Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

जुत्तामा काम गर्ने भनेर विवाह हुन गाह्रो भयो I

Published on: Thursday, December 29, 2011 //


  • होमनाथ उपाध्याय, अध्यक्ष छाला जुत्ता तथा वस्तु उत्पादक संघ

राजधानीमा एक हप्तासम्म चलेको छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भीड लाग्यो । स्वदेशी उत्पादनमा उपभोक्ताको आकर्षण बढ्न थालेकाले व्यवसायी पनि गद्गद् भए । अबको चारपाँच वर्षभित्रै विदेशी जुत्तालाई विस्थापित गर्ने लक्ष्य राखेका व्यवसायीहरुले अहिले विदेशमा समेत जुत्ता निर्यात गर्छन् । 

जुत्ता र छालामा काम गर्ने मान्छेलाई हेलाँहोचो र नकारात्मक दृष्टि पूरै निमिट्यान्न नभैसकेको अवस्थामा व्यवसायीहरुको प्रयासलाई सबैले प्रशंसा गरेका छन् । यसै सन्दर्भमा हामीले छाला जुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्यायसित कुराकानी गरेका छौं ।

कस्तो छ अहिले नेपाली छाला जुत्ता तथा वस्तुको उत्पादन अवस्था ?

पछिल्लो समयमा नेपाली छाला तथा वस्तुमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । प्रयोगकर्तासँगै उत्पादकहरु पनि बढिरहेका छन् । अझै माग अनुसारको वितरण हुन सकेको छैन । मागको ५५ प्रतिशत मात्रै यहाँका उद्योगहरुले उत्पादन गर्न सकेका छन् ।

किन त माग अनुसार उत्पादन गर्न सकिएन ?

एक त माग बढ्ने बित्तिकै उद्योगहरुको संरचना विस्तार गर्नुपर्ने हुन्छ । कच्चा पदार्थ पनि त्यही अनुसार चाहियो । कार्यक्षमता पनि बढाउन सक्नुपर्यो । अर्को सबैको साझा समस्या उर्जा समस्या भयो । यस्तै हामीकहाँ अझै दक्ष जनशक्तिको अभाव छ । सामान्य सीप भएका मजदूरले हुँदैन । दक्ष कालिगढकै आवश्यकता पर्छ । कसैले नयाँ उद्योग खोलेमा उसले चलिरहेको उद्योगबाटै कालिगढ लैजानुपर्ने हुन्छ । अर्को कुरा ८० प्रतिशत कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । बाहिरबाट ल्याउनुपर्ने भएकाले कहिलेकाहीं भनेकै समयमा कच्चा पदार्थ आइपुग्दैन । त्यसैले पनि माग अनुसार उत्पादन गर्न समस्या छ ।

स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न सक्ने अवस्था छैन ?

केही त छन् । तर यहाँको कच्चा पदार्थले मात्र पुग्दैन । छाला जुत्ता तथा वस्तु उत्पादन गर्ने कारखाना मात्रै खुलेर हुँदैन । सँगसँगै कच्चा पदार्थ उत्पादन गर्ने कारखाना पनि खुल्नुपर्छ । त्यस्तै सोलको कारखाना, जुत्ता राख्ने बक्सको कारखाना, जुत्ता राख्ने ब्याग तथा सर्पोटको कारखाना पनि त्यसै अनुसार स्थापना हुन जरुरी छ । यो लगायत जुत्तासँग सम्बन्धित झण्डै तीन दर्जन अरु पदार्थ हामी प्रयोग गर्छौ, ती सबैको कारखाना पनि हुने हो भने राम्रो हुन्छ । ती सहायक उद्योग यहाँ स्थापना भएका छैनन् । ती स्थापना हुने हो भने लागत कम लाग्छ र उत्पादन क्षमता स्वतः बढ्छ ।

छाला र जुत्तामा काम गर्ने मान्छेलाई अवहेलना गर्ने सोच थियो पहिले समाजमा, अहिले कस्तो छ ?

अवहेलना त होइन, तर नकारात्मक सोच चाहिं अझै परिवर्तन हुन जरुरी छ । हुन त हामी अधिकाँश व्यवसायी क्षेत्री बाहुनहरु नै छौं । तर शुरुशुरुमा कारखानामा काम गर्दा केही कर्मचारीहरुले छाला जुत्तामा काम गर्ने भनेर विवाह हुन गाह्रो भयो भन्थे । मलाई चाहिं यस्तो भएन ।

वर्षेनी प्रदर्शनी गर्दै आउनुभएको छ । के छ यसको फाइदा ?

प्रदर्शनीबाट यसको प्रवर्धनमा निकै सघाऊ पुर्याएको छ । उपभोक्ताले सस्तो दाममा गुणस्तरीय सामान त पाएका छन् नै । व्यवसायीहरु पनि व्यापार बढेकोमा दंग छन् । कति व्यवसायीहरु त महिना महिनामा प्रदर्शनी गर्नुपर्यो भन्छन् । जे होस् प्रदर्शनीले नेपाली छाला जुत्ता तथा वस्तुको उत्थान, प्रबर्धन र विस्तारमा निकै सघाऊ पुर्याएको छ । आगामी वर्षहरुमा समेत यसलाई निरन्तरता दिने योजना छ ।अनलाइन खबर

0 comments for "जुत्तामा काम गर्ने भनेर विवाह हुन गाह्रो भयो I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!