिलेको भौतिक संरचना र व्यवस्थापनमा आयोजना सम्भव छैन,' एन्फा अध्यक्ष थापाले भने, 'एसियाकै प्रतिष्ठित प्रतियोगिता भएकाले उच्चस्तर कायम राख्नुपर्छ । त्यो निकै चुनौतीपूर्ण छ ।'
भौतिक संरचना
एन्फाको मात्र होइन, देशकै कार्यक्रम भएकाले सबैको सहयोगबिना च्यालेन्ज कप आयोजना सम्भव नभएको थापाले बताए । उनले भने, 'सरकारलगायत सबैको सहयोग नहुने हो भने बाध्य भएर बेलैमा सक्दैनौं भन्नुपर्ने हुन्छ ।' आठ महिना बाँकी भएकाले नयाँ रंगशाला निर्माण गर्न समय छैन । पुरानै मर्मत सम्भार गर्नुपर्छ । अभ्यासका लागि ४-५ वटा राम्रा मैदान पनि तयार गर्नुपर्ने थापाले बताए, 'सबै सुविधा सम्पन्न हुनुपर्छ । राम्रो तयारी गर्न सकिएन भने प्रतियोगिता हाम्रोबाट फिर्ता जाने सक्नेछ ।' आयोजनास्थलको टुंगो लागिसकेको छैन । अन्तर्राष्ट्रिय मापदण्डको एकमात्र दशरथ रंगशाला मुख्य आयोजनास्थल हुने पक्का छ ।
सशस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा पनि केहि खेल हुनसक्नेछ । भद्रकाली (आर्मी), महाराजगन्ज (पुलिस), सातदोबाटो (एन्फा कम्प्लेक्स) र च्यासल (एन्फा टेक्निकल सेन्टर) र सम्भव भएसम्म थप अभ्यास मैदान तयार गर्ने थापाले बताए ।
व्यवस्थापन
एन्फा अध्यक्ष थापाका अनुसार प्रतियोगिताको व्यवस्थापन एएफसीको प्रशासनिक प्रमुख महासचिवको नेतृत्वमा प्रतियोगिता कमिटीको प्रत्यक्ष निगरानीमा हुनेछ । सुरक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ ।
तीन करोड आस
सफल आयोजनाका लागि एन्फाले सरकारसँग ३ करोडसम्म रुपैयाँ आस गरेको छ । 'त्यो रकम भौतिक संरचना मर्मत-सम्भारमा खर्च हुनेछ,' थापाले भने, 'नेपाली राष्ट्रिय टिमलाई पनि मजबुत बनाउनुपर्छ ।' सहभागी आठ देशका खेलाडी, प्राविधिक र अफिसियलका लागि खाने, बस्ने खर्च एएफसीले बेहोर्नेछ । साभार :- इ कान्तिपुर