Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

चलचित्र क्षेत्रलाई सरकारले सबैखाले सुविधा दिएको छ

Published on: Saturday, June 11, 2011 //


अध्यक्ष, क्वेस्ट इन्टरटेन्मेन्ट प्रालि
चलचित्र प्रदर्शनको परम्परागत प्रविधिमा आमूल रूपान्तरण गरेर फिल्म पारखी नेपालीहरूमाझ लोकप्रिय बनेको क्वेस्ट इन्टरटेन्मेन्टका अध्यक्ष नकिम उद्दिन आपूmले यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् । काठमाडौंका दर्शकलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सुविधा दिएर सन्तुष्ट पार्न सके पनि उपत्यकाबाहिर लगानीको वातावरण नै नहुँदा उनी रोकिएका छन् । क्वेस्टमार्फत २ वटा पृथक धारका नेपाली चलचित्र (कागबेनी र सानो संसार) समेत निर्माण भएका छन् । अध्ययन र अनुसन्धानको कमीले नेपाली चलचित्र क्षेत्रमा कहिल्यै गुणात्मक परिवर्तन आउन नसकेको बताउने नकिम सरकारसँग भने कुनै गुनासो गर्दैनन् । नेपाली चलचित्र क्षेत्रले सरकारीस्तरबाट आवश्यक सबैखाले सहयोग पाइरहेको उल्लेख गर्दै उनले नेपाली चलचित्रकर्मीले यो सुविधाबाट लाभ लिन नसकेको बताए ।
क्वेस्ट इन्टरटेन्मेन्टले हाल काठमाडौंमा जय नेपाल र कुमारी सिनेमा हल सञ्चालन गरिरहेको छ भने क्यूएफएक्स ब्रान्डमा सेन्ट्रल सिनेमामार्फत अन्तर्राष्ट्रियस्तरको सुबिधा उपलब्ध रहेको उनको दाबी छ । प्रस्तुत छ, क्वेस्ट इन्टरटेन्मेन्टका अध्यक्ष नकिमसँग विपेन्द्र कार्की र सञ्जय पन्थीले गरेको कुराकानीः
चलचित्र प्रदर्शन व्यवसायको समग्र अवस्था कस्तो छ ? क्वेस्ट समूहले सञ्चालन गरेका हलहरूमा व्यापारको अवस्था कस्तो छ ?
मुलुकको अस्थिर राजनीतिक अवस्थाको असरबाट अन्य व्यवसाय जस्तै यो व्यवसाय पनि अछुतो छैन । बन्द र हड्तालजस्ता मुलुकको अवस्थाका कारण चलचित्र हलहरूले आफ्ना नियमित दर्शकलाई जोगाई राख्न साँच्चै नै कठिन भएको छ । चलचित्र प्रदर्शनको व्यवसायका बारेमा भन्नुपर्दा पछिल्लो समयमा ४/५ महिनाको अन्तरालमा हिन्दी चलचित्र ‘रेडी’ को प्रदर्शनले केही उत्साह जगाएको छ । नेपाली दर्शकहरू पनि चलचित्रको गुणस्तरअनुसार हलमा आएर चलचित्र हेर्ने बानीको विकास भएको छ । बजारमा गुणस्तरीय चलचित्रको निर्माण तथा रिलिज नभएकाले पनि केही सुस्ताएको यो व्यवसायमा अहिले हिन्दी चलचित्र रेडीको प्रदर्शनसँगै हलहरूमा दर्शकको चाप बढेको छ । हाम्रो समूहले सञ्चालन गरेका हल क्यूएफएक्स सिनेमाजसहित अन्य हलको व्यापार पनि सन्तोषजनक नै छ ।
क्वेस्ट इन्टरटेनमेन्टले हालै मल्टिप्लेक्सको माध्यमबाट क्यूएफएक्स सिनेमाज सञ्चालनमा ल्याउनुभएको छ । यस्तो परिस्थितिमा पनि चलचित्र प्रदर्शनमा ब्रान्ड (क्यूएफएक्स सिनेमाज) स्थापनासँगै यो व्यवसाय प्रवद्र्धन गर्न कत्तिको सफल हुन सक्नुभयो ?
हामीले क्वेस्ट इन्टरटेन्मेन्टका नामले चलचित्र प्रदर्शन व्यवसाय सञ्चालन गरेको एक दशकको अनुभवले यो व्यवसायमा ब्रान्ड (क्यूएफएक्स सिनेमाज) स्थापित गर्न सफल भएका हौं । यो ब्रान्ड नेपालको चलचित्र प्रदर्शन व्यवसायमा पहिलो हुन सफल भएको छ । क्वेस्ट इन्टरटेन्मेन्टले स्थापित गरेको क्यूएफएक्स सिनेमाज निश्चित वर्गका दर्शकमा लक्षित छ । चलचित्र दर्शकलाई साँच्चै नै पहिचान गर्न हामी सफल पनि भएका छौं । क्यूएफएक्स सिनेमाजमा १६ देखि ३५ वर्ष उमेर समूहका युवा–युवती हाम्रा नियमित दर्शक बन्न पुगेका छन् । निम्न मध्यमवर्गीय परिवारका युवावर्गदेखि वैदेशिक भ्रमण र रोजगारीबाट फर्किएका मानिसलाई पनि आकर्षण गर्न क्यूएफएक्स सिनेमाज सफल भएको अवस्था छ । हामीले स्थापना गरेको ब्रान्ड प्रविधि र सेवा आधारित रहेको छ । क्यूएफएक्स सिनेमाज नामको ब्रान्ड हाम्रा लागि गर्वको विषय बनेको छ । यहाँ आउने दर्शकले उच्चस्तरको सुबिधामा चलचित्र हेर्दा अवश्य पनि रमाइलो अनुभव गरेका छन् । क्यूएफएक्स सिनेमाजमा तालिम प्राप्त अनुभवी कर्मचारीहरूको गुणस्तरीय सेवा, सदस्यता लाभ, उच्चस्तरीय स्न्याक्स बार, अनलाइन बुकिङलगायतका सुबिधा उपलब्ध छन् । ण्हामीले क्यूएफएक्समा भित्राएको साउन्ड प्रविधि पनि दक्षिण एसियामा नै पहिलो हो ।
यहाँले दाबी गरेजस्तै परम्परागत शैलीका हलमा चलचित्र हेर्ने दर्शकलाई क्यूएफएक्स सिनेमाजले साँच्चै नै नेपाली दर्शकका लागि नौलो स्वाद दिन सफल भएको छ त ?
चलचित्र प्रदर्शन व्यवसायमा एक दशकभन्दा लामो अनुभव संगालेको व्यवसायी भएको नाताले भन्नुपर्दा साँच्चै हामीले स्थापित गरेको ब्रान्ड क्यूएफएक्स सिनेमाजले आरोलो लाग्दै गएको चलचित्र व्यवसायलाई एक हदसम्म प्रवद्र्धन गर्न सफल भएको छ । यसअघि पनि परम्परागत शैलीका हलमा ५० रुपैयाँको टिकट काटेर चलचित्र हेर्ने दर्शकलाई क्वेस्टले सञ्चालन गरेका हलहरूबाट डेढ सय रुपैयाँको टिकट काटेर चलचित्र हेर्ने दर्शक हामीले नै जन्माएका हौं । दर्शक र चलचित्र निर्माणको अवस्था तथा दर्शकको चाहनालाई मध्यनजर गर्दै क्यूएफएक्स ब्रान्ड स्थापित गरेका हौं । अर्कोतर्फ नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका हलहरू छन् भन्ने सन्देश दिन हामी सफल भएका छौं ।
नेपालमा चलचित्र हलसम्म पुगेर चलचित्र हेर्ने दर्शकको संख्यात्मक अवस्था कस्तो छ ? नेपाली चलचित्रहरू यहाँहरूले सञ्चालन गरेका हलहरूमा प्रदर्शन हुने अवसर नै पाउँदैनन् भन्ने गुनासो चलचित्र निर्माता÷निर्देशकको छ नि ?
दर्शकको कुरा गर्दा नेपालमा चलचित्र हलहरू कति सञ्चालनमा छन् भन्ने कुरा उल्लेख गर्नु सान्दर्भिक रहन्छ । नेपालमा सञ्चालित चलचित्र हलको संख्या करिब १ सय ५० छ । तीमध्ये पनि अधिकांश दर्शकको अभावमा जेनतेन सञ्चालन भइरहेको अवस्था छ । हल पुगेर चलचित्र हेर्ने दर्शकको संख्या कुल जनसंख्याको २ प्रतिशतमात्र छ । नियमित दर्शकको संख्या २ प्रतिशत हुनुका पछाडि पनि आफ्नै कारण छन् । गुणस्तरीय नेपाली चलचित्रको निर्माण हुन नसक्नु, निर्माण भएका चलचित्रले परम्परागत शैली मात्र अपनाउनु, विषयगत विज्ञता नभएका निर्माता÷निर्देशकको जबरजस्ती निर्माण गरेका चलचित्रले दर्शकको चाहनालाई बुझ्न नसक्नु र मुलुकको विषम परिस्थितिका कारण पनि यो व्यवसायले उल्लेख्य प्रगति गर्न नसकेको हो भन्ने मलाई लाग्छ । हामीले सञ्चालन गरेका हलहरूमा नेपाली चलचित्रले प्रदर्शनको अवसर पाउँदैनन् भन्ने गुनासो गर्नु स्वाभाविक पनि हो । किनकि हामीले सञ्चालन गरेका जय नेपाल, कुमारी र क्यूएफएक्स सिनेमाज अन्तर्गतका हलमा नेपाली सिनेमा प्रविधिका दृष्टिकोणले पनि कमै मात्र काम लाग्ने गरेका छन् । यसको मतलब प्रदर्शन नै हुँदैनन् भन्नेचाहिँ होइन । अन्य भाषी(हिन्दी÷अंग्रेजी) चलचित्रको तुलनामा नेपाली चलचित्र कम प्रदर्शन हुने गरेका छन् ।
त्यसका पछाडि पनि केही कारण छन् । नेपाली चलचित्रप्रति दर्शकको आकर्षण कम हुनु, दर्शकको आकर्षण कम हुने बित्तिकै व्यापारमा कमी आउने भएकाले हिन्दी र अंग्रेजी चलचित्रको प्रदर्शनमा हामीले बढी जोड दिनुपर्ने बाध्यता छ । ती पनि तत्काल रिलिज भएका महँगो लगानीका छन् । दर्शकको चाहनामा आधारित व्यवसायले गर्दा उहाँहरू कै चाहनाका चलचित्र प्रदर्शनमा हामीले ध्यान दिने गरेका छौं ।
नेपाली चलचित्र गुणस्तरीय नै हुँदैनन् भन्नुभयो, गुणस्तरीय चलचित्र निर्माण गरेर दर्शकको संख्यामा वृद्धि गर्नु यहाँहरूको पनि जिम्मेवारी होइन र ?
सबै नेपाली चलचित्र गुणस्तरीय छैनन् मात्र नभनौं, व्यापारका हिसाबले हेर्ने हो भने दसकौं पहिले निर्माण भएको प्रेमपिण्डले तत्कालीन समयमा पनि ५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो । तत्कालीन अवस्थामा हलमा टिकटको दर पनि सस्तो थियो । ५०/६० रुपैयाँको टिकट दर महँगो हुन्थ्यो । चलचित्र निर्माण गर्दाको लगानी पनि अहिलेभन्दा कम थियो । त्यसैले सबै नेपाली चलचित्र गुणस्तरका छैनन् भन्न मिल्दैन । जिम्मेवारीको कुरा गर्दा हामीले पनि डिजिटल सिनेमा कम्पनीबाट नेपाली चलचित्र निर्माण गरेको अवगत गराउन चाहन्छौं । कागबेनी, सानो संसारलगायतका चलचित्र हामीले आफ्नै लगानीमा निर्माण गरेका हौं । व्यावसायिक हिसाबले ती चलचित्रलाई असफल भन्न मिल्दैन् । भविष्यमा पनि नेपाली चलचित्र निर्माण गर्ने हाम्रो योजना छ । भर्खरै मात्र हाम्रा साझेदार भाष्कर ढुंगानाले अमेरिकामा चलचित्रसम्बन्धी १ वर्ष अध्ययन गरेर फर्कनु भएको छ । अवश्य पनि उहाँको अध्ययन र विज्ञतालाई उपयोग गरेर अन्तर्राष्ट्रियस्तरको प्रविधिको उपयोग गर्दै गुणस्तरीय नेपाली चलचित्र निर्माण गर्नेछौं ।
नेपालमा तपाईंहरूले सञ्चालन गरेका हलहरूको सुबिधा अन्तर्राष्ट्रियस्तरको दाबी गर्दै आउनुभएको छ, राजधानीबाहिर पुरानै भौतिक संरचनाका सञ्चालित हलहरूको अवस्था नाजुक छ । पुराना शैलीका चलचित्र र हलहरूको अवस्थामा सुधार गर्नु आवश्यक भइसकेन र ?
हामीले यस क्षेत्रमा जेजति काम गरेका छौं, त्यो क्षेत्रमा सुधार गर्नु अवश्य पनि हाम्रो नैतिक जिम्मेवारी हो र केही योगदान गर्नुपर्छ भनेर नै हामीले चलचित्र निर्माणमा समेत हात हालेका हौं । हामीले राजधानीका दर्शकलाई आफ्ना दर्शक बनाउन सफल भएकाले पनि उहाँहरूको चाहनालाई ध्यानमा राखेर एकपछि अर्काे सुबिधा उपलब्ध गराउँदै अन्तर्राष्ट्रियस्तरको सुबिधा उपलब्ध गराउन सक्षम भएका हौं । हाम्रो दाबी दर्शकले समेत अनुभव र अनुभूति गरेर सिद्ध भइसकेको हो । उदाहरणका लागि भारतभर करिब २२ हजार हल सञ्चालनमा छन् । तीमध्ये ‘थ्रीडी’ प्रविधिका ६५ हल मात्रै छन् तर हामीकहाँ डेढ सय हलहरूमध्ये हामीले सञ्चालन गरेका ३ वटा हलमा त्यो प्रविधिको सुबिधा उपलब्ध छ । समयसापेक्ष भएर सुबिधा प्रदान गरेर हामीले आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरको दाबी गर्न सफल भएका हौं ।
कतिपय नेपाली चलचित्र निर्माता आपूmले निर्माण गरेका चलचित्र चलाउन आग्रह गर्न आउनुहुन्छ । तर गुणस्तर र विषयवस्तुका हिसाबले दयनीय अवस्थाका हुने गरेका छन् । हामी प्रदर्शक हौं, नेपालीले निर्माण गरेका राम्रा चलचित्रलाई हामीले प्रोत्साहन गर्नुपर्ने हुन्छ । हाम्रा दर्शकले मन पराउने किसिमका चलचित्र नै बन्न नसक्दा हामीले चाहेर पनि चलाउन नसकेका हौं । नेपाली चलचित्रमा लगानी नै वृद्धि हुन नसक्नु, विषयवस्तुको पहिचान गरेर चलचित्र निर्माण हुन नसक्दा नेपाली चलचित्रको पहुँच अन्तर्राष्ट्रिय स्तर हुन नसकेको हो भन्ने हाम्रो बुझाइ छ । त्यसैले हामी चलचित्र निर्माताले नेपाली चलचित्रको गुणस्तर वृद्धि गर्न आवश्यक छ भने हलवालाहरूले पनि सुबिधा समपन्न हलहरूबाट दर्शकलाई मनोरञ्जन दिन सक्नुपर्छ । नेपाली चलचित्र निर्माता÷निर्देशक र हलवालाहरूले दर्शकको चाहनालाई मध्यनजर गर्दै गुणस्तर, प्रविधि र संरचनामा समय सापेक्ष सुधार गर्दै समग्र चलचित्रजगत र व्यवसायलाई उकास्न आश्यक छ ।

नेपाली चलचित्र निर्माणको पक्ष सुधार गर्न के गर्नुपर्ला ?
निर्माता र निर्देशकले मुख्यगरी विषयवस्तु र प्रविधिमा ध्यान दिनुपर्छ । चलचित्र निर्माण गर्नु व्यावसायिक कुरा हो, राम्रा चलचित्र निर्माण गर्न ठूलो लगानीको पनि आवश्यक रहन्छ । दक्षता, अध्ययन, लगानी र अनुभव भएकाले यस क्षेत्रमा निरन्तरता दिनु आवश्यक छ । बिस्तारै÷बिस्तारै केही विषयगत अध्ययन भएका दक्ष र जुझारु जनशक्ति यस क्षेत्रमा प्रवेश गरेका छन् । अध्ययन र दक्षता भएका व्यक्तिले केही राम्रा चलचित्र निर्माण गरेको जानकारी मैले पाएको छु । आशा गरौं व्यावसायिक रूपमा पनि ती चलचित्र सफल हुनेछन् । नामै लिएर भन्नुपर्दा गायक भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ । प्रशान्त रसायलीले निर्माण गरेको सो चलचित्र प्रदर्शन अगावै राम्रो बनेको चर्चा चलेको छ, उ अनुभवले दक्ष पनि हो । हाम्रो तर्फबाट भन्नुपर्दा चलचित्र निर्माणमा “राम्रो कन्सेप्ट” लिएर आउने प्रतिभालाई उसको गुणका आधारमा हामी लगानी गर्न तयार रहेको जानकारी समेत यहाँहरूमार्फत गराउन चाहन्छौं । सरकारले त नेपाली चलचित्रहरूलाई दिनसक्नेजति सबैखाले सुबिधा दिएको छ । तर त्यसको उपयोग हामीले गर्न सकेका छैनौं । नेपाली सिनेमाप्रति सरकारको सकारात्मक नीतिलाई हामीले ‘क्यास’ गर्नु आवश्यक छ ।
चलचित्र हल व्यावसायीहरू समूहमा विभाजित हुँदा राम्रा चलचित्र निर्माण गरेर पनि तत्काल प्रदर्शन गर्न नपाएकोे निर्माता /निर्देशकको गुनासो बेला–बेलामा सुनिन्छ, यसमा कत्तिको सत्यता छ ?
चलचित्र विकास बोर्डले कुनै बेला त्यो नियम बनाएको थियो, तर अहिले त्यो अवस्था छैन । मोफसलमा भन्दा पनि राजधानीका हलहरूमा प्रदर्शन हुन वर्ष दिनसम्म “क्यु”मा बस्नुपर्ने अवस्था थियो तर त्यो नियमलाई हामीले नै तोडेका हौं । अहिले त्यो अवस्था छैन । राम्रा चलचित्रले तत्काल प्रदर्शन गराउन हामीले मौका प्रदान गर्ने गरेका छौं ।
चलचित्र निर्माण र प्रदर्शन व्यवसायमा यहाँहरूले कमाउनुभएको साखलाई बचाउन आगामी दिनमा यस क्षेत्रमा के गर्ने योजना बनाउनुभएको छ, ?
विगतमा हामीले ‘कागबेनी’ र ‘सानो संसार’ नामक चलचित्र निर्माण र क्वेस्ट इन्टरटेनमेन्ट, क्यूएफएक्स ब्रान्ड स्थापित गर्दासम्मको अनुभवले यो क्षेत्रमा नेपाली दर्शकको न्यानो माया र स्नेह पाएका छौं । त्यसलाई बचाइराख्न हामीले आफ्ना दर्शकको सुझावका आधारमा दुवै क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै जानेछौं । सहकर्मी भाष्करको अध्ययन र दक्षतालाई उपयोग गर्दै चलचित्र निर्माणलाई निरन्तरता दिनेछौं । हलहरूमा पनि लगानी थप्दै आधुनिक प्रविधि र सुबिधा सम्पन्न बनाउँदै लाने छौं ।

नेपाली बजारमा यहाँहरूको व्यावसायिक प्रतिस्पर्धा कोसँग छ ?
कुरा गर्दा हाम्रो प्रतिस्पर्धी बिग सिनेमाज नै हो । परम्परागत संरचना र प्रविधिमा चलचित्र हेर्ने नेपाली दर्शकलाई सुबिधा समपन्न हलबाट सेवा प्रदान गरेर गुणस्तरको स्वाद हामीले सञ्चालन गरेका हल कुमारी र जय नेपालबाट चखाएका हौं । त्यही बीचमा यो व्यवसायमा प्रवेश गरेर त्योभन्दा उच्चस्तरीय सुबिधासहित फरक स्वाद चखाउन बिग सिनेमाज आएको हो । उहाँहरूको प्रवेश आपत्तिजनक होइन् तर प्रतिस्पर्धा भने उहाँहरूसँग नै हो । त्यसैले हामीले सिभिल मलमा मल्टिप्लेक्सबाट त्योभन्दा पनि उच्चस्तरको सुबिधासहित क्यूएफएक्स सिनेमाज सञ्चालन गरेर नेपाली दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको सुबिधा प्रदान गर्न सक्षम भएका छौं ।
नेपाली चलचित्र क्षेत्रका लगानीकर्ता हल व्यवसायी, निर्माता, निर्देशकलाई यहाँले के सुझाव दिनुहुन्छ ?
डर, धम्की र चन्दाका भरमा चलचित्र हल र प्रदर्शन गर्नु परिरहेको अवस्था छ । त्यो अवस्थाको अन्त्य हुनुपर्छ । राजनीतिक अस्थिरताले गर्दा त्यो सबै अवस्था सिर्जना भएको हो । आशा गरौं हामी सबैले व्यवसाय सञ्चालन गर्न लिने राजनीतिक गुट, उपगुट र दलहरूको साहरा लिने प्रवृत्तिको अन्त्य गरौं । व्यावसायिक साथीहरूकै बीचमा स्वस्थ प्रतिस्पर्धा गरौं । आ–आफ्नो क्षेत्रबाट इमान्दारी प्रकट गरेर स्वच्छ प्रतिस्पर्धाका आधारमा व्यवासाय सञ्चालन गर्न ध्यान दिऊ भन्न चाहन्छु ।
साभार : कारोबार

0 comments for "चलचित्र क्षेत्रलाई सरकारले सबैखाले सुविधा दिएको छ"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!