विश्वकप फुटबल छनौट अन्तर्गत दोस्रो चरणको दोस्रो लेगमा नेपालले आज जोर्डनको सामना गर्दै, नेपाल वरियतामा १२ स्थान माथि उक्लियो
Published on: Wednesday, July 27, 2011 //
खेलकुद
१२ साउन, काठमाडौं । ब्राजिलमा सन् २०१४ मा हुने विश्वकप फुटबल छनौट अन्तर्गत दोस्रो चरणको दोस्रो लेगमा आज नेपालले जोर्डनको सामना गर्दैछ । आज अपरान्ह साढे तीन बजे हुने खेलको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा नेपालले अर्को चरणमा प्रवेश गर्न जोडर्नलाई कम्तीमा दस–शून्यको गोल अन्तरले हराउनु पर्ने हुन्छ । यसअघि शनिवार सम्पन्न पहिलो लेगको खेलमा नेपालले जोर्डनसँग लज्जास्पद हार ब्यहोरेको थियो । फिफा वरियता क्रममा ८४ औं स्थानमा रहेको जोर्डनले घरेलु मैदान अम्मान अन्तराष्ट्रिय रंगशालामा नेपाललाई नौं–शून्यले पराजित गरेको थियो ।
विश्वकप फुटबल छनौट अन्तर्गतकै पहिलो चरणमा नेपालले पूर्वी टिमोरलाई समग्रमा ७–१ ले पराजित गरेर दोस्रो चरणमा जोर्डनबिरुद्धको भिडन्त तय गरेको थियो । यसैबीच नेपाल फिफा बरियतामा १२ स्थान माथि उक्लिएको छ । फिफाले निकालेको पछिल्लो बरियताक्रम अनुसार नेपालले उल्लेख्य फड्को मार्दै १ सय ३६ औं स्थानमा उक्लिएको हो ।
यसअघिको बरियता क्रममा नेपाल १ सय ४८ औं स्थानमा थियो । - Solidarity