हामी सार्है अल्छी छौं
Published on: Wednesday, June 22, 2011 //
अन्तर्वार्ता
नेपाली फेसन उद्योगमा न त 'डिजाइनर कलेक्सन'को नाम सुनिन्छ, न त यसका प्रमुख विश्व गौतमको। यद्यपि भर्खरै २९ वर्ष टेकेका यी युवा युरोप-अमेरिकी फेसन कम्पनीका लागि सुपरिचित नाम हो। गौतमले डिजाइन गरेका पहिरन फ्रान्स तथा अमेरिकी बजारमा हातहातै बिक्री हुन्छन्। नमुना फेसन कलेजबाट फेसन डिजाइनिङमा स्नातक गरेको केही वर्षमै उनले सयौंलाई रोजगारी दिनेगरी गार्मेन्ट उद्योग चलाएका छन्। चितवन, तोरीखेतका गरिब किसानका छोरा विश्व विदेशी बजारमा दुई वर्षमै विकाउ डिजाइनर बनेका हुन्। एक जना पश्चिमी विद्वान्ले भनेका छन्, 'यदि तिमीले रुचिको काम थाल्यौ भने जीवनभरि काम गर्नुपर्दैन, किनभने त्यो काम रहँदैन, आनन्द बन्न पुग्छ।' ताहाचलस्थित 'डिजाइनर कलेक्सन' मा पुग्दा विश्व पनि ती विद्वान्ले भनेझैं कपडाको चाङमा त्यसैगरी आनन्दले झुमिरहेको अवस्थामा भेटिए।
निकै खुसी हुनुहुन्छ, खुसीको रहस्य के हो ?
भर्खरै पहिलो फेसन शो गरें। मेरो डिजाइन युरोप-अमेरिकामा लोकप्रिय भए पनि नेपालमा मेरो त्यति नाम थिएन। यो फेसन शोले नेपालीहरूमाझ पनि मेरो परिचय पुर्याएको छ। कुनै पनि डिजाइनरका लागि आफ्नो सोलो फेसन शो गर्नु सपना हो, त्यो पूरा भएको छ।
युवा हुनुहुन्छ, फ्रान्स र अमेरिकामा तपाईंको फेसन लोकप्रिय भएको सुनियो, कसरी पुग्नुभयो, त्यति ठूलो बजारमा ?
ईश्वरले तँ चिता म पुर्याउँछु भन्छन् रे, त्यस्तै भयो। मेरो डिजाइन राम्रो छ भन्ने कुरा ठमेलमा व्यवसाय गर्ने एक जना व्यवसायीले बुझ्नुभएको थियो। विदेशी पर्यटकलाई लक्ष्य गरी खोलिएको उहाँको पसलका लागि आवश्यक पहिरन डिजाइन गर्न मलाई दिनुहुन्थ्यो। त्यहीँबाट मेरा पहिरन युराप-अमेरिका पुगेका रहेछन्। पहिले स-साना कम्पनीले मेरो सोधखोज गर्न थालेपछि मेरा पहिरन विदेश जान थाले। कहिले कुन कम्पनीले कहिले कुन कम्पनीले अर्डर गर्दागर्दै लोकप्रिय भएको हुँ।
नेपालमा अरू पनि पुराना फेसन डिजाइनर छन्, तपाईंकै खोजी भयो भन्ने कुरा अलि बुझिएन नि ?
अरू डिजाइनको कमजोरी के हो भने उहाँहरूले नेपालीलाई मात्र टार्गेट गर्नुभयो। मलाई आफ्नो प्रतिभामा भरोसा थियो। त्यसैले म एकैपटक विदेश छिर्न चाहन्थें। नभन्दै उनीहरूले मेरो क्रिएसन मन पराए। मेरो विचारमा जब प्रतिभा प्रस्फुटित हुन्छ, ऊ खुम्चेर बस्न सक्दैन, फैलन चाहन्छ।
नमुना कलेजमा पढ्दा तपाईं क्लास नै लिनुहुन्नथ्यो रे। तपाईंका साथी पनि थिएनन् भन्ने सुनिन्छ। राम्रोसँग नपढी चर्चित फेसन डिजाइन हुन सकिने रहेछ हगि ?
म कहिलेकाहीँ मात्रै क्लास लिन्थें भन्ने कुरा सत्य हो, तर म किन क्लास छुटाउँथे भन्ने कुरा भने धेरैलाई थाहा थिएन। सबैले मलाई धनी बाउको बिग्रिएको छोरो भएकाले मस्ती गर्न मात्र कलेज आउँछ भन्थे। त्यसैले मेरा साथीहरू पनि भएनन्, तर म कलेज नआउनुको कारण भने अर्कै थियो।
के थियो ?
म काठमाडौंबाहिरको एउटा गरिब किसानको छोरो हुँ। फेसन कलेज पढ्न ठूलो रकम चाहिन्थ्यो। त्यो पैसा तिर्ने क्षमता मसँग थिएन। त्यसैले म फी तिर्नका लागि दिनभर काम गर्थें। ज्ञानी म्याम (कलेजकी प्रिन्सिपल) तथा केही सरलाई मात्र मेरो कथा थाहा थियो। म जुन दिन कलेज जान्थें, त्यही दिन छुटेका पाठहरू सरहरूको सहयोगमा पूरा गर्थें। साथीहरूसँग आफू गरिबीकै कारण कलेज जान नसकेको कुरा भन्न गाह्रो हुन्थ्यो। मलाई उनीहरू धनी बाउको बिगि्रएको छोरो मान्थें र टाढा हुन्थे। मलाई पनि काल्पनिक धनीको छोरो हुन पाएकामा गर्व लाग्थ्यो।
कलेज पढ्न के-के काम गर्नुभयो ?
एउटा गरिबको छोरोले काठमाडौंमा संघर्ष गर्दा सबैथोक गर्नुपर्छ। यद्यपि मैले गरेको मुख्य काम भनेको घर-घरमा गएर गिजर फिट गर्नु थियो। जाडोमा धेरैजसो धनी मानिस गिजरको तातो पानी नुहाउँछन्। मैले जति धेरै गिजर फिट गर्यो त्यति नै बढी कमिसन पाउँथें। त्यही पैसाले मैले पहिलो वर्षको फी तिरें। मैले आधाभन्दा बढी क्लास मिस गरें। किनभने त्यो बाध्यता थियो।
पूरा क्लास नलिए पनि तपाईं नेपालकै अब्बल डिजाइनरमध्ये एक हुनुभएको छ। यसको पछाडि के कारण हुनसक्छ ?
सबैभन्दा पहिले त ईख ठूलो कुरा हो। कलेज जान नपाउनु, कलेज गएको दिन पनि साथीभाइले वास्ता नगर्नुले मलाई पीडा हुन्थ्यो। अर्को कुरा म अरूजस्तो फेसन डिजाइनमा पैसा छ वा नाम छ भनेर उक्साएको भरमा पढ्न आएको थिइन। यो मेरो रुचिको विषय थियो। दोस्रो वर्ष रुचिको काम गर्नकै लागि ३० हजार कमाइ हुने गिजरको काम छाडेर गार्मेन्टमा २५ सयको जागिर खान थालें। त्यसपछिका दुई वर्षमा मैले सातवटा गार्मेन्ट कम्पनीमा कुचो लगाउनेदेखि चेकरसम्मको काम गरें। आफ्नो उद्देश्य पूरा गर्न म जस्तोसुकै संघर्ष गर्न पनि पछि परिनँ। म धेरै माथि पुग्न चाहन्थें, त्यसैले धेरै पैसा आउने काम छाडेर थोरै पैसा आउने रुचिको काम मात्र गरें। म हरेक गार्मेन्ट कम्पनीबाट राम्रा कुरा लिन्थें र अर्कोमा जान्थे।
कलेज सक्नेबित्तिकै आफैं कम्पनी खोल्नुपर्छ भन्ने सोच कसरी आयो ?
जतिखेर म कलेज पास आउट भएँ, मसँग सर्टिफिकेट मात्र थिएन, सातवटा गार्मेन्ट कम्पनीमा काम गरेको अनुभव पनि थियो। म यति क्रिएटिभ भैसकेको थिएँ कि कुनै पनि कम्पनीले मेरो क्षमताअनुसारको जागिर दिनसक्ने अवस्थै भएन। त्यसैले धेरै कम्पनीमा फ्रिलान्सरको काम पनि गर्न थालें। म जहाँ काम गर्थें, एक-दुई महिनामै मेरो क्षमता देखेर उनीहरू मेरो तलब बढाइदिन्थे। यस्तो अवस्था भएपछि मैले आफैं काम थाल्नु उपयुक्त हुन्छ भन्ने लाग्यो। मेरो क्षमता केदारजीलाई थाहा भयो। उहाँले मलाई सहयोग गर्ने वचन दिनुभयो। त्यही आडमा मैले कम्पनी खोलेंको हुँ।
आज तपाईंको कम्पनीलाई आफैंले मूल्यांकन गर्दा कस्तो पाउनुहुन्छ ?
विदेशबाट अर्डर आइरहेको छ। सयौं कामदारले काम पाएका छन्। बैंकबाट ६० लाख रुपैयाँ ऋण लिएको छु। आफ्नो सिर्जनाले विदेशीहरूलाई खुसी बनाएको छु। हिजो १-२ सय रुपैयाँ पाउँदा पनि कलेजको फी तिर्नुपर्छ भनेर साँचेर राख्थें। आज दुई-तीन वर्षभित्रमा पैसा ठूलो कुरा होइन रहेछ भन्ने लाग्न थालेको छ।
आजको पाँच वर्षपछि विश्व गौतमको इमेज कहाँ पुग्ला ?
मलाई मेरो प्रतिभामा पूरा विश्वास छ। पाँच वर्षपछि पक्कै पनि विश्वका राम्रा फेसन डिजाइनरको नाम आउँदा कतै न कतै मेरो पनि उल्लेख हुन्छ कि भन्ने लाग्छ।
यो ठूलो लक्ष्य हो, नेपाल बसेर त्यस्तो सपना पूरा होला ?
नेपाल बसेरै कमाएको नाम र दामको अर्थ हुन्छ। नेपालमै बसेर विदेशी मुद्रा भित्र्याउनुपर्छ भन्ने मेरो सोच हो। प्रतिभा जहाँ पनि जन्मन सक्छ भन्ने कुरा प्रमाणित गर्नुपर्छ। यसका लागि केही दिन विदेशमा गएर आफ्ना शोहरू देखाउने, त्यहाँबाट अर्डर लिने तर नेपालमै काम गर्ने मेरो सोच छ।
तपाईं यति धेरै आशावादी हुनुहुन्छ, तर तपाईंकै उमेरका हजारौं युवा अन्यौलमै जीवन बिताइरहेका छन्। आफ्नो क्षमता थाहा नपाएर यस्तो भएको हो ?
सबैलाई आफ्नो खुबी थाहा हुन्छ, तर हामी नेपाली साह्रै अल्छी छौं। आफ्नो क्षमताको पूर्ण रूपमा उपयोग गर्दैनौं र अरूलाई दोष दिन्छौं। जसले आफ्नो खुबी चिनेर त्यसलाई शतप्रतिशत लागू गर्ने प्रयास गर्छ, उसलाई कसैले रोक्न सक्दैन। देश बिगि्रयो, राजनीति बिगि्रयो, काम गर्ने वातावरण छैन भन्ने त काम नगर्ने बहाना मात्र हुन्।
साभार :- कांतिपुर साप्ताहिक