हावाबाट निकालेको बिजुलीले गाउँ झलमल I
काठमाडौं, पुस ६,
मुलुकले चरम लोडसेडिङ भोगिरेहको अवस्थामा नवलपरासी जिल्लाको धउबडी गाउँका बासिन्दाले चौबिसैघन्टा उज्यालो उपयोग गरिराखेका छन्। नेपालका पहिलोपटक लघु वायु सौर्य मिश्रित विद्युत् प्रणालीमार्फत बिजुली बलेपछि सो गाउँका ४६ घरपरिवारले बिजुलीको उपयोग गर्न पाएका हुन्।
अब सो गाउँका बासिन्दा इन्धनका लागि दाउरा रोज्न जङ्गल र मट्टीतेल किन्न बजार धाउनुपर्ने अवस्थाको सदाका लागि अन्त्य भएको छ। गाउँमा रहेको विद्यालयमा अध्ययन गर्ने छात्रछात्राले कम्प्युटर चलाउन पाएका छन् भने टेलिफोन, टेलिभिजन हेर्न पनि पाएका छन्।
एसियाली विकास बैँकको आर्थिक एवम् प्राविधिक सहयोगमा करिब एक करोड ८० लाखको लागतमा ४३.६ किलोवाट क्षमताको बिजुली हावाका माध्यमबाट निकालिएको हो। बैंकका अनुसार हावाबाट बिजुली निकाल्न पाँच किलोवाट क्षमताका वाइन्ड टर्वानहरु र दुईवटा सोलार पिभी जडान गरिएको छ। बैंकले यस्तो प्रकारको प्रविधिकमा सहयोग गरी बिजुली निकालेको नेपालमै पहिलोपटक भएको जनाएको छ।
"सबैका लागि ऊर्जा" भन्ने नेपाल सरकारको कार्यक्रमलाई सहयोग पुर्याउन बैँकले नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गर्न वायु सौर्य मिश्रित प्रविधिबाट बिजली निकालिएको बैंकका दक्षिण एसियाली विभागका महानिर्देशक एस हाफिज रहमानले जानकारी दिए।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका योजना अधिकृत सूर्यकुमार सापकोटाले सो प्रविधिलाई दिगो रुपमा सञ्चालन गर्न स्थानीय समुदायले सहकारी संस्था स्थापनासमेत गरेको बताए। सोही सहकारी सस्थाले नै प्रविधिमा देखिने समस्या समाधान, मर्मत, बिजुली महसुल उठाउने छ।
समुदायले नै अपनत्व ग्रहण गरेकाले सो प्रविधि दिगो रुपमा सञ्चालन हुने वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवाली बताउँछन्। वातारवणमन्त्री हेमराज तातेड र राज्यमन्त्री दुर्गादेवी महतोले यही पुस १ गते संयुक्तरुपमा सो आयोजनाको उदघाटन गरेका छन्। रासस