अब शिवजीलाई लिएर डिस्कोतिर...
Published on: Thursday, July 7, 2011 //
feature,
अन्तर्वार्ता
कोमल वलीको गायकी संधै चर्चामा रहने गर्छ । लगभग एक दर्जन एल्बम निकालिसकेकी यी गायिका कहिले 'पोइल जान पाम...' भन्छिन्, कहिले, 'गोजीमा गाँठ भाको मर्द भेटिएन...', कहिले 'झ्वाँक तन्नेरी...' त कहिले 'धत्तेरिका शिवजी रहछौ बद्मास...' भन्छिन् । उनको अर्को विशेषता हो लगातार 'शिवजी शृंखला' मा तीज एल्बम । 'पोइल जान पाम' देखि वर्षैपिच्छे 'कान्छी बूढी नल्याओस् मेरा बूढाले', 'झकास', 'भेटिएन कोही', 'बदमास' एल्बम निकालेकी उनले यस पटक भने नयाँ थिममा काम गरेकी छन् । हालै बजारमा आएको 'बबाल तीज' मा उनले डिस्को कल्चरमा तीजलाई भित्र्याउने कोसिस गरेकी छन् ।
पाँच वर्षअघि 'पोइल जान पाम’ एल्बमदेखि पछयाएका शिवजीलाई यसपटक छाड्नुभयो नि ?
शिवजीले मनको कुरा नै सुनिदिनुभएन । अब शिवजीलाई लिएर डिस्कोतिर पो जाँदै छु यसपटक, धुवाँ उडाउन ।
तीज एल्बममा डिस्कोको कुरा...
यो बिलकुल न्यु जेनेरेसनलाई हेरेर तयार पारिएको गीत हो । तीज हिन्दु नारी समुदायको आस्था, परम्परा र संस्कृति भए पनि नयाँ पुस्ता विमुख हुँदै छ । यो पुस्तालाई तीजतिर तान्न यसो गरेकी हुँ । फेरि यो समय अनुसारको कुरा पनि हो ।
भन्नाले ?
समय अनुसार मान्छेको इच्छा, आकांक्षा र शैली बदलिँदै जान्छ । मैले पहिलो तीज एल्बम निकालेको समय (२०५०) र अहिलेको समयबीचमै पनि धेरै बदलाब आइसक्यो । पहिलोमा मैले 'मेरो बाबा हुँदा हुन् तो चोलिया दाइजो दिँदा हुन्, लेऊ न भाउजू मलाई जोली परेवा...' गाएकी थिएँ । दाइजोमा परेवा दिने जमाना थियो त्यो, छोरी बिहानै उठोस् भनेर । अचेल श्रीमतीहरू घाम उदाएसम्म सुत्छन् र लोग्नेहरू मर्निङ-वाक गइवरि कफी बनाउन भ्याइसक्छन् ।
यो त सहरी परिवेशको कुरा...
एल्बममा म एकदमै ब्यालेन्समा छु । सहर र गाउँ दुवैलाई मन पर्ने गीत छन् । इन्फरमेसन टेक्नोलजीको जमाना हो, अब गाउँ पनि सहरबाट कति नै टाढा छ र ?
भनेपछि, आधुनिक बजारिया संस्कृतिलाई यसपटकको एल्बममा समेट्नुभएको छ ?
सबैजना अहिलेभन्दा एक स्टेप एड्भान्स हुन चाहन्छन् । पुराना सोच र संस्कारहरू परिमार्जन हुँदै जान्छन् । यस पटक यही थिममा काम गरेकी छु ।
डिस्को पुस्तालाई समेट्ने अवधारणा कसरी आयो ?
कन्सर्टहरूमा गाउन जाँदा यस्तो अवधारणा आयो । मैले गाइन्जेल लोकलयमा ताली बजाएर दर्शकहरू नाच्छन्, त्यसपछि त डिजेले बजाएको फास्ट विट म्युजिकतिर तन्नेरी पुस्ता झुम्मिहाल्छ । कतै 'मुन्नी बदनाम हुई...' त कतै 'शिला के जवानी...' । जहाँ पनि यस्तै हो भने उनीहरूलाई नचाउन किन अरूको गीतको साहरा लिने ? अनि फास्ट डान्सिङ बिटमा काम गरें । रमेश बिजीका शब्द र दण्डपाणि पाण्डेको संगीत साँच्चै बोल्ड लाग्नेछ श्रोतालाई ।
अंग्रेजी र्याप पनि हाल्नुभएछ ?
हो, नयाँ पुस्ताका लागि काम गर्ने भएपछि किन नगर्ने भन्ने लाग्यो । अनि गीतको बीचबीचमा घुसाइदिएँ- 'लेट्स हयाभ अ सेलिब्रेसन, दिस इज आवर ट्रेडिसन...' ।
परम्पराको कहाँ आयो त ?
कुरा परम्परा, संस्कृतिकै हो । तीजकै हो । शैली मात्रै फरक । मेरा जति पनि तीजका गीत छन्, दिदीबहिनीकै एंगलबाट दृष्टिकोण दिन खोजेकी छु । हरेक लोग्नेमान्छे स्वास्नी सधैं चुरा, पोते र सिन्दुरमा चिटिक्क सजिऊन् भन्ठान्छन् । अब प्रेमको शैली पनि बदलिँदै गएको देख्छु । पतिभक्त हुनलाई चुरा, पोते र सिन्दुर नै लाउनुपर्छ र ?
तपाईंलाई अलिक छाडा गायिका भन्ने पनि छन् नि ?
हाम्रो संस्कारले जे भन्छ, मैले त्यही गाएकी हुँ । तीजमा राम्रो पतिकै लागि प्रार्थना गर्ने हुन्, गाउने हुन्, नाच्ने हुन् । हिन्दु संस्कारले नारीलाई यसरी नै मनोवैज्ञानिक रूपमा दीक्षित पार्छ । म सानैमा तीजको व्रत बस्दा मलाई केही थाहा थिएन, आमाले 'शिव सम्झेर राम्रो पोई (वर) माग्' भन्नुभो । यसैलाई मैले गीत बनाएँ अपन म कसरी छाडा ? गीत अश्लील थियो भने देशविदेशका कन्सर्टमा किन त्यही गीत रुचाइन्छ, किन ५० हजार एल्बम बिक्छ ?
यसपटक पनि जाँदै हुनुहन्छ हैन विदेश ?
बिहीबार बेलायत उड्दै छु । प्रायः विदेशमा कन्सर्ट भई नै रहन्छन् । 'पोइल जान पाम' एल्बमको बेला सबैभन्दा बढी विदेश यात्रा गरें । कोरिया, जर्मनी, बेल्जियम, मलेसिया, हङकङ, इटली, फिनल्यान्ड लगायत डेढ दर्जन देश गएँ ।
कन्सर्टमै फयानहरूले बिहेको प्रस्ताव राख्छन् होला है ?
राख्छन्, (हाँस्दै) तर उनीहरू स्टेजभन्दा तल हुन्छन् नि । प्रस्ताव राख्नेहरूको नजिकै गएर के छ विचार भन्दा चैं हच्किन्छन् । हक्की स्वभावले गर्दा उनीहरू तर्सिन्छन् कि क्या हो ।
साभार : इ कान्तिपुर