के सधैंभरि यस्तै खेल चलिरहन्छ ?
Published on: Wednesday, June 22, 2011 //
अन्तर्वार्ता
एक वर्षपछि हामी फेरि त्यही अवस्थामा आइपुगेका छौं। समयमै संविधान बनाउने नेताहरूको उद्घोष भोको व्यक्तिले सपनामा खाएको खीरजस्तै भएको छ। थपिएको एक वर्षको अवधिमा देखिने गरी न संविधानसम्बन्धी कुनै काम अघि बढ्यो न शान्ति प्रक्रिया नै पूरा भयो। अहिले फेरि पोहोरको जस्तै एक थरी पार्टी र नेता संविधानसभाको म्याद थप गर्ने दौडधूपमा छन् भने एक थरी म्याद थप्दा आफ्ना सर्तहरू पूरा गर्नुपर्ने अडानमा छन्। यसपालि सर्त राखेर सत्ता साझेदारलाई अप्ठयारो बनाउने काम नेपाली कांग्रेसले गरिरहेको छ। हिजो संविधानसभा भंग गर्नुपर्ने अडान राख्ने माओवादी भने म्याद थप्नुपर्ने पक्षमा उभिएको छ। आखिर किन यसो भैरहेको छ ? के सधैंभरि यस्तै खेल चलिरहन्छ ? यसको दोषी को हो र हाम्रो भविष्य के हुन्छ ?यस्तै विषयमा साप्ताहिकले प्रमुख तीन दलका युवा नेतासँग चिन्ता व्यक्त गरेको थियो। एकीकृत नेकपा (माओवादी) का चन्द्रबहादुर थापा 'सागर', नेपाली कांग्रेसका गगन थापा एवं नेकपा (एमाले) का नेता रवीन्द्र अधिकारीसँग साप्ताहिकका अश्विनी कोइरालाले गरेको कुराकानीः
संविधान किन बनेन ?
चन्द्रबहादुर थापा 'सागर'ः राजनीतिक दलमा संविधान बनाउने उद्देश्य गौण भएकाले संविधान नबनेको हो। राजनैतिक दलहरूको आँखा संविधानमा होइन, सत्तामा छ। त्यसैले जो सत्तामा रहन्छ, उसको चासो संविधानमा रहन्छ। जो बाहिरिन्छ, ऊ संविधानसभा नै भङ्ग गर्न चाहन्छ। तीतो सत्य यही नै हो।
गगन थापाः मैले यसमा तीन कारण देखेको छु। पहिलो संविधान निर्माणलाई हामीले भिन्दै कार्यका रूपमा बुझ्यौं। वास्तवमा संविधान निमार् ण निरपेक्ष विषय होइन, थिएन। यो सत्ता र शक्तिको बाँडफाँडसँग सम्बन्धित छ। दोस्रो कुरा, कस्तो शासनका लागि संविधान बनाउँदैछौ भन्ने कुरा हामीले हेक्का राखेनौं। वास्तवमा हामी राज्यको पुनर्संरचनादेखि प्राकृतिक शक्तिको बाँडफाड हुनेसम्मको दुरगामी प्रभाव पार्ने खालको संविधान निर्माण गर्दैछौं। यति ठूलो विषयमा दुई वर्षमै सहमति हुन्छ र संविधान बन्छ भन्ने कोरा कल्पना गरियो, जुन पूरा हुन सम्भव थिएन। यसले समय लिन्छ। अन्तिम तर महत्वपूर्ण कुरा एउटै किसिमका विचारधारा भएका दलहरूको सहमतिमा होइन, दुई फरक सिद्धान्तद्वारा निदेर् शित फरक विचारधाराका शक्तिहरूको सहमतिमा यो संविधान बन्दैछ। विपरीत ध्रुवका दलहरूबीच कुरा मिल्न समय लाग्ने भएकाले पनि संविधान बनेन।
रवीन्द्र अधिकारीः राजनैतिक सहमतिको अभाव नै संविधान नबन्ने मुख्य कारण हो। निर्वाचनअघिसम्म सबै कुरा मिलेको थियो। त्यसैले हामीले दुई वर्षमै संविधान बन्छ भन्ने आँकलन गर्यौं। जसै संविधानसभाको निर्वाचन भयो, पुरानो शक्ति सन्तुलनमा गडबडी आयो। माओवादीमा आफूलाई मात्र जनताले मन पराए, आफू मात्र जितुवा र अरू सबै हरुवा भन्ने मानसिकता पलायो। अंकगणितीय हिसाबले माओवादी माथि आए पनि अरू दललाई जनताले जिम्मेवार मत दिएर पठाएका थिए। जुन बेलादेखि माओवादीले अरू दललाई पेल्ने मानसिकता बनायो, त्यही दिनदेखि संविधान निर्माणमा कठिनाइ उत्पन्न हुन थाल्यो।
नलुकाई भन्नुपर्दा संविधान बन्न नसक्नुको मुख्य दोषी कसलाई मान्नुहुन्छ ?
सागरः म स्पष्ट शब्दमा भन्छु, संविधान बन्न जुन ढिलाइ भयो, त्यसको मुख्य कारण नेकपा (एमाले) को जोकर प्रवृत्ति हो। जनताले तेस्रो स्थानमा मत दिए पनि उसलाई सधैं प्रधानमन्त्री चाहिने, यसका लागि कहिले कांग्रेससँग त कहिले माओवादीसँग मिल्नुपर्ने र सधैं सत्तामा पुग्नुपर्ने धारणाले यो अवस्था आएको हो। एमालेबिना केही गर्न नसकिने, ऊ सत्ताबाहेक अरू केही नचाहने यो नै अप्ठयारो अवस्था हो। दोस्रो गल्ती नेपाली कांग्रेसको छ। नेपाली कांग्रेसले आफूलाई मात्र लोकतान्त्रिक दल मान्ने दृष्टिदोषका कारण पनि हामी समस्यामा पर्यौं। उसलाई भोट दिने चाहिँ जनता, हामीलाई भोट दिनेचाहिँ आतंककारी देख्ने उसको दृष्टिदोषका कारण हामीले ल्याएका सबै एजेन्डा उसलाई भूतजस्तै तर्साउने विषय लाग्छन्। हाम्रो पनि गल्ती छ। १० वर्ष जनयुद्ध हुँदा एकताबद्ध भएर हिँड्ने माओवादी पार्टी अहिले निश्चित व्यक्तिका पछि लाग्ने भएको छ। कहिले प्रचण्डको नीति, कहिले भट्टराईको नीति त कहिले वैद्यको नीतिको पछि लाग्दा संविधानसभाको काममा घनिभूत भएर लाग्न सकिएन।
गगन थापाः मुख्य दोषी नेकपा (माओवादी) नै हो। सबै कुरा आफू अनुकूल मात्र व्याख्या गर्ने प्रवृत्ति नछोड्नु नै अहिलेको अवस्थाको मुख्य कारण हो।
रवीन्द्र अधिकारीः गल्ती सबै दलको छ। यद्यपि ठूलो दल भएका कारण यसको मुख्य दोषको भागीदार एकीकृत माओवादी नै हो। जहाँ पनि आफ्नै कुरा लागू हुनुपर्छ, हामी मात्र जनताको मत पाएका दल हौं, अरू केही होइनन् भन्ने सोचकै कारण आजको अवस्था आएको हो। सबै भन्दा रमाइलो कुरा तीन दलका मुख्य नेताहरूले गल्ती गर्छन्, हामी स-साना नेता एवं सभासद् त्यसको अपजस बेहोर्न बाध्य भएका छौं।
म्याद थपपछि पनि संविधान बन्छ भन्ने के ग्यारेन्टी छ ?
सागरः बन्नुपर्छ, नत्र जनताको मतको अपमान हुन्छ।
गगन थापाः संघीयतासँगै धर्मनिरपेक्षता, शक्तिको बाँडफाँडजस्ता कुरा जटिल भएकाले फेरि पनि समयमै संविधान बन्छ भन्ने कुरामा मलाई शंका लाग्छ।
रवीन्द्र अधिकारीः पहिले जति पनि राजनीतिक असफलता हात परे, त्यसको दोष राजालाई दिइन्थ्यो। अब कसलाई दोष दिने ? यही दोष पन्साउन नमिल्ने अवस्थाकै कारण बाध्यतामा भए पनि संविधान बन्छ।
समयमै संविधान बनाउन नसक्दा दलहरूप्रति जनताको विश्वास घृणामा
परिवर्तन हुन थालेको छ। यसको फाइदा कुनै अतिवादी शक्तिले लिने सम्भावना छ कि छैन ?
सागरः जनतामा निराशाको भावना निकै बढे पनि अहिलेसम्म मुख्य तीन दलको ठाउँ लिन सक्ने कुनै शक्ति देखिएका छैनन्। त्यसैले संविधान निर्माणमा ढिलाइका कारण कुनै अतिवादी शक्तिले फाइदा लिन्छ भन्नु कल्पना मात्र हो। हाम्रो गल्ती के हो भने हामीले यति ठूलो द्वन्द्वबाट आएको अवस्थामा देशको अन्तरवस्तु एवं विदेशको अनुभव लिएर संविधान निर्माण एवं शान्ति-प्रक्रियाका लागि अलि लामो समय (५-१० वर्ष) लिनुपर्थ्यो। त्यही गल्तीले अहिलेको निराशा बढाएको हो। यद्यपि शक्ति अतिवादीतिर जाला भन्ने चिन्ता लिनुपर्ने अवस्था भने देखिँदैन।
गगन थापाः यदि यसपटक पनि संविधान बन्न सकेन भने देश विखण्डनतिर जान सक्ने खतरा निकै देख्छु। घरेलु द्वन्द्व बढेर जाने र त्यसले गृहयुद्धको रूप लिन सक्ने सम्भावना छ। त्यसबेला यी दलहरूले जनता हामीसँगै छन् भन्ने भ्रम पाले भने त्यो सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ। अहिले विकल्प खोज्नुपर्छ भन्ने स्वर यदाकदा सुनिन थालेको छ, झट्ट सुन्दा त्यो लोकिप्रय पनि देखिन्छ, तर त्यसले भयंकर अप्ठयारो निम्त्याउनेछ।
रवीन्द्र अधिकारीः दलहरू असफल भएपछि अहिले जनतालाई नियन्त्रण गर्ने कोही छैन भन्नु हाम्रो कमजोरी हुन जान्छ। अतिवादीका भिन्न- भिन्न रूप हुन सक्छन्। त्यसैले सचेत हुनु आवश्यक छ।
आजको दुई वर्षपछि हामी कहाँ हुन्छौं ?
सागरः अहिलेको अवस्था जस्तोसुकै भए पनि म दुई वर्षपछिको भविष्य सुनिश्चित देख्छु। सबै राजनैतिक दलले महत्वकांक्षा त्यागेको अवस्थामा हामी संविधान निर्माण सकेर नयाँ जनादेशका लागि जनतासँग पुग्ने तयारी गरिरहेका हुन्छौं। त्यसबेला हामीसँग नयाँ नेपालको स्पष्ट खाका आइसकेको हुनेछ।
गगन थापाः यस्तो होस् भनेर कल्पना गर्नु अथवा मेरो व्यक्तिगत इच्छा एउटा कुरा हो, तर जसरी घटनाक्रम बढिरहेको छ, मचाहिँ हाम्रो भविष्य निकै कारुणिक देख्छु। म निराशावादी व्यक्ति होइन, यद्यपि जसरी समय बितिरहेको छ, त्यसको मूल्यांकन गरेर भन्नुपर्दा दुई वर्षपछि हाम्रो स्थिति अझ बिजोगको हुन्छ भन्ने लाग्छ।
रवीन्द्र अधिकारीः म धेरै आशावादी छैन। यद्यपि शान्ति र संविधानको धेरै नजिक पुगेको अवस्थामा केही प्रगति होला भन्ने लाग्छ।
साभार :- कांतिपुर साप्ताहिक