भन्सार कडाइको विरोधमा भारतीय
Published on: Saturday, July 9, 2011 //
अर्थ
वीरगन्ज, अषाढ २५ - केही समययता वीरगन्ज आसपासका क्षेत्रमा तस्करीलगायतका अवैध कारोबारमा नियन्त्रण गरेपछि भारतीयहरू विरोधमा उत्रेका छन् ।
सीमापारि किनमेललाई राजस्वको दायरामा ल्याउने प्रयाससँगै भारतीय बजार सुनसान बनेपछि उनीहरूले विरोध जनाएका हुन् । अस्थायी पैठारी शुल्क तिरेर मात्र नेपालमा गाडी चलाउने प्रावधानलाई पछिल्लो समयमा प्रहरी र भन्सारले कडाइका साथ लागू गरेका छन् ।
यसको विरुद्धमा शुक्रबार दिनभर सीमावर्ती भारतीयले नेपाल-भारत मितेरी पुलमा टायर बालेर प्रहरी प्रमुखको विरोधमा नाराबाजी गरे । विरोध प्रदर्शनमा वीरगन्ज र रक्सौलका स्थानीय एवं तस्करहरू सहभागी थिए ।
पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हालेका प्रहरी उपरीक्षक रमेश खरेलको आगमनसँगै सीमा क्षेत्रमा अवैध कारोबारमा कडाइ गरिएपछि व्यापारी रुष्ट बनेको स्रोतको दाबी छ । मितेरी पुलमा भएको विरोध प्रदर्शनले आवागमन ठप्प बनेको थियो । नेपाली नम्बरको सवारी साधनलाई रक्सौलमा प्रवेश निषेध गरिएको प्रदर्शनकारीले बताए । वीरगन्जबाट रक्सौल जाने साइकल यात्रुलाई समेत रोकिएको थियो ।
नेपाली ट्यांकर र एम्बुलेन्सलाई समेत निषेध गरिएको थियो । यात्रुहरूले पैदल हिँडेर सीमा पार गरेका थिए । भारतीय भूमिमा विरोध प्रदर्शन गरिएकाले प्रहरीले केही गर्न नसकेको इनर्वा प्रहरी चौकीका इन्चार्ज सुरेन्द्र कुर्मीले बताए ।
रक्सौल निवासी जितेन्द्र कुमारले नेपाली गाडी रक्सौल बजारसम्म प्रवेश गर्दा कर नलाग्ने भए पनि भारतीय गाडीले नेपाल जाँदा कर तिर्नुपरेकाले विरोध गरेको जनाए । विरोध प्रदर्शनमा अधिकांश अवैध कारोबारीको संलग्नता देखिएको प्रहरीको दाबी छ ।
प्रदर्शनमा रक्सौल क्षेत्रबाट बिहार विधानसभामा कांग्रेस आईका उम्मेदवार रामबाबु यादवका समर्थकसमेत थिए । साताअघि वीरगन्जको मुरलीचोकबाट यादवको अवैध गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो । जेएच ०१ एल ८२७४ नम्बरको कागजात नभएको स्कार्पिओ गाडी प्रहरीले नियन्त्रणमा लिई भन्सारमा बुझाएको प्रहरी उपरीक्षक रमेश खरेलले बताए । गाडी छोड्न दबाब आए पनि खरेलले नमानेकाले उनका समर्थकहरू विरोधमा उत्रिएका हुन् ।
सीमावर्ती क्षेत्रमा दैनिक प्रयोजनका लागि भनेर ससाना परिमाणमा पटकपटक सामान ओसारेर जीविकोपार्जन गर्नेको संख्या धेरै छ । शुक्रबारको विरोध प्रदर्शनमा उनीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 'कारोबार ठप्प बनेपछि रक्सौलका व्यापारीले उचालेका हुन्,' वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने ।
भारतसँग सीमा जोडिएका क्षेत्रमा राजस्व नतिरी वर्षौंसम्म भारतीय नम्बरका गाडी प्रयोग गर्ने चलन पुरानै हो । वास्तविक नेपाली मूल्यभन्दा झन्डै एक चौथाइ मात्र पर्ने भएकाले सीमावर्ती क्षेत्रमा सबैको रोजाइमा भारतीय नम्बरका गाडी पर्ने गरेका छन् । भारतीय नम्बरका कार, जिप, बस, ट्याक्टर, ट्रक प्रयोग गर्दा दैनिक ४ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । मोटरसाइकलको १ सय र तीनपांग्रे सवारीको ३ सय राजस्व तिर्नुपर्छ । कडाइ नहुँदा यसअघि निकै कम राजस्व उठ्ने गरेको सम्बद्ध कर्मचारीले बताए ।
सीमावर्ती बजारसम्म बिहान आएर बेलुकी र्फकन शुल्क तिर्न नपर्ने छुट दिइएको छ । कडाइ हुन थालेपछि त्यस्ता सवारी साधन प्रयोग गर्नेहरू तिल्मिलाएर विरोधमा उत्रिएको प्रहरीको दाबी छ ।