Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

निगमले भारतबाट २ अर्ब रुपैयाँ फिर्ता पाउने

Published on: Tuesday, July 19, 2011 //

  • कर फिर्ताको रकमले आपूर्ति सहज गरिने

लोकमणि राई - काठमाडौ, श्रावण ४ - नेपाल आयल निगमले भारतबाट करिब २ अर्ब रुपैयाँ कर फिर्ता पाउने भएको छ । निगम सुधारसम्बन्धी गठित उच्चस्तरीय समितिले गत वैशाखमा निगमले भारतबाट १४ अर्ब रुपैयाँ कर फिर्ता पाउन बाँकी रहेको ठहर गर्दै प्रतिवेदन बुझाएको थियो । समितिको प्रतिवेदनले उक्त रकम ब्याजसहित तुरुन्त फिर्ता लिन सुझाव दिएको थियो ।

मन्त्रिपरिषद्ले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि निगमले उपनिर्देशक करुणा छेत्रीको नेतृत्वमा दुई सदस्यीय टोली दुई पटक भारत पठाएको थियो । उक्त टोलीको पहल गरेपछि भारतको भन्सार कार्यालयबाट निगमले कर फिर्ता पाउने भएको हो । 'करिब २ अर्ब रुपैयाँ कर फिर्ता पाउने देखिएको छ,' निगम प्रवक्ता मुकुन्दप्रसाद ढुंगेलले भने । उनका अनुसार हिसाबकिताब पूर्ण रूपमा नसकिएकाले कर फिर्ता रकम केही बढ्न सक्छ ।

समितिले भारतीय आयल निगम (आइओसी) ले निगमले फिर्ता पाउने करको हिसाब गर्न एकतर्फी रूपमा बाल्मर एन्ड ल्यारी नामक कम्पनी नियुक्त गरेको र आइओसीले उक्त कम्पनीलाई निगमले फिर्ता पाउने करबाट कटौती गरेर ४ करोड ८६ लाख ४० हजार रुपैयाँ पारिश्रमिक दिएको ठहर गरेको थियो ।

समितिको प्रतिवेदनले उक्त कम्पनीबाट अगि्रम आयकरबापत नेपाल सरकारले पाउनुपर्ने ७२ लाख ९६ हजार रुपैयाँ र कर फिर्ताबापत पाउनुपर्ने रकम ब्याजसहित लिन सुझाव दिएको थियो । त्यस्तै प्रतिवेदनमा कर फिर्ताबापत पाउने रकमको हिसाब गर्न 'एजेन्ट नियुक्त गर्ने प्रथा अन्त्य गर्ने' सुझाव पनि छ । समितिको सुझाव कार्यान्वयन गर्ने आव २०६८/०६९ को बजेटमा पनि उल्लेख छ ।

वाणिज्य तथा आपूर्ति प्रवक्ता गणेशप्रसाद ढकालले बाल्मर एन्ड ल्यारी कम्पनीलाई हटाउन दिएको र कर फिर्तामा भएको ढिलाइबापत ब्याज असुल्न दिएको निर्देशन अनुरूप आइओसीलाई पत्राचार गर्ने बताए । तर निगमका अधिकारीहरू कर फिर्ता रकम आइओसीले हिसाबकिताब नगर्ने भएकाले उक्त कम्पनीलाई हटाउन र कर फिर्तामा भएको ढिलाइबापत

ब्याज लिन अप्ठ्यारो भएको बताउँछन् । 'भारतको भन्सार कार्यालयको कार्यक्षेत्र भएकाले हामीले कति रकम कर फिर्ता पाउने हो भन्ने हिसाबकिताब आइओसीले गर्दैन र कर फिर्ता लिन प्रक्रिया लाग्ने भएकाले ब्याज लिन गाह्रो छ,' निगमका एक उच्च अधिकारीले भने ।

समितिले १४ अर्ब रुपैयाँ कर फिर्ता पाउने ठहर गरे पनि निगमले आयात परिवहन मूल्य (इम्पोर्ट प्यारिटी प्राइस) मा पेट्रोलियम खरिद गरेकाले २ अर्ब रुपैयाँ मात्र फिर्ता पाउने भएको हो । आयात परिवहन मूल्यमा खरिद गर्दा निगमको हैसियत आइओसीसँग पेट्रोलियम पदार्थ खरिद गर्ने भारतीय डिपोसरह हुन्छ । यस्तो अवस्थामा निगमले पेट्रोलियम पदार्थमा भारतको भन्सार महसुल तिर्नुपर्छ । 'निगम र आइओसीबीच भएको सम्झौतामै यस्तो व्यवस्था भएकाले सबै कर फिर्ता पाउन नसक्ने देखियो,' निगमका एक उच्च अधिकारीले भने ।

समितिको सुझावअनुरूप वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात मूल्य (इम्पोर्ट प्यारिटी प्राइस) मा पेट्रोलियम पदार्थ खरिद गर्न गृहकार्य सुरु गरेको छ । 'अब हुने सम्झौतामा निर्यात मूल्यका आधारमा पेट्रोलियम पदार्थ खरिद गर्ने व्यवस्था मिलाउन गृहकार्य सुरु भएको छ,' प्रवक्ता ढकालले भने, 'त्यसका लागि वाणिज्य तथा आपूर्ति सचिवको अगुवाइमा एक पटक बैठक पनि बसिसकेको छ ।' निगम र आइओसीबीच पेट्रोलियम पदार्थ खरिदसम्बन्धी भएको सम्झौता अवधि सन् २०१२ को मार्चमा सकिँदै छ । निर्यात मूल्य एक देशले अर्को देशसँग खरिद गर्ने मूल्य हो । यस्तो मूल्यमा कुनै पनि कर लाग्दैन । समितिको प्रतिवेदनले निर्यात मूल्यमा खरिद भए निगमको वाषिर्क ६ अर्ब ४० करोड रुपैयाँ व्ययभार घट्ने देखाएको छ ।

कर फिर्ताबापत प्राप्त हुने रकमले केही महिना पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने प्रवक्ता ढकालले बताए । पछिल्लो पटक भएको मूल्य वृद्धिपछि निगमको मासिक घाटा ७९ करोड ३२ लाख रुपैयाँ रहने अनुमान गरिएको छ । निगमका प्रबन्ध निर्देशक दिगम्बर झाका अनुसार हालसम्म आइओसीबाट २७ करोड रुपैयाँ उधारो पेट्रोलियम पदार्थ ल्याइएको छ । @ ekatipur

0 comments for "निगमले भारतबाट २ अर्ब रुपैयाँ फिर्ता पाउने"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!